कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गच्छदार दाेषी हुन् वा हाेइनन् थाहा छैन, म निर्दोष छु : नेपाल

‘निर्दोषलाई फसाउनु गलत हो’
देवनारायण साह

मोरङ — नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा कांग्रेस नेता विजयकुमार गच्छदार दोषी हुन् हाेइनन् आफूलाई थाहा नभएकाे बताएका छन् । शुक्रबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै नेपालले दाेषी भए कारबाही हुनु पर्ने र निर्दाेष भए फस्‍न नहुने बताए ।

गच्छदार दाेषी हुन् वा हाेइनन् थाहा छैन, म निर्दोष छु : नेपाल

कांग्रेसले गच्छदारलाई फसाएको तर जग्गाको लालपुर्जा हुनेहरुलाई अख्तियारले उन्मुक्ति दियो भनिरहेको छ भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा नेपालले भने, ‘त्यस्तो हो भने मलाई थाहा छैन तर निर्दोष मान्छेलाई फसाइएको हो भने त्यो गलत हो ।’

उनले अख्तियारले पार्टीगत रुपमा कसैलाई जोगाएको र कसैलाई फसाएको जस्तो आफूलाई नलागेको बताए । ‘अख्तियारले मुद्दा दायर गर्दा कसैलाई जोगाएको र कसैलाई फसाएको जस्तो लाग्दैन तर यदी पार्टीगत रुपमा गरेको हो भने उपयुक्त होइन,’ नेपालले भने ।

नेपालले ललिता निवास जग्गा प्रक्रणमा आफू दोषी नभएको दाबी गरे । ‘दोषी र अपराधी जोसुकै भए पनि कसैले पनि उन्मुक्ति पाउनु हुँदैन,’ नेपालले भने, ‘ललिता निवास जग्गा प्रक्ररणमा म दोषी, अपराधी र भ्रष्टाचारी होइन, भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मान्यता राख्दछु ।’

आफ्‍नो पालोमा कुनै नयाँ मोही बनाउने काम नभएको नेपालले प्रस्ट्याए । ‘कुनै कार्यालयमा भ्रष्टाचार हुन्छ भने त्यस कार्यालयका सबै दोषी हुँदैन जसले बदमासी गर्छ उही दोषी हुन्छ,’ नेपालले भने । कोही पनि निर्दोष मान्छे पर्न हुँदैन र दोषी मान्छे छुट्नु हुँदैन भन्ने आफ्नो मान्यता रहेको नेपालको भनाइ थियो ।


नेपालले अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत दिएको अनुदान छिटो संसदबाट पास गरेर टुंग्याउनु पर्ने बताए । ‘एमसीसीको सन्दर्भमा दुई वटा पाटो छ,’ उनले भने, ‘इण्डो-प्यासिफिकको अंग हो कि होइन र अर्को एमसीसीभित्रैका प्रावधानहरु नेपालको हित प्रतिकूल छ कि छैन ।’

एमसीसीका सन्दर्भमा कतिपयका अभिव्यक्तिले जटिलता उत्पन्‍न भए पनि सरकार, सांसद, नेताहरु प्रस्ट हुनुपर्ने नेपालले बताए । ‘सरकारले इण्डो प्यासिफिकको अंग होइन भनेपछि होइन,’ उनले भने, ‘एमसीसीभित्र सर्त हुन सक्छ तर अनुचित सर्त हुनु भएन । त्यसलाई अध्ययन गर्न पार्टीले कार्यदल बनाएको छ । कार्यदलले आग्रह नराखी छिटो टुंग्याउनु पर्छ । अब धेरै ढिलो नगरी एमसीसी पास गर्नुपर्छ ।’

प्रकाशित : माघ २४, २०७६ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?