३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अन्तर्राष्ट्रियकरण नगर्ने सर्तमा इस्लामिक सम्मेलन गर्न अनुमति, विदेशी सहभागी फर्काइने

अवधेशकुमार झा

राजविराज — इस्लामिक सम्मेलनलाई अन्तर्राष्ट्रियकरण नगर्ने सर्तमा सप्तरीको बोदेबरसाइन नगरपालिका–५ जाजरमा हुने भनिएको मुस्लिम समुदायको इज्तिमा कार्यक्रम गर्न गृह मन्त्रालयले अनुमति दिएको छ । 

अन्तर्राष्ट्रियकरण नगर्ने सर्तमा इस्लामिक सम्मेलन गर्न अनुमति, विदेशी सहभागी फर्काइने

नेपाल र भारत बाहेक अन्य मुलुकका मुस्लिम समुदायसमेत सम्मेलनमा सहभागी हुन आएको भन्दै गृह मन्त्रालयले बिहीबार उक्त सम्मेलनमा रोक लगाएको थियो ।


‘सम्मेलनलाई अन्तर्राष्ट्रियकरण नगर्ने पूर्व सर्त नै थियो, त्यो सर्त पालना गरिने जिम्मा मुस्लिम आयोगले लिएको छ,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने, ‘नेपाल र भारतका सहभागी आएर मात्र सम्मेलन गरे कुनै रोक छैन् ।’ माघ ६ गते सम्मेलनका लागि अनुमति दिँदा नै सम्मेलनलाई अन्तर्राष्ट्रियकरण नगर्ने सर्त राखिएको प्रवक्ता शर्माले बताए । ‘सम्मेलनमा विदेशी नागरिकहरु पनि भेला हुन थालेपछि सम्मेलनको जिम्मा लिएको संवैधानिक निकाय मुस्लिम आयोगलाई पत्राचार गरी सर्त पालना नभएको भन्दै सम्मेलन रोक्‍न पत्राचार गर्यौं ।’


इज्तिमा आयोजक समितिका संयोजक मोहम्मद गफुरले बंगलादेश र पाकिस्तानवाट आएका धर्मगुरु र सहभागीहरुलाई फर्काइने बताए । उनले ती मुलुकबाट कति संख्यामा धर्मगुरु र सहभागी आएका छन् त्यसको तथ्यांक संकलन गरिरहेको जानकारी दिए । ‘पाकिस्तान र बंगलादेशवाट आएकोहरुको संख्या जिल्ला प्रशासनले मागेको छ,’ संयोजक गफुरले भने, ‘उनीहरु यकिन संख्या संकलन गरिरहेका छौं ।’


सप्तरीका सुरक्षा अधिकारीहरुका अनुसार सम्मेलनमा पाकिस्तान, बंगलादेश, कतार, दुबई र मलेसियालगायतका देशबाट समेत सहभागीहरु आएका छन् । सयभन्दा बढी संख्यामा आएका विदेशी सहभागीहरुलाई तत्काल फर्काउन प्रशासनले आयोजकलाई आग्रह गरेको छ ।

प्रकाशित : फाल्गुन २, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?