१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

'पितृसत्ताले गर्दा मि टु अभियान अघि बढ्न सकेन'

विद्या राई

काठमाडौँ — पितृसत्तात्मक संस्थागत सामाजिक संरचनाले गर्दा नेपालको ‘मी टु’ अभियान तथा कार्यस्थलमा हुने यौन दुर्व्यवहारविरुद्धको अभियान अघि बढ्न नसकेको सरोकारवालाहरुले बताएका छन् ।

'पितृसत्ताले गर्दा मि टु अभियान अघि बढ्न सकेन'

कान्तिपुर कन्क्लेभको दोस्रो दिन नेपालको ‘मी टु’ किन अगाडि बढ्न सकेन ? भन्रे सत्रमा बोल्दै राजनीतिक अभियन्ता मानुषी यमि भट्टराईले भनिन्, ‘महिलाको मुद्दालाई राजनीतिक मुद्दाका रुपमा हेरिएको छैन, राजनीतिक दलभित्र जातिगत रुपमा हुने विभेद र लैगिंक हिंसाविरुद्ध लड्ने संयन्त्र नै छैन ।’

उनले पूर्वसभामुख कृष्णबहादुर महरामाथि लागेको बलत्कार आरोपको मुद्दालाई जोड्दै भनिन्, ‘महरा केसमा कति दलले विज्ञप्ति निकाले ? मेरै दलभित्र पनि व्यापक बहस भयो, अन्तत विज्ञप्ति निकालेन, यसबाटै देखिन्छ कि राजनीतिक दलको निरिहता कतिसम्म छ भन्ने ।’

कानुन व्यवसायी दुर्गा कार्कीले भनिन्, ‘कोही बोलेर आयो भने हाम्रो पितृसत्तात्मक सामाजिक संरचनाले उनीहरुको अगाडिको जीवनलाई निकै गाह्रो बनाइदिन्छन्, त्यसैले पनि धेरैजना चुप लागेर बसेका हुन् ।’ उनले मानिसहरुमा रहेको डरका कारण मिटु अभियान अघि बढ्न नसकेको बताइन् । उनले यसमा एकथरीलाई आफैंमा मि टुमा तानिने डर रहेको र दोस्रोथरीको मिटुमा तानिने वर्गसँग राम्रो हिमचिम रहेका कारण अभियान सोचेजसरी अघि नबढेको बताइन् ।

जति बोल्यो उति ‘ट्रमटाइज’ गर्ने सामाजिक संरचनाले भरथेग गरेको रंगकर्मी आकांक्षा कार्कीले बताइन् । उनले भनिन्, ‘मि टु यौनसँग जोडिएको छ, समाजको इज्जतसँग जोडिएको छ, बोल्नेभन्दा पनि ढाकछोप गर्नेतर्फ प्रेरित छ भने अर्कोतर्फ गल्ती स्विकार्नै नचाहने हुँदा बोलेर के नै हुन्छ र भन्ने निराशा पनि छ ।’

कानुन व्यवसायी कार्कीले नेपालमा मि टुलाई अभियानका रुपमा हेरिएको तर संस्थागत हुन नसकेको बताइन् । यसका लागि पीडितहरुलाई सम्बोधन गर्ने कानुनी व्यवस्था हुनुपर्ने उनले औंल्याइन् । यसैगरी परिवार, समाज, कार्यालय, समूहभित्र यौनका बिषयमा खुलेर छलफलको वातावरण हुनुपर्ने पनि उनले बताइन् ।

रंगकर्मी कार्कीले गल्ति स्वीकार गर्ने-गराउने वातावरण बनाइनुपर्ने बताइन् । कार्यस्थलमा हुने यौनहिंसालाई बलत्कारसँग मात्रै जोड्‍न नहुने बताइन् । ‘पीडक बलात्कारी नै हुनुपर्छ भन्ने होइन, कसैलाई असजिलो महसुस भयो भने पनि गल्ति स्विकार्नुपर्छ,’ उनले भनिन्।

प्रकाशित : माघ २५, २०७६ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?