कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीको ‘बोन डेन्सिटी’ परीक्षण

अतुल मिश्र

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको ‘बोन डेन्सिटी’ (हाडको घनत्व) परीक्षण गरिएको छ । निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहको सिफारिसमा ओलीले धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा सोमबार बिहान साढे १० बजेदेखि दुवै परीक्षण गराएका हुन् । 

प्रधानमन्त्रीको ‘बोन डेन्सिटी’ परीक्षण

‘नियमित परीक्षणका क्रममा आउनुभएका प्रधानमन्त्रीज्यूको ‘बोन डेन्सिटी’ र ‘सिटी स्क्यान’ परीक्षण गर्‍यौं,’ अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले भने, ‘उहाँको हाडको अवस्था ४० वर्ष नाघेका व्यक्तिको जस्तो छ ।’ सिटी स्क्यानको प्रतिवेदनले पनि स्वास्थ्य राम्रो रहेको देखाएको उनले बताए ।


विशेषज्ञहरूका अनुसार हाड मक्किने रोग वा जोखिम भए/नभएको यकिन गर्न पनि बोन डेन्सिटी परीक्षण गर्ने गरिन्छ । पहिले–पहिले लगातार हाड भाँच्चिइरहने समस्या भइरहे मात्रै मक्किने रोग भएको आशंका गरिन्थ्यो । रोगीले कारण पत्तो पाउँदासम्म हाड निकै कमजोर भइसकेको हुन्थ्यो । बोन डेन्सिटी परीक्षणले हाड भाँच्चिने जोखिमको गणनाको शुद्घता बताउँछ ।


‘लामो समयसम्म एस्टेरोइड औषधि सेवनले हाडको पुनर्निर्माण प्रक्रियामा असर गर्ने हुँदा मक्किने रोग हुने सम्भावना हुन्छ,’ एक चिकित्सकले भने । उनका अनुसार अंग प्रत्यारोपण गराएकाहरूले ‘एन्टी रिजेक्सन’ औषधि सेवन गर्ने हुनाले पनि हाड मक्किने रोगको उच्च जोखिम हुन्छ । ओलीले १३ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका हुन् । हिजोआज बेलाबखत डायलसिस गराइरहेका उनको हाडको अवस्था जाँच्न बोन डेन्सिटी परीक्षण गरिएको हो । ६७ वर्षीय प्रधानमन्त्री ओलीको सन् २००७ मा दिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।


मांसपेशी र हाडको विकार आदिका समस्या पहिचान र निदानका लागि समेत सीटी स्क्यान गर्न सकिने चिकित्सक बताउँछन् ।


एपेन्डिसाइटिसको शल्यक्रियापछि थप सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था हेर्न सीटी स्क्यान परीक्षण गराइएको हुन सक्ने औंल्याउँदै अर्का एक चिकित्सकले भने, ‘अंग प्रत्यारोपणको लामो समयपछिको स्वास्थ्य अवस्था मूल्यांकन गर्न समेत सीटी स्क्यान गरिएको हुन सक्छ ।’


यसअघि गत शनिबार मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा करिब चार घण्टा लगाएर प्रधानमन्त्रीको नियमित डायलसिस गरिएको थियो । प्रधानमन्त्री ओली हाल सातामा एक पटक गरी नियमित डायलसिसमा छन् । मिर्गौलामा आएको समस्याका कारण प्रधानमन्त्री साढे सात महिनादेखि विभिन्न परीक्षणसँगै नियमित उपचारमा छन् । करिब अढाइ महिनाअघि एक्कासि एपेन्डिसाइटिसको शल्यक्रियापछि उनी स्वास्थ्य लाभ गरेर नियमित काममा फर्केका छन् ।

प्रकाशित : माघ २८, २०७६ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?