१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पूर्वसर्त पालना नगरेको भन्दै सप्तरीमा इस्लामिक सम्मेलन गर्न गृह मन्त्रालयको रोक

आयोजक समितिका अध्यक्ष भन्छन्- हामीले सबै सर्त मानेका छौं
अवधेशकुमार झा

राजविराज — सप्तरीको बोदेवरसाइन नगरपालिका–५ जाजरमा हुने भनिएको मुसलमान समुदायको धार्मिक सम्मेलन गर्नलाई गृह मन्त्रालयले रोक लगाएको छ । फागुन ३, ४ र ५ गते हुने भनिएको उक्त कार्यक्रममा मन्त्रालयले रोक लगाएको हो ।

पूर्वसर्त पालना नगरेको भन्दै सप्तरीमा इस्लामिक सम्मेलन गर्न गृह मन्त्रालयको रोक

कार्यक्रम गर्न यसअघि गृह मन्त्रालयले अनुमति दिँदा अघि सारेका सर्तहरुको आयोजकले पालना नगरेको कारण कार्यक्रममा रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।

‘शान्ति सुरक्षा र अन्तर्राष्ट्रिय केही विषयमा आयोजकले सर्तहरु पालना गरेनन्,’ गृह प्रवक्ता शर्माले भने, 'त्यसकारण कार्यक्रम आयोजनामा रोक लगाइएको हो ।'

उक्त कार्यक्रममा कम्तिमा दुईलाखभन्दा बढी मुसलमान समुदायका व्यक्तिहरुको उपस्थिती हुने अनुमान गरिएको छ । नेपाल र भारतका मात्र मुसलमान समुदायको उपस्थिति कार्यक्रममा रहने बताइएपनि अन्य मुलुकबाट पनि सहभागी हुनसक्ने सुरक्षा स्रोतको दाबी छ ।

गृह मन्त्रालयले रोक लगाउने निर्णय गरेसँगै सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालसहित सुरक्षा निकायका प्रमुखहरु कार्यक्रम आयोजनास्थलमै पुगेर आयोजकलाई कार्यक्रम स्थगन गर्न आग्रह गरेका छन् ।

‘गृहको निर्देशनपछि हामीले आयोजकलाई कार्यक्रम नगर्न आग्रह गरेका छौं,’ बिहीबार साँझ कार्यक्रमस्थलमै रहेका सप्तरी प्रहरीका प्रवक्ता डीएसपी तिलक भारतीले भने ।

गृहको रोकपछि सीमा नाकामा उक्त कार्यक्रमका सहभागीहरुलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । सप्तरीको कुनौली लगायतका विभिन्न नाका र सुनसरीको भान्टाबारी नाकामा सुरक्षाकर्मीहरुले सम्मेलनमा आउन लागेका सहभागीहरुलाई नेपाल प्रवेश गर्न दिएका छैनन् । विभिन्न नाकामा गरी सयौंको संख्यामा मुसलमानहरु रोकिएका छन् ।

फागुन ३ गतेदेखि कार्यक्रम हुने भनिएपनि बिहीबारसम्म मात्र २५ हजारभन्दा बढी सहभागी सम्मेलनस्थलमा आइसकेका छन् । सम्मेलनमा आयोजक समितिका संयोजक मोहम्मद गफुरले बिहीबार दिउँसो प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा अधिकारीहरुको टोली आएर कार्यक्रम नगर्न भनेको बताए ।

‘सबै तयारी भइसकेको छ, कार्यक्रम सुरु हुने दिनमा आइपुग्दा अचानक कार्यक्रममा रोक लगाउनुले हामी आश्चर्यमा परेका छौं,’ संयोजक गफुरले भने । उनले नेपाल र भारतबाहेक अन्य मुलुकका मुसलमान समुदायलाई कार्यक्रममा आमन्त्रण नगरिएको भएपनि आफ्नै तरिकाले अन्य मुलुकका सहभागी आएको भए फर्काउन तयार रहेको बताए ।

‘नेपाल र भारतबाहेक अन्य मुलुकका कोही सहभागी आफैं भिसा लिएर आएका छन् भने हामी फर्काउन तयार छौं,’ संयोजक गफुरले भने, ‘तर अब कार्यक्रममा रोक लगाउनु उचित होइन ।’

उनले आयोजक समितिले बिहीबार साँझ छलफल गरेर मात्रै बाँकी निर्णय लिने जानकारी दिए ।

यसैबीच सम्मेलनस्थलमा अहिले ठूलो संख्यामा जनपथ तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।


प्रकाशित : फाल्गुन १, २०७६ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?