१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

१५ सेकेण्डको सीसीटिभी फुटेजले पुर्‍यायो प्रहरीलाई लुटेरासम्म, करिब ११५ तोला सुन बरामद

पक्राउ पर्ने तीनजना नै भारतीय नागरिक
स्वरूप आचार्य

काठमाडौँ — माघ २१ मंगलबार राति करिब २ देखि ३ बजेका बीचमा पुल्चोकबाट मंगलबजार जाने बाटोमा पर्ने श्रीबहालस्थित एक सुनचाँदी पसल चोरी भयो । बिहानीपखको मिठो निद्रामा मस्त घरबेटी तथा स्थानीयले काठको ढोका फोडेर पसल भित्र रहेको सेफ गाडीमा हालेर लुटेराहरु भाग्दा पनि कुनै चाल पाएनन् ।

१५ सेकेण्डको सीसीटिभी फुटेजले पुर्‍यायो प्रहरीलाई लुटेरासम्म, करिब ११५ तोला सुन बरामद

बिहान पसलको ढोका ह्वाङ देखेएपछि शाक्य ज्यास पस: का मालिकको होस हवास नै उड्यो । चोरी भएको स्पष्ट भएपछि हल्लीखल्ली गर्दै स्थानीयले प्रहरीलाई खबर गरे ।

महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट टोली घटनास्थलमा पुग्यो । लुटेराहरुले करोडभन्दा माथि कै लुटपाट गरेको सूचना पाएपछि महानगरीय प्रहरी अपराध महाशाखाको ललितपुर शाखा पनि अनुसन्धानमा खटियो ।

प्रभाग र अपराध महाशाखाको टोलीले एक साताको अनुसन्धानपछि अन्तत: सुनपसल लुटपाट काण्डमा संलग्नहरुको पहिचान गरी पक्राउ गर्न सफल भयो । प्रहरीको अनुसन्धानमा सबैभन्दा ठूलो सहयोगी सावित भयो पसलमा जडान गरिएको सीसीटिभी । लुटेराहरुले पसलमा प्रवेश गरेर सेफ निकाल्नु अघि कैद भएको जम्मा १५ सेकेण्डको फुटेजकै कारण प्रहरी उनीहरुको पहिचान गर्न सफल भयो ।

बरामद सेफ प्रहरीको भ्यानमा हालेर लगिदै । तस्बिरः नेपाल प्रहरी ।

परिसर प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार लुटपाटमा भारतीयहरुको संलग्नता रहेको खुलेसँगै उनीहरुलाई काठमाडौंको कालिमाटी र सतुंगलमा पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुरज पोद्दार, चन्दन पोद्दार र रवी पोद्दार रहेका छन् ।

'पसलमा रहेको सीसीटीभीमा कैद भएको जम्मा १५ सेकेण्डको भिडियोको सहयोगमा उनीहरुसम्म पुग्न सफल भएका हौं,' परिसरका डीएसपी तामाङले भने ।

पक्राउ परेका अभियुक्तहरु । तस्बिरः नेपाल प्रहरी

प्रहरीले उनीहरुकाे साथबाट लगभग ११५ तोला सुन र करिब २५० तोला चाँदी र केही नगद पनि बरामद गरेको छ । डीएसपी तामाङका अनुसार बरामद भएका मध्ये ११२ तोला सुनको पीडितहरुले सनाखत गरिसकेका छन् । 'उनीहरुको साथबाट बरामद भएका अन्य गहनाहरु हेर्दा अन्य केही स्थानमा पनि चोरी गरेको देखिन्छ । त्यसको पनि अनुसन्धान भइरहेको छ ।'

उनका अनुसार पसल लुटपाटमा संलग्न सबै काठमाडौंमा फोहर तथा कवाडीका सामान संकलन गर्नेहरु रहेको खुलेको छ । 'उनीहरुले पसल फोडेर सेफ लैजनाका लागि फोहर संकलनको गाडीलाई प्रयोग गरिएको देखिएको छ,' उनले भने, 'हामीले गाडीको पनि पहिचान गरिसकेका छौं । त्यो पनि नियन्त्रणमा लिँदै छौं । ड्राइभर भने भागेकाे छ । उसलाई पनि छिट्टै नियन्त्रणमा लिन्छौैं ।'

तस्बिरः नेपाल प्रहरी ।

प्रहरीले पक्राउ गरेका तीनैजना नजिका आफन्त रहेको पनि खुलेको छ । उनीहरुले फोहर संकलन गर्ने नाममा दिउँसो रेकी गर्ने र राति चोरी गर्ने देखिएको छ ।

उनको भनाइमा यस गिरोहमा अन्य केही व्यक्तिको पनि संलग्नता हुनसक्ने देखिएसँगै अनुसन्धानलाई थप तिव्रता दिइएको छ ।

लुटेराहरुले सेफलाई फोडेर त्यहाँ रहेको गरगहना र पैसा निकालेर सेफ भने सतुंगलमा रहेको बल्खु खोलामा फ्याँकेका थिए । प्रहरीले खोलाबाट सेफ पनि बरामद गरेको छ ।

यो पनि पढ्नुहोस्ः

पसल फोडेर ११५ तोला सुन लुट्ने ३ भारतीय सतुंगलबाट पक्राउ

प्रकाशित : माघ २९, २०७६ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?