२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

फेसबुक, युट्युबमा विज्ञापनको भुक्तानी : राष्ट्र बैंकले कार्यविधि बनाउँदै

यज्ञ बञ्जाडे

काठमाडौँ — फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालमा विज्ञापनको भुक्तानी औपचारिक माध्यमबाट नगरे कारबाही गर्ने चेतावनी दिएको राष्ट्र बैंक बल्ल यससम्बन्धी कार्यविधि निर्माणमा जुटेको छ । विज्ञापनको भुक्तानीमार्फत विदेशी मुद्रा अपचलन भएको दाबी गर्दै राष्ट्र बैंकले बिनातयारी कारबाहीसम्मको चेतावनी दिएर भुक्तानी रोकेपछि सरोकारवालाले तत्काल स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

फेसबुक, युट्युबमा विज्ञापनको भुक्तानी : राष्ट्र बैंकले कार्यविधि बनाउँदै

क्यान महासंघका पूर्वअध्यक्ष विनोद ढकालले सामाजिक सञ्जालमा हुने विज्ञापनको भुक्तानीलाई बैंकिङ प्रणालीमा ल्याउन खोज्नु राम्रो भए पनि कार्यविधि नहुँदा समस्या परेको बताए । ‘सामाजिक सञ्जालमा हुने भुक्तानी बैंकिङ प्रणालीमार्फत गर्न कुनै समस्या छैन,’ उनले भने, ‘तर राष्ट्र बैंकले सक्दो छिटो नीतिगत बाटो दिनुपर्छ ।’


राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख बमबहादुर मिश्रले सामाजिक सञ्जालको भुक्तानीलाई औपचारिक प्रणालीमा ल्याउन लागिएको बताए । ‘सामाजिक सञ्जालमा विज्ञापन गर्दा धेरै विदेशी मुद्रा अपचलन भएको सूचना राष्ट्र बैंकलाई प्राप्त भएको छ,’ उनले भने, ‘त्यस्ता कारोबार औपचारिक प्रणालीमा ल्याउन राष्ट्र बैंकले कार्यविधि बनाइरहेको छ ।’ सरोकारवालासँग पनि छलफल जारी रहेको उल्लेख गर्दै उनले कार्यविधि र प्रक्रियाबारे १०/१५ दिनमा निर्देशन जारी गरिसक्ने जानकारी दिए ।


राष्ट्र बैंकले फेसबुक, युट्युब, गुगललगायत सामाजिक सञ्जाल र इन्टरनेटमा दिने विज्ञापनका लागि अनौपचारिक माध्यमबाट भुक्तानी नगर्न र गरे कारबाही गर्ने चेतावनी गत साता दिएको हो । नेपालमा रहेको व्यापार व्यवसाय प्रवर्द्धन गर्न फेसबुक तथा युट्युबमा विज्ञापन गर्ने र त्यसको रकम विदेशका आफन्त वा विदेशी कम्पनीबाट भुक्तानी गर्न लगाई हुन्डीबाट रकम पठाउने गरेको राष्ट्र बैंकको अनुमान छ ।


विदेशी विनिमय अपचलन हुने गरी कसैले त्यसरी कारोबार गरेको पाइए विदेशी विनिमय ऐन र प्रचलित कानुनबमोजिम कारबाही गर्ने राष्ट्र बैंकले चेतावनी दिएको छ । विदेशी विनिमय ऐनमा सरकारी निकायको अनुमति नलिई गरेको विनिमयको कारोबार जफत र बिगोको तीन गुणासम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । बिगो नखुल्ने कारोबार भए कसुरको मात्रा हेरी दुई लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था उक्त ऐनमा छ  ।


सामाजिक सञ्जालमा रकम भुक्तानी गर्न व्यवस्थित ‘पेमेन्ट गेटवे’ नभएकाले प्रायः विज्ञापनदाताले अनौपचारिक माध्यमबाट भुक्तानी गर्दै आएका छन् । पछिल्लो निर्देशनपछि फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जालमा भिडियो बनाएर आम्दानी गर्दै आएका नेपालीले पनि बैंकिङ प्रणालीमार्फत रकम लिनुपर्नेछ । त्यस्ता भिडियोमा विज्ञापन राखेबापत युट्युबले निश्चित प्रतिशत भिडियो निर्मातालाई उपलब्ध गराउँछ । उक्त रकम प्रायःले विदेशमा रहेका आफन्त तथा साथीभाइको खातामा जम्मा गर्ने र अनौपचारिक माध्यमबाट नेपाल भित्र्याउने गरेको गुनासो आएकाले सूचना जारी गरिएको राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख मिश्रले बताए । ‘सूचना प्रविधिमा काम गर्ने नेपाली युवाले स्वदेशमै बसेर दिनहुँजसो ठूलो रकम पाउँदा रहेछन्,’ उनले भने, ‘त्यो रकम बैंकिङ प्रणालीबाट आउँदैन ।’


नेपालका नियामक निकायसँग अनुमति लिई औपचारिक माध्यमबाट सामाजिक सञ्जालमा विज्ञापनबापतको रकम भुक्तानी गर्नेको संख्या निकै कम छ ।

प्रकाशित : माघ २७, २०७६ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?