३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ठाकुर ज्ञवाली प्रहरीको २७ औं महानिरीक्षक

मातृका दाहाल

काठमाडौँ — मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी २७ औं महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई बढुवा गरेको छ । प्रदेश १ प्रहरी प्रमुख रहेका नायव महानिरीक्षक (डीआईजी) ज्ञवालीलाई मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले आईजीपीमा बनाएको हो ।

ठाकुर ज्ञवाली प्रहरीको २७ औं महानिरीक्षक

हालका आईजीपी सर्वेन्द्र खनालले मंगलबारबाटै ३० वर्षे सेवा अवधिका कारण अवकास पाउने भएपछि उनको स्थानमा ज्ञवालीलाई बढुवा गरिएको हो ।


आईजीपी खनालको आजै प्रहरी प्रधान कार्यालयमा बिदाई कार्यक्रम राखिएको छ । ज्ञवाली २०७५ असोजमा एसएसपीबाट डीआईजी र २०७३ असारमा एसपीबाट एसएसपीमा बढुवा भएका थिए । आईजीपीमा बढुवा गर्नका लागि कोही एआईजी नभएका कारण यसपटक पनि सिधै डीआईजीबाट बढुवा गरिएको हो ।


राजनीतिक हस्तक्षेप र करिअर प्लानको अभावमा सर्वेन्द्र खनाल तथा उनीभन्दा अघिका प्रकाश अर्याल पनि डीआईजीबाटै आईजी चयन भएका थिए । प्रहरी नियमावली २०७२ को बढुवासम्बन्धी दफा ४१ अनुसार ‘प्रहरी अतिरिक्त महानिरीक्षक नभएको अवस्थामा नायव महानिरीक्षकबाट जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्न सक्नेछ,’ भन्ने व्यवस्था छ ।


आईजीपी खनालसँगै तीन एआईजी पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यात तथा १८ डीआईजीले पनि मंगलबारबाटै अवकास पाउँदै छन् । बढुवासँगै २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका ज्ञवाली नेपाल प्रहरीको २७ औं आईजीपी बनेका हुन् ।


आईजीपीको दौडमा दुई डीआईजी तारिणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्याय पनि थिए । उनीहरु पनि ज्ञवालीसँगै सेवा प्रवेश गरेका अधिकृत हुन् ।


आईजीपीमा बढुवा भएका ज्ञवाली ३० वर्षे सेवाअवधि कायम रहे आगामी असार २४ गतेसम्म मात्रै सेवामा रहने छन् । त्यसपछि २०४९ सालमा सेवा प्रवेश गरेका अधिकृतहरु मध्येबाट आईजीपी चयन हुने छन् ।

प्रकाशित : माघ २८, २०७६ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?