१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

दुई म्युजिक कम्पनीका सञ्‍चालकविरुद्ध पक्राउ पुर्जी

कान्तिपुर संवाददाता

काठमाडौँ — इन्द्रेणी क्यासेट सेन्टरका सञ्‍चालक अर्जुन महर्जन र रञ्जना म्युजिक इन्ड्रस्ट्रिजका सञ्‍चालक भगवानकुमार श्रेष्ठविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार उनीहरुविरुद्ध प्रतिलिपि अधिकार हननको मुद्दा दर्ता भएकाले पक्राउ पुर्जी जारी गरिएको हो ।

दुई म्युजिक कम्पनीका सञ्‍चालकविरुद्ध पक्राउ पुर्जी

माघ २६ गते गायक राजन इशानले आफ्नो गीत ‘बसमा छैन मन...’ बिनास्वीकृति बेचेको भन्दै दुई कम्पनीका सञ्‍चालकविरुद्ध उजुरी दिएका थिए ।

इन्द्रेणी र रञ्जनाले ‘बसमा छैन मन...’ गीत एल्बममा राखेर अमेरिकाको ओर्काड नामक कम्पनीमार्फत संसारभरका पोर्टलमा बेचेको इशानको आरोप छ । ओर्काड सोनीको भगिनी कम्पनी हो । इशानले भने, ‘मेरो गीत मलाई थाहा नदिई बेचियो, त्यसैले कानुनी बाटो रोज्न बाध्य भए ।’ प्रहरीकहाँ पुग्‍न अगाडि कम्पनी सञ्‍चालकसँग भेटेको तर उनीहरुले क्षतिपूर्ति दिन नमानेको उनले बताए । ‘ क्षतिपूर्तिकाे सट्टा मेरो एउटा गीत सित्तैमा रेकर्ड गरिदिन्छु भन्नुभयो, त्यो मलाई स्वीकार्य भएन ।’

इशानसहित प्रतिलिपि अधिकार पीडित स्रष्टाहरु लामो समयदेखी आन्दोलतरत छन् । प्रहरीले उजुरी बेवास्ता गरेको भन्दै स्रष्टाले यसअघि गृहमन्त्री रामबहादुर थापालाई भेटेका थिए । ‘यो सुरुवात मात्र हो, अब पीडित स्रष्टाले क्रमिक रुपमा मुद्दा दायर गर्छौ । सबै प्रमाणहरु संकलन गरिसकेका छाैं,’ अभियानमा सक्रिय संगीतकार लक्ष्मण शेषले भने ।

प्रकाशित : फाल्गुन २, २०७६ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?