कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चीनबाट उद्धारको पर्खाइमा रहेका नेपालीका अभिभावकहरुको आक्रोश– ‘के मरेपछि मात्रै ध्यान जाने हो? ’

बुनु थारु

काठमाडौँ — पाटन, मंगलबजारका ताम्राकार दम्पत्ती हिजोआज उदास छन् । हसाना र नेमकृष्ण ताम्राकार कहिले आफ्नो छोरीलाई नजिकबाट हेर्न पाउँला भन्ने आशमा बाटो कुरेर बसिरहेका छन् । चीनमा पीजी अध्ययनरत २९ वर्षीया छोरी सहाना २ हप्तादेखि कोठामा थुनिएर बसेको छ भन्ने थाहा पाएपछि हसाना रातभर निदाउन सक्दिनन् ।

चीनबाट उद्धारको पर्खाइमा रहेका नेपालीका अभिभावकहरुको आक्रोश– ‘के मरेपछि मात्रै ध्यान जाने हो? ’

चीन अनि विश्वमा नै कोरोना भाइरसको जालो फैलिँदै गएको समाचार सुनेपछि ती दम्पत्तीको मन बेचैन छ । दुवैको मन अस्थिर बनेको छ ।

कोरोना भाइरसले मान्छे मरिरहेको सुन्दा आफ्नो छोरीलाई केही भइहाल्छकी भन्ने डरले डेरा जमाएको छ उनको मनमा ।

पछिल्लोपटक सहाना हिउँदे बिदामा आएकी थिइन् । करिब डेढ महिनाजति बसेर उनी डिसेम्बर १९ तारिखमा चीन उडेकी थिइन् ।

‘मेरी छोरी त डेरामा एक्लै बसेकी छ रे, धेरै डराएकी छ नी, सरकारले खै कहिले ल्याइदिने हो?’ हसानाले निन्याउरो मुख लगाएर भनिन् ।

हसाना जस्तै चीनमा रहेका नेपालीहरुका अभिभावकहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आफ्नो गुनासोको चाङ लिएर उभिएका थिए ।

बिहीबार बिहान ११ बजेदेखि ज्ञापनपत्र हातमा बोकेर मन्त्रालयका विभिन्न पदाधिकारीका धाउँदा उनीहरु थकित देखिन्थे । घरी प्रवक्ता घरी मन्त्रीको कोठामा आफ्ना आग्रहको सुनुवाइ होस् भन्ने आशाले छिर्थे । तर भित्र कसैको पनि जवाफ नआउँदा आक्रोश तथा निराशापूर्ण अनुहरा लिएर आउँथे ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार कोरोना भाइरसका कारण बिहीबार बिहानसम्म चीनमा मृत्यु हुनेको संख्या ५६३ पुगेको छ । विश्वभर कोरोना भाइरसको प्रकोप फैलिरहँदा विभिन्न देशले आफ्ना नागरिकहरुको उद्धार सुरु गरेका छन् । भारतले पनि आफ्नो नागरिकहरुको उद्धार अघिल्लो हप्ता गरेको थियो । अहिले सामाजिक सञ्जालमा भारतीयहरु आफ्नो घर फर्किन पाउँदाको खुसी तथा उत्साहको भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ ।

गत शनिबार चीनमा रहेको नेपाली राजदूतावासले चीनबाट फर्किन चाहने नेपालीका लागि फारम भर्न सूचना जारी गरेको थियो । त्यसमा १ सय ८५ जना नेपाली विद्यार्थीहरुले फर्म भरेका थिए ।

फारम भरेपछि घरफिर्ति हुन्छ भन्नेमा ढुक्क भइरहेका बेला नेपाल सरकार भने अझै पनि अन्योलमा देखिन्छ ।

आफ्ना छोराछोरीलाई भेट्न आतुर रहेका अभिभावहरुले ढिलाइ भएको भन्दै आज स्वास्थ्य मन्त्रालयमा दबाब दिन पुगेका थिए । करिब ३० देखि ४० जना अभिभावकहरु अवस्था बुझ्नका लागि आतुर देखिन्थे ।

त्यही भीडमा भेटिइन् सोमिला कक्षपति । उनी वातावरणकी विद्यार्थी हुन् । १ महिनाअघि मात्रै चीनबाट पढाइ सिध्याएर आएकी उनले सरकार कत्ति पनि गम्भिर नभइदिएको देख्दा अचम्म लागेको बताउँछिन् । उनकी बहिनी सलिमा वुहान युनिभर्सिटिमा एमबीबीएस अध्ययनरत छिन् ।

उनले आक्रोशित स्वरमा भनिन्, ‘मेरी बहिनी कोरोना भाइरसको इपिसेन्टर वुहानमै बस्छिन् । खानेकुराको सेर्टज भइरहेको छ रे । धाराको पानी खानुपरेको छ । हामी त यहाँ अभिभावकहरु पीडामा बसिरहेका नै छौं । उनीहरु पनि त्यहाँ कम पीडामा छैनन् ।’

सोमिलका अनुसार त्यहाँ उनीहरु ‘मेन्टली ट्रमाटाइज’ भइसके । ‘अस्ति वी च्याटमा कुरा गर्दा बहिनीले एम्बुलेन्सको स्वर सुन्दा बौलाउन लाइसकेँ भन्दै थिई । त्यस्तो सुन्दा कत्ति नमज्जा लाग्छ होला?’ उनले भनिन् । सलिमा बस्ने ठाउँभन्दा अस्पताल २०० मिटर मात्र पर रहेको छ उनले बताइन् ।

‘अहिले पनि कहाँ राख्ने भनेर ठाउँ नै खोजिरहेका छन् रे । हामी अभिभावकले के अपेक्षा गर्ने नेपाल सरकारसित?’ सोमिलाले भनिन्, ‘म ठोकुवाका साथ भन्छु अहिले उनीहरुको उद्धार गरिएन भने पछि उनीहरुले पनि देशका लागि केही गर्छु भन्ने कुरामा पछि हटन् सक्छन् । ’

सरकार कत्ति पनि सिरियस नभइदिएको उनले दुःखेसो पोखिन् ।

धादिङकी ६३ वर्षीया दुर्गा भुसालका चीनमा छोरी, ज्वाइँ र नातिनी नै अलपत्रमा परेका छन् । गाइनोमा एमडी गर्न गएकी जानुका भुसाललाई भेट्न उनका श्रीम्ना डा. समिर भट्टराई र ८ वर्षीया छोरी स्मारिका भट्टराई केही समय अघि चीन गएका थिए ।

धेरै सोचेर मानसिक तनावमा भएको बताउँदै दुर्गाले भनिन्, ‘छिट्टो ल्याइदिनुपर्‍यो लौन ।’

यस्तै सिन्धुपाल्चोकका वसन्त भण्डारी पनि आफ्नो श्रीमती कृष्णकुमारी भण्डारीसँग दबाब तथा धर्ना कार्यक्रममा आएका थिए । वसन्तले नै अभिभावकहरुको भेलाको संयोजन गरेका थिए । उनका ३० वर्षीया छोरा डा. जीतसिंह भण्डारी श्रीयान सहरस्थित हुबेई युनिभर्सिटि अफ मेडिसिनमा एमडी सकाएर आउने तर्खरमा थिए । तर फर्किनुभन्दा पहिला आमाबुवालाई एकपल्ट चीन घुमाउने सोचेका थिए उनले । तर भइदियो अर्कै । अहिले उनी थुनिएर बस्नु परेको छ ।

‘के गर्नु हामीलाई घुमाउँछु भनेर कुरेर बसेको थियो । हिजो २२ गतेको टिकट थियो हाम्रो । चिन्ता नगर भन्छ छोराले तर के गर्नु मनले माने पो । महामारी पो छ रे,’ आमा कृष्णकुमारीले अनिदो जस्ता देखिने आँखा मिच्दै भनिन् ।

संयोजक बसन्त भण्डारी भन्छन्, ‘माथिको आदेश आउन बाँकी छ भन्नुभएको छ प्रवक्ताले । केही उपाय लागेन भने भोलि प्रधानमन्त्री कार्यलयमा जान बाध्य हुन्छौँ ।’

त्यही भीडमा एक अभिभावक च्याठ्ठिदै आक्रोशित मुडमा भन्दै थिए…, ‘२ हप्ता भइसक्यो उद्धार गरिएको छैन । नाटक गरेजस्तो मात्र भयो । मर्नैपर्ने हो अनि मात्र सिरियस हुने ? कत्ति आलटाल गर्न सकेको होला ?’

घण्टौंपछि पीडित अभिभावकहरुले राज्यमन्त्री नवराज रावत तथा प्रवक्ता महेन्द्र श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका थिए । अभिभावकहरुलाई सम्बोधन गर्ने क्रममा प्रवक्ता श्रेष्ठले विभिन्न प्रक्रिया मिलाउनुपर्ने भन्दै स्वास्थ्य मन्त्रालयले आफ्नो काम सबै पूरा भएको जानकारी गराए ।

विभिन्न देशले उद्धार गरिरहँदा नेपाललाई पनि दबाब परेको छ ।

चीनमा रहेका नेपाली नागरिकहरु भने दिनादुदिन भयभित अवस्थामा उद्धारको पर्खाइमा बसिरहेका छन् । वुहानबाट सम्पर्कमा आएका अधिकांश नेपालीले आफूहरु तत्काल नेपाल फर्कन चाहिरहेको बताउने गरेका छन् । तर सरकार भने अझै ‘स्लो मोसन’ मै गइरहेको देखिन्छ । धेरैले नेपालीहरुलाई उद्धार नै नगर्ने पो हो कि भनेर अड्कल काट्न थालेका छन् । साथै ठाउँ तोकिएका स्थानका स्थानीयहरु पनि आफूलाई पनि संक्रमण सर्छ कि भनेर विरोध गरेर मुर्खता प्रदर्शन गरिरहेका छन् ।

चीनबाट ल्याइने नेपालीहरुलाई १४ दिने क्वारेन्टाइमा राखिने यसअघि बताइएको थियो । त्यसका लागि विभिन्न ठाउँको छनौट प्रक्रिया चलिरहँदा अहिलेसम्म चार ठाउँ शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटी परेका छन् । नेपाली नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित कार्ययोजनाअनुरूप समग्र तयारीमा जुट्न सम्बद्ध मन्त्रालय र निकायहरूलाई निर्देशन दिइसकेका छन् ।

आज नियमित पत्रकार सम्मेलनमा बोल्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपालमा सबै कुराको प्रबन्ध हुने बित्तिकै उद्धार गर्ने र केही समय धैर्य गर्न आग्रह गरेका छन् ।


याे पनि :

सरकारले चीनबाट उद्धार गर्ने भनेर नाटक मात्रै गरिरहेको अभिभावकहरुको आरोप, दबाब दिन स्वास्थ्य मन्त्रालयमा भेला

प्रकाशित : माघ २३, २०७६ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?