इस्लामिक सम्मेलन आयोजकले गल्ती गरेको मुस्लिम आयोगको ठहर

विदेशी सहभागी फर्काइयो
अवधेशकुमार झा

राजविराज — शनिबारदेखि सप्तरीको बोदेवरसाइन नगरपालिका–५ जाजरमा हुन लागेको मुस्लिम समुदायको धार्मिक सम्मेलनका आयोजकहरुले गल्ती गरेको राष्ट्रिय मुस्लिम आयोगले ठहर गरेको छ । आयोजकले सुरुमा नेपाल र भारतका मुस्लिम समुदायको मात्र सहभागिता हुने भनेर अनुमति लिएको र पछि तेश्रो मुलुकका सहभागी पनि आएपछि सम्मेलन विवादास्पद भएको थियो ।

इस्लामिक सम्मेलन आयोजकले गल्ती गरेको मुस्लिम आयोगको ठहर

अन्य मुलुकका सहभागी आउन थालेपछि गृह मन्त्रालयले बिहीबार सम्मेलन रोक्न निर्देशन दिएको थियो । मुस्लिम आयोगको समन्वयमा आयोजकले विदेशी नागरिकहरुलाई फर्काउन तयार भएपछि शनिबारदेखि उक्त सम्मेलन हुने निश्चित भएको छ ।


सम्मेलनबारे तनाव सिर्जना भएपछि शुक्रबार साँझ सम्मेलनस्थल पुगेका राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले आयोजकले गल्ती गरेको बताएका थिए । इलाका प्रहरी कार्यालय बोदेवरसाइनमा सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालसहित सुरक्षा निकायका प्रमुखहरुसितको छलफल पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दे अध्यक्ष अन्सारीले सम्मेलनलाई आयोजक समितिले राष्ट्रिय सम्मेलन गर्ने भनेर अन्तर्राष्ट्रिय सहभागिता गराएर गल्ती गरेको आरोप लगाए ।


‘यो सम्मेलन अन्तर्राष्ट्रिय थिएन्, अन्तर्राष्ट्रिय गर्न नदिने भएपछि आयोजकहरुले राष्ट्रिय रुपमा मात्र सम्मेलन गर्छौं भनेर लिखित रुपमा प्रधानमन्त्री कार्यालय र राष्ट्रिय मुस्लिम आयोगमा जानकारी दिए’ आयोगका अध्यक्ष अन्सारीले भने, ‘राष्ट्रिय सम्मेलन मात्र गर्छौं भनेपछि बल्ल अनुमति दिइयो तर पछिल्लो समय आयोजकले भने बमोजिम नगरेर गलत तरिकाबाट जसरी विभिन्न देशबाट सहभागी गराइयो त्यसपछि नेपाल सरकार रोक्न बाध्य भयो ।’


‘सुरुमा आयोजकले इन्डियाबाट धर्मगुरु मौलाना साहबहरु र केही सहभागी आउने र नेपालका विभिन्न भागबाट सहभागी आउने बताएको तर पछि त्यसको विपरित गयो,’ अध्यक्ष अन्सारीले भने, ‘अहिले पाकिस्तान, बंगलादेश, कतार, दुबई, साउदी र थाइल्यान्ड लगायतका मुलुकबाट करिब २ सयको हाराहारीमा सहभागी आएपछि नेपाल सरकारले सम्मेलन रोक लगाउने निर्णय गरेको हो ।’


‘हरेक देशको आफ्नो दायरा र नियम हुन्छ,’ अध्यक्ष अन्सारीले भने, ‘राष्ट्रिय दायरा र नियममै रहेर कुनै कार्यक्रम गर्नुपर्ने हुन्छ, अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भनेर पूर्व स्वीकृति पनि नलिने अनि अन्तर्राष्ट्रिय सहभागी गराउनु राम्रो हैन ।’ उनले उक्त सम्मेलनको निगरानी र सुपरिवेक्षणको जिम्मा सरकारले राष्ट्रिय मुस्लिम आयोगलाई दिएको बताउँदै सम्मेलनमा आएका विदेशीहरुलाई सम्झाएर फर्काइएको जानकारी दिए । ‘अन्तर्राष्ट्रिय सहभागीहरुलाई फर्काइएको छ, अब पूर्व निर्धारित कार्यक्रम अनुसार नेपाल र भारतका सहभागी राखेर सम्मेलन हुन्छ,’ अध्यक्ष अन्सारीले भने ।

सम्मेलनबारे विवाद सिर्जना भएपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालसहित सुरक्षा अधिकारीहरुको टोली शुक्रबार दिनभर बोदेवरसाइनमै विदेशी फर्काउन आयोजकलाई आग्रह गर्दे सुरक्षा व्यवस्थाको कमान्ड सम्हालेका थिए । जिल्लाका अधिकांश सशस्त्र र जनपद प्रहरी त्यही परिचालित छ भने छिमेकी जिल्ला र दंगा नियन्त्रण गणहरुबाट पनि थप प्रहरी बल बोदेवरसाइन ल्याइएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी ल्याइएपछि अहिले त्यहाँ सुरक्षाकर्मीलाई खान र बस्न समस्या भएको छ । खेतमा पाल टागेर प्रहरीलाई राखिएको छ ।

उता सम्मेलनमा शुक्रबार साँझसम्म ४० हजारभन्दा बढी सहभागी आइसकेका छन् । आयोजकहरुले आफ्नै ट्राफिक व्यवस्थापकहरु परिचालन गरेका छन् । सम्मेलनमा २ लाखभन्दा बढी सहभागी हुने अनुमान गरिएको छ । सम्मेलनस्थलमा तस्बिर लिन रोक लगाइएको छ ।


शनिबारदेखि बोदेवरसाइन–५ जाजरमा हुने इस्लामिक सम्मेलनमा आएका सहभागी । तस्बिरः अवधेशकुमार झा/कान्तिपुर


राजविराजका होटेलमा पनि विदेशी


सम्मेलनस्थलमा विदेशी नागरिक फर्काउन थालिएपनि शुक्रबार मात्र जहाज चढेर ७ जना पाकिस्तानी नागरिक राजविराज आएको सुरक्षा स्रोतले जानकारी दिएको छ । ती पाकिस्तानी नागरिकहरु राजविराजस्थित एक होटेलमा रहेको र उनीहरुलाई त्यहीबाट फर्काउने सुरक्षा अधिकारीहरुले बताए । अन्य विभिन्न बाटो प्रयोगगरी सम्मेलनमा आएका विदेशी नागरिकहरु सबैलाई फर्काउने प्रहरी उपरिक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।


भारतीय सुरक्षाकर्मीको चासो


नेपाल भारत सिमा क्षेत्रमा रहेको बोदेवरसाइन ५ जाजरमा भएको इस्लामिक सम्मेलनबारे भारतीय सुरक्षा अधिकारीहरुले चासो लिएका छन् । शुक्रबर दिउँसो सिमावर्ती लौकही थानाका प्रमुख अरबिन्दकुमार इलाका प्रहरी कार्यालय बोदेवरसाइनमा आएर सप्तरीका डीएसपी तिलक भारतीसहितका सुरक्षा अधिकारीहरुलाई भेटी सम्मेलनबरे छलफल गरेका थिए । थाना प्रमुख अरबिन्दकुमारले सम्मेलनमा आएका पाकिस्तानी नागरिकको घूसपैंठ भारततर्फ हुन सक्ने भएकोले आफूहरुको चासो बढाएकोबताए । ‘एकातर्फ सीएए र एनआरसीबारे मुस्लिम समुदाय आन्दोलनमा छ, अर्कोतर्फ पाकिस्तानी घूसपैंठको खतरा पनि उतिकै छ,’ उनले कान्तिपुरसित भने, ‘हामीले सिमामा सशस्त्र सिमा सुरक्षा बलको संख्या समेत थप गरेका छौं, निगरानी र चेकजाँचलाई पनि बढाएका छौं ।’

प्रकाशित : फाल्गुन २, २०७६ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?