१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नेकपा एमसीसी कार्यदलले माग्यो थप १० दिन 

अध्ययन गर्न र प्रतिवेदन तयार पार्न समय पुगेन : संयोजक खनाल

काठमाडौँ — नेकपा केन्द्रीय समिति बैठकले गठन गरेको एमसीसी अध्ययन कार्यदलले १० दिनको समय माग गरेको छ । 

नेकपा एमसीसी कार्यदलले माग्यो थप १० दिन 

कार्यदलको १० दिने म्याद बुधबार सकिएको छ । अमेरिकी सहयोग निगमसँग भएको एमसीसी सम्झौताबारे अध्ययन गर्न गठन गरिएको वरिष्ठ नेता झलनाथ खनाल संयोजक तथा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीपकुमार ज्ञवाली सदस्य रहेको कार्यदलले थप अध्ययनका लागि १० दिन म्याद थपिदिन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग माग गरेका हुन् ।


म्याद थपबारे संयोजक खनालले भने, 'एमसीसीसँग गरिएको सम्झौता र यससँग सम्बन्धित विषय बुझ्नका लागि थप समय चाहिएको र प्रतिवेदन तयार पार्नुपर्ने भएकाले १० दिन म्याद थप गरिदिन माग गरेका छौं । अध्यक्षद्वयले म्याद थप्नुहुन्छ होला ।'


कार्यदलको पहिलो बैठक माघ २० गते बसेको थियो । उक्त बैठकले कुन कुन विषय अध्ययन गर्ने भन्नेबारेमा कार्यविधि तय गरेको थियो । यसबीचमा एमसीसी सम्झौताबारे कार्यदलले अमेरिकी पक्षसँग पनि छलफल गरेको थियो ।


नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेकपाका शीर्ष नेताहरूलाई भेट गरेका थिए । गत साता नेपाल भ्रमणमा आएका एमसीसीका युरोप, एसिया, प्रशान्त र ल्याटिन अमेरिकासम्बन्धी मामिला हेर्ने सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले पनि प्रधानमन्त्री ‌ओली र संयोजक खनाललगायतलाई भेट गरेका थिए ।


नेकपाले एमसीसीसँग कुनै सैन्य मामिला जोडिएको छ कि छैन र नेपालको कानुनलाई कमजोर पार्ने तथा नेपालको सार्वभौमिकतालाई कमजोर पार्ने बुँदा त्यो सम्झौतामा छन् कि छैनन् भनेर अध्ययन गर्न कार्यदल गठन गरेको थियो ।


नेकपाभित्र एमसीसी सम्झौतालाई लिएर विवाद छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्ष उक्त सम्झौता त्यसलाई जस्ताको तस्तै पारित गर्नुपर्ने पक्षमा छ भने केही शीर्ष नेताहरू त्यसमा संशोधन हुनुपर्ने भन्दै आएका छन् । भीम रावल लगायतका नेताहरू एमसीसी खारेज गर्नुपर्ने बताउँदै आएका थिए ।

प्रकाशित : माघ २९, २०७६ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?