ओलीका दुई वर्ष : आफ्नै कार्यशैलीले अप्ठ्यारो 

बबिता शर्मा

काठमाडौँ — दुई वर्षअघि प्रचण्ड बहुमतसहित दोस्रो कार्यकाल सम्हाल्न सिंहदरबार पस्दा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति उनकै पार्टी नेकपा, तत्कालीन वामगठबन्धनलाई मत दिएका मतदाता र आमजनतामा आशा जागेको थियो । 

पाँच वर्षका लागि गरिएको भरोसाको दियो अझै निभेको त छैन तर यसको उज्यालो कम हुँदै गएको तिनै मतदाताको गुनासो छ । धेरैले यसका लागि सरकारको समग्र कार्यसम्पादन र प्रधानमन्त्री ओलीको कार्यशैलीगत समस्यालाई जिम्मेवार ठानेका छन् ।


प्रतिकुल स्वास्थ्यका बाबजुद प्रधानमन्त्री ओलीको खटाइ धेरैले चिताउनेभन्दा चर्को छ । मृगौलाको डाइलासिस गरिरहेका भए पनि उनी बिरामीजस्ता देखिँदैनन् । न त उनको आवाज नै कमजोर भएको छ । पार्टी केन्द्रीय समितिमा उनले निरन्तर दुई घन्टा भाषण दिए । यस्तो लाग्छ, उनलाई आफूप्रति पूर्ण विश्वास छ । र, कमजोर प्रधानमन्त्रीका रूपमा देखिएर जनताको आत्मबल घट्न दिनुहुन्न भन्ने मनोविज्ञानले उनले काम गरिरहेको जानकारहरू बताउँछन् । यसैले अस्पतालको बेडमा हुँदा पनि आफू तन्दुरुस्त रहेको सन्देश दिइरहेका हुन्छन् ।


सुशासन, आर्थिक विकास, राजनीतिक स्थायित्व, दिगो शान्ति, राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता, स्वाभिमान यो सरकारका नारा हुन् । यिनै आफ्नो सरकारको रोडम्याप भएको ओलीका अभिव्यक्तिमा झल्किन्छ ।


भ्रष्टाचार नियन्त्रण, शान्ति सुव्यवस्था र जनताको दैनिक जीवनलाई सहज तुल्याउने ‘समृद्ध नेपाल, सुखी नेपाली’ ओलीको बोलीमा छ । तर, यतिसमूहसँगको सम्बन्ध होस् वा बालुवाटार जग्गा प्रकरणमा आफ्ना पार्टीका नेतालाई जोगाउन चालिएका कदम किन नहोस्, प्रधानमन्त्री ओलीको बोली र व्यवहारमा तालमेल देखिन्न ।


विपक्षीले सरकारका नारा उल्टाएर ‘समृद्ध नेता, दुखी जनता’ बनाएको छ ।


सरकारको कार्यशैलीबारे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको टिप्पणी छ, ‘व्यक्तिगत शैलीमा भन्दा उहाँमा एकखालको अंहकार देखियो । शासनको शैलीमा भन्दा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित भएर आउनु नै सम्पूर्ण लोकतन्त्रवादी हुनु हो भन्ने मनोविज्ञान उहाँमा देखिन्छ । तर, लोकतान्त्रिक प्रक्रियाबाट आउनु र लोकतान्त्रिक चरित्र हुनु फरक कुरा हो । लोकतान्त्रिक चरित्र, लोकतान्त्रिक संस्कृति बमोजिमको उहाँ हुन सक्नु भएन ।’


सरकारका प्रवक्ता एवं नेकपा नेता गोकुल बाँस्कोटा भने प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर उत्साही छन् । ‘भिजन छ । मिसनमा कुनै समस्या छैन । एक्सन उहाँ एक्लैले गर्न सक्ने होइन । उहाँले निर्देशन दिनु हुन्छ । तर निर्देशन पालना गर्ने तीन निकाय हुन्छन् । एउटा सम्बन्धित मन्त्री हुन्छन् । दोस्रो, सम्बन्धित उच्चपदस्थ अधिकारी हुन्छन् । तेस्रो, कानुनी व्यवस्थापन मिलाउनु पर्छ । विधिको शासन भएपछि कानुनमा चल्नु पर्‍यो । उहाँमा धेरै कामको हुटहुटी छ । र, गर्न सकिन्छ भन्ने छ,’ बाँस्कोटा भन्छन् ।


देश र जनताको हित, आशा, आकांक्षा र आवश्यकताअनुरुप सरकार सञ्चालन गरेर देशलाई नयाँ दिशा दिन चाहेको बताउँछन् प्रधानमन्त्री ओली । तर, उनलाई आफ्नै पार्टीको पूरा सहयोग छैन । काम गरेनन् भनेर बेलाबेला आफैं मन्त्री हेरफेर गर्छन् तर यसमा पनि कामको भन्दाको गुटको गन्ध धेरै देखिन्छ ।


सत्तारुढ दलकै नेतालाई ओलीको कार्यशैलीमाथि प्रश्न छ । ‘पहिल्यैदेखि उहाँ गुटमा रमाउने । आलोचना सुन्नै नचाहने । आलोचना गर्नेलाई भित्तैमा पुर्याउने उहाँको शैली हो,’ नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य भन्छिन्, ‘तर, अब सच्चिनु पर्छ ।’


आफ्नै सचिवालका कर्मचारीमाथि विश्वास नगरेर उनले हेरफेर पनि गरे । हेर्दा लाग्छ– राष्ट्रिय विकास र समृद्धिको अभियानमा प्रधानमन्त्री ओली एक्लै दौडिरहेका छन् । यतिसम्म कि अन्तरमन्त्रालय समन्वयको समेत अभाव छ । विपक्षीसँग त प्रधानमन्त्रीको राम्रो सम्बन्ध बन्नै सकेको छैन, दुवैमा एक–अर्काप्रतिको विश्वास छैन । नतिजा विपक्षीले सरकार अधिनायकवादी दिशामा गयो भनेर भरपूर प्रचार गरिरहेको छ । केही विवादित विधेयकले विपक्षीको आरोपमा बल पुगेको छ ।


लाखौंको संख्यामा पलायन भइरहेको जनशक्तिलाई स्वदेशमै रोजगारी उपलब्ध गराई उपयोग र परिचालन गर्ने सरकारको नीति छ । तर, प्रधानमन्त्री ओलीसँग यसको कार्यान्वयको ठोस नीति छैन ।


सरकारले अगाडि सारेका कैयौं रोजगारमूलक महत्वकांक्षी कार्यक्रमको कार्यन्वयन धेरै फितलो छ । कार्यक्रम र बजेट नभएको भन्दै सरकारले स्थानीय तहमा खटाएका दुई सय भन्दा बढी रोजगार संयोजकले राजीनामा दिएका छन् । हरेक विषयमा सरकारका आँकडा हेर्दा–सुन्दा रामै लाग्छन् । तर, वामपन्थी सरकारले दिएका सेवा–सुविधाले जनताको जीवनशैलीमा देखिने गरी परिवर्तन भएको छैन ।


पार्टीभित्रै र विपक्षीबाट घेराबन्दी भइरहँदा पनि प्रधानमन्त्री ओली बहुमत प्राप्त वामपन्थीहरूको सरकार सञ्चालन गर्ने ऐतिहासिक अवसरको पूर्ण रूपमा सदुपयोग गर्न चाहन्छन् । तर, केही विवादित निर्णयले सरकारको छविलाई एकैपटकमा ध्वस्त बनाउँछ भन्नेमा चाहिँ ध्यान दिएका हुन्नन् । आफूलाई लागेको विषय प्रधानमन्त्री ओली अन्तिम सत्य मान्छन् । त्यसैले आलोचकका कुरा सुन्नभन्दा थप कठोर जवाफ दिनुमा उनको रुचि छ ।


‘उहाँको कार्यशैली धेरै संर्किण छ । कसैको सहयोग लिन चाहनु हुन्न । सत्तामा बसेपछि पार्टीभित्र सबैलाई समेट्न पर्ने हो,’ स्थायी कमिटी सदस्य शाक्य भन्छिन्, ‘सबैको सहयोग लिन जान्नु पर्ने हो । त्यसको कमि उहाँमा छ ।’


प्रधानमन्त्रीको निशानामा विपक्षीमात्रै होइन, आफ्नै पार्टीका नेता पर्छन् । मीडियामात्रै होइन, बुद्धिजिबी पनि जोडिन्छन् । यद्यपि पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकमा आउन्जेल प्रधानमन्त्री ओलीले आफू आलोचना सुन्न तयार रहेको बताएका छन् ।


‘स्वास्थ्य अवस्था कमजोर हुँदा पनि उहाँमा आत्मविश्वास छ । केही गरौं भन्ने भावना पनि छ । इच्छाशक्ति पनि छ । यो राम्रो पक्ष हो,’ नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य भन्छिन्, ‘तर, सोच धेरै नै संकिर्ण । आलोचना गर्नेलाई सिधै निषेध गर्ने । त्यसरी हुँदैन । सबैको भावना आत्मसाथ गर्नसक्नु पर्छ । कम्युनिष्ट आचरण, सोच, शैली देखिनु पर्छ ।’


तर, सरकारका प्रवक्ता बाँस्कोटा प्रधानमन्त्रीको आत्मबलका अगाडि दुनियाँले हारेको ठान्छन् । भन्छन्, ‘उहाँको आत्मबलका अगाडि दुनिया हार्‍यो । उहाँ १८ घण्टा खट्नु हुन्छ । उहाँको इच्छाशक्तिका सामु कसैले डेलिभरी गर्न सकेको छैन । उहाँको जुन भिजन, मिसन र ईच्छाशक्ति छ, त्यो आधारमा कसैले डेलीभरी गर्न सकेको छैन । तर, उहाँ आत्तिनु हुन्न । अरुले गर्न सकेनन् भने आफैं सम्हाल्नुहुन्छ ।’ प्रकाशित : फाल्गुन २, २०७६ १९:०२

प्रतिक्रिया
पठाउनुहोस्

करातेले जुराएको प्रेम 

नमिता दाहाल

काठमाडौँ — काभ्रेकी चन्चला दनुवार राष्ट्रिय स्तरकी कराते खेलाडी हुन् । उनले हालै सम्पन्न सागमा कराते तर्फबाट रजत पदक जितेकी थिइन् । उनका श्रीमान नारायणकाजी राई जनपथ पुलिस फोर्समा कराते रेफ्रीको काम गर्छन् । अहिले दुवै जनपथ प्रहरीमा कार्यरत छन् । 

उनीहरुकाे प्रेम लडाइँ गर्ने खेलबाटै बस्यो । ‘सधैं हुस् गूरु भन्ने र लडाइँ गर्ने गर्दा गर्दै मायामा परेकाे थाहा नै पाएनौं । दुवै एकै स्वरमा भन्छन् ।’

२०६५ सालमा कराते ट्रेनिङका बेला नारायणकाजी राईको नजर पर्‍यो चन्चलामाथि । बोल्न पनि पहिला त हिच्किचाहट हुन्थ्यो रे । बिस्तारै चन्चला नजिक गएर हाई भनेछन् । अनि बोलचाल सुरु भयो । फोन नम्बर साटासाट भयो ।

प्रहरीको जागिरले घुमघामको समय मिल्दैनथ्यो । नारायण लजाउँदै भन्छन्, ‘मननै कब्जा गरिसकेपछि समयको के लाग्दो रहेछ र ?’

श्रीमानका यी शब्दहरु सुनेपछि चन्चला मुस्काउँदै भन्छिन्, ‘विवाह अगाडि कोठा लिएर बस्थे तलब खासै हुन्थेन । त्यसबेला निकै सहयोग गर्नुभयो । विवाह अगाडि नै माया गाढा भयो ।’ चन्चलाले कराते खेल्न थालेको २० वर्ष भयो । उनी खेलेरै पुलिस फोर्समा आएकी हुन् ।

उनीहरुले एक वर्ष लामो प्रेम सम्बन्धलाई २०६६ फागुन २५ गते विवाहमा परिणत गरे । विवाह अगाडि उनीहरुको दिनहुँ भेटघाट गर्ने स्थान थियो टुँडिखेलको मैदान । पुलिसमा कार्यरत भएपछि अनुशासनमा बस्नुपर्ने त्यसैले बाहिर जाने समय हुँदैनथ्यो । विवाह अगाडि प्रेम दिवसको दिन बेलुका डिनरका लागि बाहिर जाने गदर्थे । सर्प्राइज गिफ्टहरु निकै दिन्थे नारायणले चन्चलालाई त्यसबेला ।

चन्चलाले सुरुमा त खुब भाउ खाइन अरे । प्रपोज गरेपछि लगभग १ महिनासम्म कुराएर राखिन् भन्छन् नारायण । यसको जवाफमा चन्चला भन्छिन्, ‘सुरुमा नै हुन्छ भनेको भए त उहाँको माया बझ्ने अवसर नै पाउँदिनथें होला नि !’

उनीहरु पहिलो पटक बाहिर घुम्न पशुपति गएका थिए । नारायणले दिदीको घर लगे पनि चन्चलालाई साथीको रुपमामात्र चिनाएका थिए । रङ्गशालाको खेलमा याद गरिराखेका थिए नारायणले चन्चलालाई । ‘समयसँगै माया बैगुनी नभइ नहुने जस्तो भयो ’ नारायणले हाँस्दै भने ।

‘हामी पनि भ्यालेन्टाइन्स डे मनाउँछौं । हाम्रो मनाउने तरिका फरक होला तर प्रेमीको लागि दिन नै यही हो जस्तो लाग्छ । घुम्न जान्छौं, कहिले डिनरको लागि बाहिर रेष्टुरेन्टतिर पनि जान्छौं ।’ चन्चला भन्छिन् ।

खेलाडी भएका कारण अरुको जस्तो फुर्सदले प्रेम दिवस मनाउन पाउँदैनन् । खेल र जागिरबाट बचेको समय एकअर्कालाई दिन्छन् । माया भनेको आफैं हुँदो रहेछ । जति व्यस्त भए पनि माया गर्नलाई समय निकाल्नु पर्दैन ।

चन्चलाले राष्ट्रिय खेलहरु खेल्न थालेको नै ११ वर्ष भयो । चन्चला आफूमाथि आउनुको मुख्य कारण नै श्रीमानलाई मान्छिन् । उनीहरुको बीचमा एक वर्ष उमेरको फरक छ । त्यही भएर पनि एकअर्कालाई बुझ्न एकदम सजिलो भएको उनीहरु बताउँछन् । एउटै कार्यक्षेत्र एउटै पेसा अनि चासो पनि खुब जमेको छ यिनीहरुको जोडी । अहिले छोरा निश्चान्त राईलाई हेरेर विगतका दिन सम्झन्छन् ।

प्रकाशित : फाल्गुन २, २०७६ १८:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×