बाली खान आउने जंगली बँदेललाई मार्न पाइने !

गोविन्द पोखरेल

काठमाडौँ — कृषि बालीमा हानी पुर्‍याउने जंगली बँदेललाई अब कृषकले मार्न पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७६/७७ सम्मका लागि बँदेललाई 'कृषि हानिकारक वन्यजन्तु' घोषणा गरेसँगै मार्न मिल्ने बाटो खुलेको हो । 

बाली खान आउने जंगली बँदेललाई मार्न पाइने !

मन्त्रालयले माघ २० गते राजपत्रमा सूचना प्रकाशित गर्दै कसैको खेतबारीमा बँदेल आएर नोक्सान गरे सम्बन्धित कृषकले धपाउन, लखेट्न, पक्रन वा मार्न सक्‍ने प्रावधान ल्याएको हो । मानव-वन्यजन्तु द्वन्द्व कम गर्ने र बँदेलको जनसंख्या नियन्त्रण गर्ने उद्देश्यले एक वर्षसम्मका लागि यो व्यवस्था ल्याइएको हो । यसबाट बँदेलको संख्यामा पनि कमी आउने बताइएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३५ ले दिएको अधिकार प्रयोग गरेर यो निर्णय लिइएको हो । यो नियम सानो जातको बँदेलमा भने लागू हुने छैन ।

पक्राउ गरिएको बँदेललाई राष्ट्रिय निकुञ्जको कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय वा डिभिजन वन कार्यालय वा स्थानीय वडाको कार्यालयमा दिनुपर्ने प्रावधान छ । मारिएका बँदेललाई सम्बन्धित वडाको एकजना प्रतिनिधिसहित कम्तीमा ५ जना स्थानीय व्यक्तिको रोहवरमा मुचुल्का खडा गरेर गाड्न सकिने व्यवस्था छ ।

मारेको बँदेलेको मासु खान सकिनेः

मन्त्रालयले राजपत्रमा जारी गरेको सूचनामा लखेट्ने क्रममा मारिएको बँदेलको मासु खान सकिने व्यवस्था पनि छ । बँदेललाई तौलको आधारमा पञ्चकिर्ती मूल्य तोकेर उपयोग गर्न सकिने सूचनामा उल्लेख छ । स्थानीय तहको सम्बन्धित वडाभित्र मात्र मारिएको बँदेल उपयोग गर्न सकिने मन्त्रालयले जनाएको छ । कृषकले मारेको बँदेल सम्बन्धित निकुञ्ज वा वन कार्यालयमा जानकारी दिनुपर्नेछ ।

राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, संरक्षण क्षेत्र वा राष्ट्रिय वन क्षेत्रमा भने बँदेललाई धपाउने, लखेट्ने पक्रन वा मार्न भने पाइने छैन । ती क्षेत्रमा यस्ता गतिविधि गरेको पाइए कानुन अनुसार कारबाही गर्न सकिने व्यवस्था छ ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एवं जैविक विविधता विज्ञ मनकुमार धमलाले सरकारले ल्याएको यो प्रावधान विरोधाभासपूर्ण रहेको बताए । उनले पछिल्लो समय बँदेलको संख्या बढेको भएपनि मानिसहरु लेखट्नेतिरभन्दा मार्नेतर्फ जान सक्‍ने सम्भावना बढी नै रहेको बताए । उनले बँदेललाई मार्नुपर्ने अवस्था थियो वा थिएन भन्ने विषयमा विवादित देखिने बताए । सिधै मार्न लगाएर मावनवन्यजन्तु द्वन्द्वको समस्या समाधान नहुने बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले बँदेलको जनसंख्या कम र मानव-वन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि यो नियम लागू गराइएको बताए । उनले यसअघि पनि शिवपुरीमा पनि यस्तै किसिमको प्रवाधान २०७५ माघसम्म लागू गरिएको बताए ।

बँदेलले अन्यबाली नष्ट गरेर लखेटेको हो वा बिना कारण त्यतिकै लखेटिएको हो भन्ने विषयमा सुरक्षा निकायको ध्यान जानुपर्ने बताए । उनले बँदेलको संख्या पछिल्लो समय धेरै नै बढेको बताए । जंगल क्षेत्रमा कुनै हानी नोक्सानी गरेमा कारबाही भने हुने बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार मानव वन्यजन्तु द्वन्द्वमा धेरै क्षति बँदेलले गर्ने गरेको सुनाए । अधिकांश कृषकका बाली बँदेलले नष्ट गरिदिने घटनाहरु धेरै नै बढेको सुनाए ।


यो पनि पढ्नुहोस्ः

बँदेल धपाउन दिनरात पहरा

नेपालगन्ज विमानस्थलमा बँदेल आतंक

बँदेलले गाउँलेको उठिबास

प्रकाशित : माघ २३, २०७६ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?