कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

कोरोना प्रतिरोधमा प्रविधिको साथ

लक्ष्मी लम्साल

बेइजिङ — चीनमा यतिखेर मास्क लगाउनका लागि आकाशवाणी भएका भिडियोहरू भाइरल भएका छन्। ड्रोनले मास्क नलगाइकनै हिँडिरहेका मानिसहरूलाई आकाशबाट मास्क लगाउन बारम्बार अनुरोध गरेको दृश्यहरू देखिन्छन्।मानिसहरू भेला भएर धूमपान गरिरहेको भेट्टायो भने ड्रोनले चुरोट फालेर मास्क नलगाएसम्म त्यहीँ फेरो लगाएर बसिरहन्छ र मान्छेहरू बाध्य भएर मास्क लगाउन थाल्छन्।

कोरोना प्रतिरोधमा प्रविधिको साथ

नोबल कोरोना निमोनिया (एनसीपी) को भाइरस फैलिनबाट जोगिनका लागि सबैभन्दा महत्वपूर्ण कुरामध्ये मास्क लगाउनु पनि हो। अहिले चीनमा सार्वजनिक यातायात देखि पैदल हिँड्‌ने हरेकले मास्क लगाउनु अनिवार्य जस्तै भएको छ। सर्वसाधारणको स्वास्थ्यको ख्याल गर्न अहिले ड्रोनले निकै सहयोगी भूमिका खेलेका छन्। त्यसबाहेक मास्क नलगाउनेलाई कतिपय ठाउँमा अधिकारीहरूले निःशूल्क मास्क दिएर लगाउन बाध्य पारेको पनि देख्न सकिन्छ।

कोरोनाका कारण चीनको जनजीवन यतिखेर ठप्प छ। कोरोनाको उद्‍गमस्थल हुबेइ प्रान्तको वुहान मात्रै होइन, लगभग सबैजसो क्षेत्रमा यतिखेर लक डाउनको स्थिति छ। सन् २००३ को सार्सको तुलनामा यसले निम्त्याएको क्षति झन् झन् बढ्दै गएको छ। कोरोना भाइरस एकबाट अर्कोमा नसरोस् भन्नका लागि चीनले विभिन्न कदम थाल्दै आएको छ।

क्वाङ्तोङ् प्रान्तीय जनअस्पतालमा डाक्टर र नर्सले मात्रै होइन, थुप्रै रोबोटहरूले नर्स र फिजिसियनहरूलाई उपचारमा सहयोग गरिरहेका छन्। ती रोबोटहरूले ढोका ढोकामा गएर बिरामीको औषधि पुर्‍याइरहेका छन् भने अस्पतालका फोहरसमेत संकलन गरेका छन्। उनीहरूको त्यो सहयोग डाक्टर र नर्सजत्तिकै प्रभावकारी हुँदै गएको छ। पहिलो पटक क्वाङ्चौमा तैनाथ रोबोटले ५ मिटर टाढाबाटै शरीरको तापक्रम नाप्न सक्छ। ५-जी टेलिकम्युनिकेसन जडित प्रविधिले एकैसाथ १० जनाको तापक्रम नाप्छ। त्यस रोबोटले नजिकबाट हिँडिरहेको मान्छेले मास्क लगाए/नलगाएको समेत थाहा पाएर संकेत दिन्छ। शरीरको तापक्रम बढी भएमा पनि तत्कालै चेतावनी दिन्छ।

शानतोङ प्रान्तको छिङ्ताउ सहरमा ड्रोन र रोबोटहरूले कीटाणुनाशक छर्ने काममा सहयोग गरिरहेका छन्। त्यहाँ प्रत्येक पटक ड्रोनहरूले १० किलोसम्मका कीटाणु नाशक लिएर ५ हजार वर्गमिटर क्षेत्रफलमा किटाणुनाशक छर्ने गरेका छन्।

पेकिङ युनिभर्सिटीको शौकाङ् हस्पिटलमा दुई वटा इन्टेलिजेन्ट सर्भिस रोबोट छन्। तीमध्ये एउटाले ज्वरोको तापबारे जानकारी दिनसक्छ भने बिरामीको प्रारम्भिक स्थिति र डायग्‍नोसिस गर्दै उचित उपचारको सल्लाह दिनसक्छ। त्यस्तै अर्को रोबोटले ल्याबोरेटरी टेस्ट रिपोर्ट र अस्पतालको मागबमोजिम औषधि ढुवानी गर्छ।

कोरोना भाइरस नफैलियोस् भनेर चीनका हरेकजसो क्षेत्रमा कडा निगरानी र सावधानीका उपाय अवलम्बन गरिएको छ। आवास क्षेत्रका सबै ढोका बन्द गरेर एकद्वारमार्फत् नाम दर्ता गरेर तथा ज्वरोमापन गरेर मात्रै आउने जाने व्यवस्था मिलाइएको छ। सर्वसुलभ र सेकेण्डमै ज्वरो नाप्‍न सकिने प्रविधि भएका कारण नै यति ठूलो जनघनत्व भएको चीनमा यो कार्य सम्‍भव भएको छ।

कोरोना त्रासका कारण अहिले धेरै कार्यालयहरूले घरमै रहेर काम गर्ने व्यवस्था मिलाएका छन्। कम्प्युटर प्रविधिका कारण घरबाटै कार्यालय चलाउन सकिएको हो। अत्यावश्यक कर्मचारी मात्रै सुरक्षाका बन्दोबस्तीका साथ कार्यालय पुगे हुन्छ।

महामारीको नियन्त्रण गर्न बेइजिङका अदालतले सवारी साधन तथा मानवीय भीडभाडलाई कम पार्ने ध्येयले इन्टरनेट क्लाउड मार्फत् मुद्दा चलाउन सकिने व्यवस्था गरेका छन्।

नोवल कोरोना संक्रमणले सार्सलाई उछिन्यो

सर्वसाधारणले उपभोग्य सामग्री किन्नका लागि टाढा टाढा जानुपर्ने बाध्यता छैन। उनीहरूले ख्वाइतीअर्थात् डेलिभरि सेवा मार्फत् सामग्री अर्डर गर्नसक्छन् जुन उनीहरू बसेको ठेगानामा केही समय वा दिनमै आइपुग्छ। चीनको च्याङ्सु प्रान्तीय याङ्चौ शहरमा उपभोक्ता पसल गएर मास्क किनिराख्‍नुपर्दैन। गत फेब्रुअरी ७ तारिखदेखि मास्कका लागि इन्टरनेछमै अर्डर गर्न सकिने व्यवस्था मिलाइएको छ। ग्राहकले आफ्‍नो वीच्याट वा अलिपेमार्फत् पैसा भुक्तान गर्नसक्ने भएकाले कागजी नोट चलाइरहनुपर्ने बाध्यता छैन। अध्ययनका अनुसार अधिकांश रोग सार्ने काममा प्रदूषित नोटले काम गरिरहेका हुन्छन्।

कोरोना भाइरसका कारण चिनियाँ बजारहरू सुनसान देखिन्छन्। अनुमान गरिएअनुसार पहिलाको जस्तै ग्राहकको पुनरागमन हुन ५/६ महिना लाग्नसक्छ। त्यसैकारण चिनियाँ अनलाइन मलहरूले यतिखेर ग्राहकको मन जित्‍ने अवसर पाएका छन्। दैनिक आवश्यकताका कुराहरूको मागपूर्ति गर्न उनीहरूले आफ्‍नो प्राविधिक क्षमतालाई अझै विस्तार गर्दै गएको देखिन्छ।

कोरोना भाइरस संक्रमणबाट पर्ने असर न्यूनीकरणका लागि चीनका विभिन्न ठाउँमा उत्पादन तथा दैनिक जीवन एवम् सुरक्षाको पूर्ण प्रत्याभूति दिनका लागि विविध कदम चालिएका छन्। १७ वर्षअघि सार्स फैलिँदा चिनियाँ जीवनमा ल्याण्डलाइन फोनबाहेक सर्वसुलभ प्रविधि थिएन। त्यो समयमा देखिएको सञ्‍चार कठिनाइ अहिले त सामान्यजस्तै लाग्दैछ जुन प्रविधिका कारण सम्‍भव भएको हो।

प्रकाशित : माघ २७, २०७६ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?