१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गुम्बागाउँका बिरामीको नमुना संकलन गर्दै चिकित्सक

अनिश तिवारी

सिन्धुपाल्चोक — जुगल गाउँपालिकाको वडा ३, गुम्बागाउँमा फैलिएको ज्वरो र रुघाखोकी प्रकोपको नमुना संकलनका लागि दुई ल्याब विशेषज्ञसहित ३ जना डाक्टर गाउँ पुगेका छन् । कोरोना भाइरससँग मिल्ने लक्षण देखिएको रुघाखोकी र ज्वरोका दुई सयभन्दा बढी बिरामीलाई अपुग औषधि, स्लाइन, मास्कलगायतका सामग्री बाँड्दै उनीहरु नमुना संकलनमा जुट्दैछन् । 

गुम्बागाउँका बिरामीको नमुना संकलन गर्दै चिकित्सक

जुगल गाउँपालिकाका स्वास्थ्य संयोजक अनिल साउदका अनुसार विशेषज्ञले गुम्बाथानको पांगर्पूस्थित सामुदायिक इकाईमा उपचाररत बिरामीको अवस्थाको अध्ययन सुरु गरेका छन् ।


काठमाडौं र जिल्ला अस्पतालबाट दुई ल्याब विशेषज्ञसहित जिल्ला स्वास्थ्यबाटै ३ जना डाक्टर बिरामीको स्वास्थ्य परीक्षणमा लागेको जानकारी दिए । ‘आवश्यक औषधि लगभग आइपुगेको छ, केही वृद्धवृद्धाबाहेक अरुको अवस्था एकदमै सामान्य छ, बिरामीको क्रमिक सुधार हुँदैछ,’ उनले भने । सबै बिरामीलाई औषधि खुवाएपछि सामान्य अवस्थामा आए पनि दुई दिनसम्म उपचार जारी राख्नुपर्ने उनको भनाइ छ ।


‘कोरोना हो वा होइन परीक्षणपछि मात्रै खुल्छ’

गाउँमा ज्वरो र रुघाखोकीको प्रकोप देखिएपछि त्यस क्षेत्रका विद्यालय तीन दिनका लागि बन्द गरिएको गाउँपालिका प्रमुख होमनारायण श्रेष्ठले बताए ।



विशेषज्ञको टोलीले बिहीबार नै नमुना संकलन गरेर काठमाडौंको टेकुस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइने प्रमुख श्रेष्ठले जानकारी दिए । बिहीबार बेलुका वा शुक्रबारसम्म गाउँमा फैलिएको प्रकोप के हो भन्ने थाहा हुने उनले बताए ।


चीनको वुहानबाट फैलिएको कोराना भाइरसको जस्तै लक्षण गुम्बाथानका बिरामीमा देखिएको भन्दै परीक्षण र उपचारका लागि चिकित्सक खटाइदिन गाउँपालिकाले जिल्ला स्वास्थ्य कार्यालय,वाग्मती प्रदेश सरकार र संघीय सरकारको स्वास्थ्य मन्त्रालयलाई स्थानीयको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको थियो ।

प्रकाशित : फाल्गुन १, २०७६ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?