२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

दिलीप हत्या प्रकरण : तीन आरोपित धरौटीमा छुटे, तीन पुर्पक्षमा

कान्तिपुर संवाददाता

(धनुषा) — टिपरले किचेर दिलीप महतोको हत्या गरेको आरोपमा पक्राउ परेका तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । अन्य तीन जना धरौटीमा छुटेका छन् ।

दिलीप हत्या प्रकरण : तीन आरोपित धरौटीमा छुटे, तीन पुर्पक्षमा

जिल्ला अदालत धनुषाका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बुधबार टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो र क्रसर सञ्चालक विपीन महतोलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । हत्या आरोपमा पक्राउ परेका रोशनकुमार यादव, सत्यनारायण महतो र शत्रुधन महतोलाई जनही २५ हजार धरौटी राखेर तारेखमा छाड्ने आदेश दिइएको थियो ।


अदालतले मुनिन्द्र, जितेन्द्र र विपीनको संलग्नताबारे विश्वासलायक आधार, प्रमाणबाट देखिएकाले थुनछेक प्रयोजनका लागि थुनामा राख्ने आदेश गरेको हो । दिलीपसँगै खोलामा गएका रोशनकुमार यादवका हकमा झगडा छुटाउन प्रयास गरेको, घटनालगत्तै खबर गरेको र रोशन–दिलीपबीच कुनै किसिमको वैमनश्य नरहेको अदालतले भनेको छ । अदालतको फैसलाअनुसार हत्या घटनामा सत्यनारायण र शत्रुधनको समेत संलग्नता देखिएको छैन ।


धनुषाको औरही खोलामा भइरहेको उत्खननको विरोध गर्दा पुस २५ गते बिहान ४ बजे मिथिला नगरपालिका–५ का २४ वर्षीय महतोको हत्या गरिएको थियो । दिलीपलाई कोखमा ‘लिभर’ प्रहार गरी घाइते बनाएर टिपरले किचिएको थियो । स्थानीय २७ वर्षीय विपीन महतोले सञ्चालन गरेको चुरिया माई क्रसर उद्योगले खोलामा राति अवैध उत्खनन गर्दै आएको थियो ।


तीन जना आरोपितलाई धरौटीमा छाडिएपछि पुनरावेदन गर्ने तयारी गरिएको सरकारी वकिल कार्यालय धनुषाका जिल्ला न्यायाधिवक्ता शम्भु गौतमले बताए । पीडित परिवारले हत्यामा संलग्न अन्य व्यक्ति पक्राउ नगरेको भन्दै प्रहरीमाथि आशंका व्यक्त गरेका छन् । ‘घटनाको सूक्ष्म अनुसन्धान हुनुपर्थ्यो । अन्य व्यक्ति फरार छन् । हत्या भएको दिन मुचुल्का नै नगरी लास उठाइयो,’ दिलीपका बुबा रामजीवनले भने । यता उत्खननको विरोध गर्दा टिपरले किचेर हत्या गरिएका दिलीप महतोलाई पर्यावरण सहिद घोषणा गर्न माग गरिएको छ । धनुषाको ढल्केबरमा स्थानीय र अभियन्ताले प्रदर्शन गर्दै पर्यावरण सहिद घोषणा गर्न र उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

प्रकाशित : फाल्गुन २, २०७६ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?