कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

'नेपाललाई अब दुई ढुंगाबीचको तरुल भन्न मिल्दैन'

काठमाडौँ — बदलिँदो समय–सन्दर्भमा अझै पनि भू-अवस्थिति र भूराजनीतिक आडमा नेपाललाई दुई ढुंगाबीचको तरुल भन्दै चलिआएको ब्याख्यामा अल्झेर बस्न नमिल्ने विज्ञहरुले बताएका छन् ।

'नेपाललाई अब दुई ढुंगाबीचको तरुल भन्न मिल्दैन'

कान्तिपुर कन्क्लेभको अन्तिम दिन शनिबारको ‘हात्ति ड्रयागन र तरुलः बदलिदो परिस्थितिमा नेपालको प्राथमिकता’ बिषयक सेसनमा भारत र चीनका बीचमा भूराजनीतिक अवस्थामा बसेको नेपालले पुराना सोचभन्दा नयाँ योजना, सपना र कल्पनामा हिँड्नु जरुरी रहेको विज्ञहरुले बताएका छन् ।


‘सम्बन्धको मानचित्र केलाएर हेर्ने हो भने हात्ती–तरुल र ड्रागन–तरुलबीच तुलनै हुन सक्दैन, ‘भारतीय अध्येता एवं नेपाल–भारत प्रबुद्ध समुह(इपीजी)का सदस्य महेन्द्र पी लामाले भने–‘खानपिन, संस्कृति र सभ्यताबीचको कुरा गर्दा हात्ती–तरुल(भारत–नेपाल)को सम्बन्ध सलल बगेको छ, ड्रागन–तरुल(चीन–नेपाल)को सहयात्रामा भने बीचैमा बिशाल पर्खाल आइपुग्छ ।‘ लामाले अबको समयमा पनि नेपालले आफूलाई तरुल वा स्यान्डविच भनेर खुम्चिएर बस्नुपर्ने स्थिति नरहेको भन्दै 'चुनौतीका माझ नेपालले दुवै राष्ट्रहरुबाट जतिसक्दो फाइदा लिन सक्नुपर्छ, मौरीले फूलको रस चुसेजस्तो रस चुस्न’ सुझाएका थिए ।


अर्का प्यानलिस्ट प्राध्यापक चैतन्य मिश्रले ‘नेपालले दुई छिमेकमाझ मात्रै आफू बसेको नठानेर सिंगो विश्वमाझ बसिरहेको ठान्नुपर्ने’ बताउँदै उदाउँदा विश्व शक्तिहरुबाट फाइदा लिन नेपालले सक्दो कनेक्टीभिटी बढाउनुपर्ने बताए । ‘हामीलाई जतिसक्दो फिजिकल कनेक्टीभिटी चाहियो, उत्तरतिर रेल र सडक नै चाहियो,’ मिश्रले भने– ‘म मेरो जीवनकालमा भूअवस्थितिकै कारण तीनपटक त नाकाबन्दीमा परिसकें, यसरी एउटामात्रै ढोका खोलेर राष्ट्र बाँच्न सक्दैन । यसबाट उन्मुक्ति पाउनैपर्छ।’


चीनका लागि पूर्व राजदूत डा.महेश मास्केले ‘हामीले चीनसँग के चाहने हो भन्नेबारेमा स्पष्ट हुन सक्नुपर्छ’ भन्दै आफ्नो घरेलु गृहकार्य अघि बढाउँदै आर्थिक रणनीतिको मार्गचित्र स्पष्ट पार्नुपर्ने सुझाव दिए। ‘चीनसँग भन्न सजिलो छ तर भारतले के भन्छ मलाई थाहा छैन । चीनले हाम्रो अनुभवबाट सिक्नुस् भन्ने जवाफ दिनेछ,’ उनले भने ।


प्राध्यापक लामाले नेपाल अहिलेलसम्म पृथ्वीनारायण शाहको सपनामा बाँचिरहेको बताउँदै नयाँ सपनाकै आधारमा हिरोसिमा नागासाकीको संहार र युद्धको बिभिसिकाबाट उम्केर जापान, कोरिया आज धेरै अघि बढेको उदाहरण' हेर्नुपर्ने बताए । ‘उनीहरुले देखेको नयाँ सपनाका कारण त्यहाँ परिवर्तन सम्भव भएको हो,‘ लामाले भने ।


सेसनको समन्वय मल्लिका शाक्यले गरेकी थिइन् ।

प्रकाशित : माघ २५, २०७६ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?