कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नवनियुक्त महानिरीक्षक ज्ञवालीलाई गृहसचिवले लगाइदिए दर्ज्यानी चिन्ह

काठमाडौँ — नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुर ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेले आईजीपीको दर्ज्यानी चिन्ह लगाइदिएका छन् ।

नवनियुक्त महानिरीक्षक ज्ञवालीलाई गृहसचिवले लगाइदिए दर्ज्यानी चिन्ह

बुधबार बिहान गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमबीच आईजीपी ज्ञवालीले दर्ज्यानी चिन्ह ग्रहण गरेका हुन् । मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी २७ औं महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई बढुवा गरेको थियो ।


प्रदेश १ प्रहरी प्रमुख रहेका नायव महानिरीक्षक (डीआईजी) ज्ञवालीलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपी बनाएको हो । हालका आईजीपी सर्वेन्द्र खनालले मंगलबारबाटै ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि उनको स्थानमा ज्ञवालीलाई बढुवा गरिएको हो ।

नवनियुक्त महानिरीक्षक ठाकुर ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेले आईजीपीको दर्ज्यानी चिन्ह लगाइदिएपछि बधाई दिँदै । तस्बिर : किरण पाण्डे


समारोहमा गृहसचिव न्यौपानेले नागरिकको शान्ति सुरक्षा र अमनचयनमा सक्रिय हुन प्रहरी नेतृत्वलाई आग्रह गरे । प्रहरी संगठनको सक्रियताको कमिले आपराधिक क्रियाकलाप मौलाउन सक्नेतर्फ संकेत गर्दै उनले त्यसको समीक्षा गरेर अघि बढ्न निर्देशन दिए । उनले नेतृत्व परिवर्तन भए पनि कार्यसम्पादन सम्झौता उही रहेको उल्लेख गर्दै शान्ति सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन दिए ।


प्रहरीको भेषमा कुनै अवाञ्छित गतिविधि गर्दिनँ : नवनियुक्त महानिरीक्षक ज्ञवाली


नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले वर्तमान समयमा अपराध नियन्त्रण र प्रहरी समायोजन चुनौती रहेको भन्दै सामना गर्न प्रहरी संगठन तयार रहेको बताएका छन् । मुलुक संघीयतामा गए पनि कानुनतः सबै प्रक्रिया संघीयतामा गइनसकेको उनको भनाइ थियो ।


दर्ज्यानी चिह्‍न ग्रहण गरेपछि महानिरीक्षक ज्ञवालीले संविधान कार्यान्वयन, नागरिकको अधिकार संरक्षण गर्न महानिरीक्षकको हैसियतमा आफू कटिबद्ध रहेको उल्लेख गरे । उनले प्रहरीगृहमन्त्रालयको मार्ग निर्देशनलाई अक्षरशः कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाए ।


उनले अवाञ्छित र विध्वंसात्मक गतिविधि निस्तेज गरी कानूनको पालनामा आफूले कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाए । उनले समृद्धि, समुन्नत र सुशासनको क्षितिजमा उदाउँदै गरेको मुलुकको छेकवारलाई परास्त गर्ने विश्वससमेत दिलाए ।


आजको जनउत्तरदायी युगमा प्रहरीले नागरिकको मन जितेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिँदै ज्ञवालीले प्रहरीको भेषमा कुनै अवाञ्छित गतिविधि नगर्ने प्रतिबद्धता व्यक्त गरे । प्रहरी कर्मचारीको मनोबल उच्च राख्नमा नै आफ्नो ध्यान जाने उनको भनाइ थियो ।

प्रकाशित : माघ २९, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?