हत्यापछि आत्महत्या !

काठमाडौँ — पूर्वसचिव अर्जुन कार्कीका घरेलु कामदारले उनकी पत्नी मुना कार्कीको ‘हत्या गरी आत्महत्या’ गरेका छन् । ललितपुर उपमहानगरपालिका–२, सानेपास्थित घरमा सोमबार बिहान कामदार विजय चौधरीले कार्कीको घाँटीमा डोरीले कसेर र टाउकामा पिर्काले हानेर हत्या गरी आत्महत्या गरेको प्रहरीको दाबी छ ।

हत्यापछि आत्महत्या !

प्रहरीका अनुसार घटनास्थल पुग्दा पूर्वसचिव कार्कीकी ४९ वर्षीया श्रीमती भान्साकोठामा रगताम्य अवस्था अचेत फेला परेकी थिइन् । कामदार दाङ, लमहीका २२ वर्षीय चौधरी भने घाँटीमा हरियो नाइलनको डोरी कसिएर मृत अवस्थामा फेला परेका थिए ।


घटनाबारे सूचना पाएलगत्तै सानेपा वृत्तबाट प्रहरी निरीक्षकको नेतृत्वमा एउटा टोली त्यहाँ पुगेको थियो । घटना हुँदा पूर्वसचिव कार्की पशुपतिमा रुद्री पूजा लगाउन गएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए । ‘कार्कीजी फर्किएपछि बीभत्स दृश्य देखेर चिच्याउँदै बाहिर निस्कनुभएछ । त्यसपछि उहाँले वा छिमेकीमध्ये कसैले प्रहरीलाई खबर गर्नुभएछ,’ उनले भने ।


प्रहरीले सानेपाकै स्टार अस्पतालबाट एम्बुलेन्स बोलाएर कार्कीलाई उपचारका लागि पठाएको थियो । ‘घटनाबारे हल्लाखल्ला भएपछि जम्मा भएका छिमेकीमध्ये एकजना महिला चिकित्साकर्मी हुनुहुँदो रहेछ, उहाँले पल्स भएको आशंका गरेपछि प्रहरीले अस्पताल पठाएको थियो,’ एसएसपी राईले भने, ‘तर अस्पतालले त्यहाँ पुर्‍याउनुअघि नै मृत्यु भइसकेको बताएको छ ।’


प्रहरी पुग्दा कामदार चौधरी डाइनिङ कोठाको भुइँमा मृत अवस्थामा लडिरहेका थिए । ‘उसको घाँटीमा नाइलनको हरियो डोरी बेस्सरी कसिएको थियो, उक्त डोरी माथि लबीको रेलिङमा बाँधिएको डोरीबाट छिनेको जस्तो देखिन्छ,’ उनले भने, ‘हामी अनुसन्धान गर्दैछौं । पोस्टमार्टमका लागि दुवै शव पाटन अस्पताल पठाएका छौं । अबेर रातिसम्ममा रिपोर्ट आउने सम्भावना छ । त्यसपछि केही निर्क्योल गरेर भन्न सकिन्छ ।’


महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी सन्तोष तामाङका अनुसार चौधरी २०६६ सालदेखि कार्कीको घरमा बस्दै आएका थिए । उनैले मुनाको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । ‘भान्साकोठामा रहेकी मुनालाई पछाडिबाट गएका चौधरीले घाँटीमा डोरी अल्झाएर लडाएपछि प्लास्टिकको पिर्काले टाउकोमा हानेको देखिन्छ,’ उनले भने, ‘घटना घटाएपछि विक्षिप्त बनेका उनी आफैंले पनि डोरीको पासो लगाएर आत्महत्या गरेको हुन सक्छ ।’


ललितपुरको सानेपास्थित पूर्वसचिव अर्जुन कार्कीको निवासमा घटनापछि सोमबार देखिएको भीड । तस्बिर : अनिश रेग्मी/कान्तिपुर

पूर्वसचिव कार्कीकी छिमेकी राष्ट्रिय सभाकी सांसद तथा गायिका कोमल वली कार्की चिच्याएको सुनेपछि दाइसँग त्यहाँ गएकी थिइन् । कार्कीको घर वलीको ठीक पछाडि छ । ‘हामी पुग्दा ज्वाइँसाहब चिच्याइरहनुभएको थियो, दाइले घर पुग्नुअघि नै प्रहरीलाई खबर गरिसक्नुभएको थियो । हामी भित्र गएर हेर्दा काम गर्ने केटो डाइनिङमा लडिरहेको थियो । भान्सामा रगतको आहालमा मुना लडिरहेकी थिइन्,’ उनले भनिन्, ‘प्रहरी आएर हेरेपछि छिमेकी नर्स बहिनीले पल्स चेक गरिन् । घाँटीमा पल्स रहेको जस्तो लागेको बताएपछि हामीले उनलाई तन्नामा बेरेर बाहिर निकाल्यौं र एम्बुलेन्समा हालेर अस्पताल पठायौं ।’ वलीका अनुसार पूर्वसचिव कार्की उनको टाढाको नातामा ज्वाइँ पर्छन् ।


स्टार अस्पतालका एमडी डा. शैल रूपाखेतीका अनुसार एम्बुलेन्स पठाइदिन फोन आएपछि चिकित्सकहरू पनि उपचारका लागि तयारी अवस्थामा बसेका थिए । ‘कार्कीलाई इमर्जेन्सीमा ल्याएलगत्तै डा. मन्जिता बज्राचार्यले उहाँको पल्सलगायत जाँच गर्नुभयो, सबै नील थियो,’ उनले भने, ‘त्यसपछि उहाँहरूले रिभाइभ गर्न सकिन्छ कि भनेर सीपीआर (कार्डियाक पल्मनरी रिसेस्टेसन– बन्द भइसकेको मुटुलाई पुनः चलाउने प्रयास) गर्नुभयो । त्यो उहाँहरूले लगभग ४५ मिनेटसम्म कोसिस गर्नुभयो । त्यसपछि पनि रिभाइभ भएन ।’

प्रहरीले अचेत अवस्थामा अस्पताल पठाएको भने पनि अस्पताल ल्याउँदा उनको मृत्यु भइसकेको डा. रूपाखेतीले बताए । अस्पताल प्रशासनले सोही आधारमा ‘ब्रट डेड’ (अस्पताल ल्याउँदा मृत्यु भइसकेको) भनेर ‘डेथ सर्टिफिकेट’ (मृत्युको प्रमाणपत्र) जारी गरेको छ । ‘पछि अस्पतालका न्युरो सर्जनले पनि आएर टाउकामा लागेको चोट हेर्नुभयो, उहाँको भनाइअनुसार कुनै धार नभएको वस्तुले टाउकामा धेरैचोटि प्रहार गरेको जस्तो देखिन्छ,’ उनले भने, ‘कार्कीको घाँटीमा र हातमा डोरीले बाँधेको नीलडाम र दायाँ आँखामुनि काटेको दाग छ ।’

भान्सामा पिर्काजस्तो प्लास्टिकको हरियो सानो टुल टुक्राटुक्रा भएको अवस्थामा फेला परेको घटनास्थलमा सुरुदेखि खटिएकी ललितपुर परिसरकी एसपी तथा प्रवक्ता दुर्गा सिंहले बताइन् ।


‘त्यहाँ एक बन्डल नाइलनको डोरी पनि फेला परेको थियो, टेबुलमाथि दुईवटा मोबाइल र कैंची थियो,’ उनले भनिन्, ‘ग्यास स्टोभमाथि आलु बसालिएको थियो । साग पनि काटेर पकाउन ठिक्क पारिएको थियो । स्टोभमा राखेको कुकरमा पनि रगतका छिटाहरू देखिएका छन् ।’


सानेपा खरीबोटस्थित प्रहरी बिटको आडैबाट पश्चिमतर्फ छिर्ने गल्लीबाट लगभग २०० मिटरभित्र छिरेपछि पूर्वसचिव कार्कीको घर पुगिन्छ । प्रहरीका अनुसार बिहान कक्षा ५ मा अध्ययनरत १२ वर्षीय छोरालाई स्कुल पुर्‍याएर ड्राइभर फर्किएलगत्तै उनी त्यही गाडी लिएर पशुपतिनाथ मन्दिरमा रुद्री लगाउन गएका थिए । घर फर्किंदा बन्द गेट कसैले नखोलेपछि कार्की आफैंले गेट खोलेर गाडी पार्किङमा राखी भित्र प्रवेश गरेका थिए । घरभित्रको कोठामा बीभत्स घटना देखेपछि उनी गलामा लगाएको रुद्राक्ष र सयपत्रीको माला तथा प्रसादको झोला भान्सामै फ्याँकेर चिच्याउँदै बाहिर निस्किएका थिए ।


प्रहरीले घटनापछि विक्षिप्त अवस्थामा रहेका कार्कीसँग सामान्य कुराकानी मात्रै भएको र बाँकी सोधपुछ छिट्टै गरिने बताएको छ । पत्नी मुनाको महिनावारी भएका कारण अर्जुन एक्लै पशुपति मन्दिर गएको प्रारम्भिक सोधपुछमा खुलेको प्रहरीले जानकारी दिएको छ ।


परिसर प्रमुख एसएसपी राईका अनुसार घटनास्थलको मुचुल्का र ‘क्राइम सिन’ विश्लेषण गर्न पाटन अस्पतालबाट चिकित्सकहरूलाई बोलाइएको थियो । फरेन्सिक जाँचका लागि आएका चिकित्सकले मुनाको भजाइनल स्वाब र चौधरीको वीर्यको नमुना संकलन गरेका थिए । घटनास्थलमै प्रारम्भिक जाँचका क्रममा श्रीमती कार्कीले ‘सेनेटरी प्याड’ लगाएको देखिएको छ ।


विदेशमा रहेका दुवै छोरीलाई घटनाबारे जानकारी दिएर घर बोलाइसकिएको परिवारका सदस्यले बताएका छन् । घटनाका बेला स्कुलमा रहेका उनका छोरालाई भने केही जानकारी दिइएको छैन । उनलाई स्कुल समयपछि नजिककै आफन्तको घरमा लगेर राखिएको छ ।


कार्कीको घरमा ७/८ महिनाअघि चोरी पनि भएको थियो । त्यसपछि उनको घर–कम्पाउन्डमा चारवटा सीसीटीभीसमेत जडान गरिएको थियो । यस्तै उनको घरमा जर्मन सेफर्ड जातको ठूलो कुकुर पनि पालिएको छ । ‘चोरी हुँदा पनि यहाँ कुकुर थियो तर भुक्दै भुकेन,’ छिमेकी वलीले भनिन्, ‘अहिले सोच्दा त्यो बेला पनि केही गडबड भएको थियो कि जस्तो लाग्छ । त्यो प्रहरी अनुसन्धानपछि प्रस्ट होला ।’


एसएसपी राईले कार्कीको घरमा चोरी भएका बेला ललितपुरमा कार्यरत प्रायः सबै प्रहरीहरूको सरुवा भएकाले उक्त फाइल झिकाएर अनुसन्धान गरिने बताए । ‘चोरीको घटनाबारे हामीले पनि भर्खरै थाहा पाएका छौं,’ उनले भने, ‘त्यसको पनि अनुसन्धान गर्छौं । मलाई लाग्छ बढीमा ५ दिनभित्र सबै कुरा छर्लंग हुन्छ ।’

प्रकाशित : माघ २८, २०७६ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?