ठूला नदीहरुमा छिट्टै राष्ट्रिय ध्वजावाहक पानीजहाज चल्छन् : प्रधानमन्‍त्री

'भूपरिवेष्ठित राष्ट्र नेपाल छिट्टै जलमार्गबाट विश्वसँग जोडिने छ'

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल छिट्टै जलमार्गबाट विश्‍वसँग जोडिने बताएका छन् । शुक्रबारबाट सुरु भएको कान्तिपुर कन्क्लेभको दोस्रो संस्करणमा विद्वत प्रवचन दिँदै प्रधानमन्त्री ओलीले भूपरिवेष्ठित राष्ट्र भए पनि छिट्टै विश्‍वसँग जोडिने बताएका हुन् ।

ठूला नदीहरुमा छिट्टै राष्ट्रिय ध्वजावाहक पानीजहाज चल्छन् : प्रधानमन्‍त्री

उनले भने,' भूपरिवेष्ठित राष्ट्र नेपाल छिट्टै जलमार्गबाट विश्वसँग जोडिने छ र हाम्रा ठूला नदीहरुमा राष्ट्रिय ध्वजावाहक पानीजहाजहरु चल्न थाल्नेछन् ।'

प्रधानमन्त्री ओलीले दुई वर्षअघि प्रधानमन्त्रीका रुपमा जनताले गरेको विश्वासलाई जिम्मेवारीपूर्वक निर्वाह गर्दै विकासको यात्रालाई नेतृत्व प्रदान गरेको बताए । 'मेरो कार्यकालको मध्यतिर आइपुग्दा हामीले देशमा सकारात्मक उर्जा सञ्‍चार गर्न सफल भएका छौं । यस्तै हामीले विकासका लागि राम्रो जग पनि खडा गरेका छौं । हाम्रो देशले अगाडि बढ्न सही ट्रयाक समातेको छ,' उनले भने ।

'विकासको मुद्दामा केन्द्रको भर पर्नु पर्दैन'

देशको निर्णायक भूमिका र विकासको मुद्दा अब केवल केन्द्रको नीतिमा मात्रै भर पर्नु नपर्ने प्रधानमन्त्री ओलीले बताए । प्रदेश सरकार र स्थानीय तहले पनि संवैधानिक रुपमै केन्द्र जस्तै शक्ति र अधिकार प्राप्त गरेको उनले दाबी गरे ।

'समृद्ध नेपाल, सुखी नेपाली' राष्ट्रिय नारा बनेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफ्ना लागि समृद्ध समाज भनेको सकारात्मक विचारले भरिपूर्ण एकअर्काको सहअस्तित्व र विविधताको सम्मान गर्ने सुसंस्कृत समाज नै भएको बताए । आफ्नो स्वार्थभन्दा माथि उठेर सोच्न सके मात्रै देश समुन्‍नत हुने उनले उल्लेख गरे ।

लामो समयको राजनीतिक संक्रमणकालपश्चात पछिल्लो दुई वर्षले भिन्न प्रकारको भाव प्रदान गरेको बताउँदै पछिल्लो समय नेपालमा राजनीतिक बहसलाई छोडेर विकास, रोजगार र लोकहितका बारे बहस सुरु भएको प्रधानमन्त्री ओलीले दाबी गरे ।

'आर्थिक विकासले बहस अहिले प्राथमिकतामा परेको छ । अनिश्चितता र भ्रम इतिहासका विषय बनेका छन्। नीतिमा स्थायित्व, निश्चितता र स्थीरताले हाम्रो विश्वनियता बढाएको छ,' प्रधानमन्त्री ओलीले भने ।

नेपालले अंगिकार गरेको आर्थिक नीतिले उत्साहजनक नतिजा दिन थालेको पनि उनले बताए । प्रधानमन्त्री ओलीले निजी क्षेत्रले देशको विकासमा पुर्‍याएको योगदानको सम्मान गर्ने उल्लेख गर्दै यसले देशको पैसा बचेको चर्चा गरे । 'तथ्यांक आफ्नै ठाउँमा होला, तर महत्वपूर्ण कुरा त के भने विकास हाम्रै पालामा सम्भव छ भन्ने विश्वास सबैमा जागेको छ,' उनले भने ।

'विकास र समृद्धिका लागि भारत र चीनसँगको कनेक्टिभिटी महत्‍वपूर्ण'

विकास र समृद्धिका लागि छिमेकी देश भारत र चीनसँगको कनेक्टिभिटी निकै महत्वपूर्ण रहेको प्रधानमन्त्री ओलीले बताए । भारतसँग मल्टिमोडल कनेक्टिभिटी र चीनसँग ट्रान्स हिमालयन मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्क आवश्यक रहेको उनको दाबी थियो । 'मोटरबोटहरु रमाइलोका लागि मात्रै नभएर त्यसले पर्यटन विकासमा पनि टेवा दिनेछन्,' उनले भने ।

दुवै छिमेकी राष्ट्रसँग नेपाल रेलका माध्यमबाट पनि जोडिने र यसले नेपालको यातायात क्षेत्रमा क्रान्ति ल्याउने प्रधानमन्त्री ओलीले दाबी गरे । नेपालको अर्थतन्त्रलाई उकास्‍न यो निकै आवश्यक रहेको पनि उनले बताए ।

'पोखरा र भैरहवा विमानस्‍थलले क्रान्ति ल्याउँछ'

पोखरा र भैरहवामा छिट्टै सञ्चालनमा आउन लागेका दुई अन्तर्राष्ट्रिय विमानस्थलले नेपालको हवाइ कनेक्टिभिटीमा क्रान्ति ल्याउने प्रधानमन्त्री ओलीले दाबी गरे ।

सरकारको चाहना निजी क्षेत्रले प्रतिस्पर्धात्मक वातावरणमा कार्य गर्न पाउन र सबैले समान अवसर प्राप्त गरुन् भन्ने नै भएको बताउँदै प्रधानमन्त्री ओलीले कसैलाई काखा कसैलाई पाखा नगर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै प्रधानमन्त्री ओलीले नेपाल विचार, प्राकृतिक र सांस्कृतिक स्रोतमा पनि धनी भएको बताए । त्यसैले नेपालले अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्‍भाव प्राप्त गरिरहेको उनले बताए । ।

उनले नेपालले विकास र समृद्धिका क्षेत्रमा तत्काल काम गर्नुपर्ने आवश्यकता रहेको बताए । 'हामीलाई आजै गर्नुपर्ने बाध्यता छ। हामीसँग भोलि गर्छु भन्ने सुविधा छैन । हाम्रो लागि समयको निकै महत्व छ । हामीलाई ढिला गरेर हिँड्ने सुविधा पनि छैन । हामीलाई असफल हुने सुविधा पनि छैन,' उनले भने ।

प्रकाशित : माघ २४, २०७६ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?