२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

मिटरब्याजी राय कारागार चलान

सर्लाही — ठगी आरोपमा समातिएका सर्लाही बरहथवाका रामबाबु राय यादव धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान भएका छन् । सर्लाही जिल्ला अदालतले रायलाई सोमबार न्यायाधीश हरिप्रसाद कोइरालाको एकल इजलासले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटी रकम बुझाउन नसकेपछि उनलाई सुनसरीको झुम्का कारागार चलान गरिएको हो ।

रायसँग आइतबार र सोमबार गरी दुई दिन बयान लिइएको अदालतका स्रेस्तेदार शिवहरि पौडेलले जानकारी दिए । मुद्दाको गम्भीरता र बहस हेरेर यो आदेश आएको उनको भनाइ छ ।


ठगी मुद्दामा पक्राउ परेका रायविरुद्ध नक्कली तमसुक बनाउने गरेको, चलनचल्तीको ब्याजदरभन्दा निकै बढी दरमा ऋण प्रवाह गरेको, धितोका लागि जग्गा पास गराएको जग्गा बेचिदिने गरेको लगायत आरोप छन् । विभिन्न आरोपसहित उनीविरुद्ध जिल्ला प्रहरीमा उजुरी परेपछि प्रहरीले गत पुस २३ मा हरिपुरबाट पक्राउ गरेको थियो ।


रायलाई प्रहरीले २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गरेको थियो । रायविरुद्ध गत शुक्रबार जिल्ला अदालतमा ठगी तथा विश्वासघातसम्बन्धी कसुरमा प्रहरीले अभियोगपत्र दर्ता गराएको थियो । रायलाई झुम्का कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले बताए । सर्लाहीमा कारागार भवन नरहेकाले यहाँ विभिन्न अभियोगमा पक्राउ परेकाहरूलाई अदालतको आदेशपछि छिमेकी जिल्लाका कारागारमा चलान गरिँदै आएको छ ।


यसअघि ठगी आरोपमा अर्का मिटरब्याजी श्याम प्रदेशी पुर्पक्षका लागि कारागार चलान भएका छन् । भने अर्का मिटरब्याजी सञ्जय साह रौनियार फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


यो पनि पढ्नुहोस्ः

राजपा केन्द्रीय सदस्य राय प्रहरी नियन्त्रणमा

प्रकाशित : माघ २९, २०७६ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?