कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सगरमाथा संवाद : डिक्याप्रियोदेखि ग्रेटासम्मलाई निम्तो !

काठमाडौँ — आगामी चैतमा हुने ‘सगरमाथा संवाद’ मा सरकारले सार्क र बिमस्टेकसहित दुई दर्जनभन्दा बढी देशका राजनीतिज्ञ, कलाकार, सेलेब्रिटी र जलवायु अभियन्तालाई निम्तो गरेको छ । जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका समस्या विश्वभर उजागर गर्न भनेर चैत २० देखि तीन दिनसम्म काठमाडौंमा हुने संवादमा उनीहरूलाई निम्त्याइएको हो । 

परराष्ट्र मन्त्रालयमातहतको सगरमाथा संवाद सचिवालयले छिमेकी मुलुकहरू चीन र भारत, सार्कका अन्य देश, बिमस्टेकका सातवटै देशका सरकारलाई निमन्त्रण गरेको छ । आर्थिक एवं प्राविधिक सहयोग गर्दै आएका दातृ निकायका प्रतिनिधिसँगै शक्तिशाली तथा बढी वातावरणमा कार्बन उत्सर्जन दर उच्च रहेका अमेरिका र रुससहित करिब दुई दर्जन देशका सरकार प्रमुख र प्रतिनिधिहरूलाई पनि निमन्त्रणा गरिएको सचिवालयले जनाएको छ ।

‘सबैलाई निम्तो पठाउने काम पूरा भइसक्यो,’ सचिवालयका प्रमुख कुमार खरेलले भने, ‘सहभागिताबारे हामीलाई जानकारी आउन भने बाँकी छ ।’ उनका अनुसार पर्वतीय र हिमाली देशसहित जलवायु परिवर्तनको मुद्दामा अन्तर्राष्ट्रियस्तरमा प्रभाव पार्ने सूचीका ब्राजिल, फ्रान्स, डेनमार्क, जर्मनी, बेलायत, ब्राजिललगायतका देशलाई समेत आमन्त्रण गरिएको छ ।


‘सरकार प्रमुख/राष्ट्र प्रमुख वा विदेशमन्त्री तथा वातावरणमन्त्रीलाई सहभागिताका लागि आमन्त्रण गरिएको छ,’ उनले भने, ‘भीआईपीका भ्रमणहरू अन्तिम समयमा मात्र टुंगो लगाइने भएकाले कन्फर्मेसन कुरिरहेका छौं ।’ कार्यक्रममा सयजना नेपाली र डेढ सयजना विदेशी सहभागी हुनेछन् । सचिवालयले जलवायु परिवर्तनको सरोकारवाला मन्त्रालयका साथै अन्य निकायसँग समन्वय गर्दै कार्यक्रमको खाका तयार गरेको छ ।


वातावरण र जलवायु परिवर्तनका क्षेत्रमा अध्ययन र खोजी गर्ने विख्यात संस्थाहरूका वैज्ञानिकहरूले भने कार्यक्रममा उत्साहपूर्वक सहभागिता जनाउने जानकारी आइसकेको खरेलले बताए । सरकारले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई समेत निमन्त्रणा गरिसकेको छ । गुटेरेस आफैं पनि जलवायु परिवर्तनका मुद्दामा रुचि राख्छन् । दुई महिनाअघि स्पेनमा भएको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप २५) मा उनले पृथ्वी संकटमा परेको भन्दै बचाउका लागि एक्सनमा जान ढिलाइ भइरहेको भन्दै विश्वको ध्यानाकर्षण गराएका थिए ।


संवादमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, हलिउड स्टार लियोनार्दो डिक्याप्रियो, स्वीडेनकी प्रख्यात जलवायु अभियन्ता ग्रेटा थनवर्ग, अनलाइन बिजनेस कम्पनी अलिबाबा समूहका संस्थापक ज्याक मालगायतलाई समेत निमन्त्रणा दिइएको छ । डिक्याप्रियो यसअघि पनि नेपाल आएर बर्दिया निकुञ्जमा बाघ हेरी फर्केका थिए । उनले बाघ संरक्षणमा आफ्नो कमाइको केही हिस्सा सहयोगसमेत गरिसकेका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका महासन्धिका पक्ष मुलुकहरू (यूएनएफसीसीसी) की कार्यकारी सचिव प्याट्रिसिया इस्पिनोसा, जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी सञ्जाल (आईपीसीसी) का अध्यक्ष होइसुङ ली, नर्वेका पूर्वअन्तर्राष्ट्रिय विकास तथा वातावरणमन्त्री एरिक सोल्हेम, जलवायु परिवर्तनसम्बन्धी अति कम विकसित मुलुकहरू (एलडीसी) को समूहका अध्यक्ष सोनाम वाङ्दी र विभिन्न अनुसन्धान निकायमा आबद्ध अनुसन्धानकर्ताहरूले संवादमा सहभागी हुने जानकारी गराएको खरेलले बताए । भारतको जेएनयू, जर्मन, बेलायत, अमेरिका, मलेसियालगायतका विश्वविद्यालयका अनुसन्धानकर्ता र विशेषज्ञले समेत सहभागी हुने निश्चित भइसकेको छ ।


गत वैशाख २ को मन्त्रिपरिषद्ले राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय तथा विश्वस्तरका समसामयिक तथा साझा चासोका विषय एवं मुद्दामा हरेक दुई वर्षमा नेपालमा विश्वस्तरको संवाद सञ्चालन गर्ने उद्देश्यले सगरमाथा संवादका रूपमा बहस गर्ने निर्णय गरेको थियो । संवादको पहिलो संस्करणमा जलवायु परिवर्तनको मुद्दामा बहस गर्न खोजिएको छ । जलवायु परिवर्तनको मुद्दा प्राविधिक भए पनि पछिल्ला वर्षमा राजनीतिक मुद्दाका रूपमा अघि बढेको छ । ठूला, विकसित र प्रदूषक मुलुकहरूले पेरिस सम्झौताअनुसार पालना गर्नुपर्ने कतिपय जिम्मेवारीलाई अस्वीकार गर्दै आएका छन् । अमेरिकाले पेरिस सम्झौतालाई अस्वीकार गर्दै जलवायुका नाममा कुनै पनि सहयोग गर्न तयार नभएको बताउँदै आएको छ ।


सगरमाथा संवादको मुख्य विषय ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानवको भविष्य’ तय गरिएको छ । उद्घाटन र समापन सत्र, दुई वटा नागरिक संवादसहित जम्मा १२ विषयगत सत्र रहनेछन् । त्यसमा विषयगत ज्ञान भएका जानकारहरूले प्रस्तुति दिनेछन् । प्रस्तुति नेपाली र विदेशी दुवैको हुनेछ । अनुकूलन र जीविकोपार्जन, खाद्य र पानी सुरक्षा, जलवायु परिवर्तनले निम्त्याएका विपत्ति, मानव, समृद्धि र प्रकृति, दिगो व्यापारका अभ्यासहरू, प्रविधिका लागि वित्त र अनुसन्धान, प्रकृतिमा आधारित अनुकूलनका उपाय र परम्परागत ज्ञान जस्ता विषयमा विशेषज्ञहरूको प्रस्तुति रहनेछ ।


हरित अर्थतन्त्र, दिगो भविष्यका लागि कार्ययोजना, जलवायु न्याय : महिला र युवाको भूमिकामा पनि बहस हुनेछ । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा बढ्ता असर हिमाल, हिमनदी, हिमताल, हिमाली जनजीवन, प्रकृति, वन्यजन्तु, चराचुरुंगीलगायत समग्र जैविक विविधतामा देखापरेको छ भने नयाँखाले स्वास्थ्य समस्यासमेत भित्रिरहेका छन् ।

प्रकाशित : माघ २९, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?