राष्ट्रिय सभा सदस्य उपाध्यायको निधन

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसका तर्फबाट राष्ट्रिय सभाका सांसद दुर्गाप्रसाद उपाध्यायको शुक्रबार बिहान निधन भएको छ । आन्द्राको क्यान्सरबाट एक वर्षदेखि पीडित उपाध्यायको बिहान रुपन्देहीस्थित आफ्‍नै निवासमा निधन भएको कांग्रेसका राष्ट्रिय सभामा दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

ZenTravel

लुम्बिनी सांस्कृतिक नगरपालिका–१० मैलवाटमा रहेको निवासमा उनको निधन भएको हो।५० वर्षीय उपाध्यायको श्रीमती ३ छोरा र २ छोरी छन्। उपाध्यायको शुक्रबार नै अन्तिम संस्कार गर्ने तयारी भइरहेको रुपन्देही कांग्रेस नेता सञ्जिव बस्यालले जानकारी दिए।

उपाध्याय प्रदेश नं ५ मा कांग्रेसका तर्फबाट अन्य समूहमा राष्ट्रिय सभामा निर्वाचित भएका थिए। उपाध्यायको राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल यही फागुन २१ गते सकिँदै थियो।उनी यसअघि कांग्रेस रुपन्देही ५ का क्षेत्रीय सभापति पनि थिए।

उपाध्यायको निधनप्रति कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको देउवाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित : फाल्गुन २, २०७६ ११:४२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अन्टार्क्टिकाको तापक्रम पहिलो पटक २०.७५ डिग्री सेल्सियस

एजेन्सी

काठमाडौँ — वैज्ञानिकहरुले अन्टार्क्टिकामा अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको बताएका छन् । अन्टार्क्टिका महाद्वीपमा पहिलो पटक २०.७५ डिग्री सेल्सियस (६९.३५ डिग्री फहरेनहाइट) मापन गरिएको अनुसन्धानकर्ताहरुले बिहीबार जानकारी दिएका छन् ।

‘हामीले अन्टार्क्टिकामा यत्रो तापक्रम बढेको कहिल्यै थाहा पाएका थिएनौं,’ ब्राजिली वैज्ञानिक कार्लोस सेफरले एएफपीसँगको कुराकानीमा भनेका छन् । कार्लोसका अनुसार फेब्रुअरी ९ मा सेमोर आइल्यान्डबाट २०.७५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो ।

अर्जेन्टिनाका वैज्ञानिकहरुले यसअघि फेब्रुअरी ६ मा अन्टार्क्टिकाको तापक्रम १८.३ डिग्री सेल्सियस पुगेको बताएका थिए । मानवीय गतिविधिका कारण विश्वमै जलवायु परिवर्तनको असर देखिएको र अन्टार्क्टिकामा पनि त्यसको प्रभाव परेको वैज्ञानिकहरुले जानकारी दिएका छन् । अन्टार्क्टिकाको ‘ग्लेसियर’ र ‘आइस शीट’ पग्लिँदै जाँदा समुद्री सतह बढ्दै गएको र त्यसको प्रत्यक्ष प्रभाव समुद्री किनारमा रहेका सहरहरु र साना टापु देशहरुमा परेको पनि वैज्ञानिकले बताएका छन् ।

यसअघि मार्च २४, २०१५ मा अन्टार्क्टिकाको तापक्रम १७.५ डिग्री सेल्सियस मापन गरिएको थियो । सन् १९६१ देखि अन्टार्क्टिकाको तापक्रम मापन सुरु गरिएको हो ।

प्रकाशित : फाल्गुन २, २०७६ १०:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×