कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अमेरिकी राजदूतलाई नेपालले भने, ‘एमसीसीबारे उठेका प्रश्नहरुलाई समाधान गर्ने गरी सल्टाउँछौं’

जगदीश्वर पाण्डे

काठमाडौँ — सत्तारूढ दल नेकपाका वरिष्ठ नेता माधव नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट बारे उठेका प्रश्नहरूलाई समाधान गर्ने गरी सल्टाउने अमेरिकी राजदूतसँग प्रतिबद्धता जनाएका छन् ।

अमेरिकी राजदूतलाई नेपालले भने, ‘एमसीसीबारे उठेका प्रश्नहरुलाई समाधान गर्ने गरी सल्टाउँछौं’

एमसीसी कम्प्याक्ट संसदबाट पारित गर्ने कि नगर्ने भन्ने विवाद नेकपामा भइरहँदा नेता नेपाललाई भेट्न नेपालका लागि अमेरिकी राजदुत र्‍यान्डी बेरी बिहीबार नेपाल निवास कोटेश्वर पुगेका थिए । बेरीले नेता नेपालसँग एमसीसी संसदबाट छिटो पास होस् भन्ने अमेरिकाले चाहेका बताएका थिए ।


जवाफमा नेकपाका विदेश विभागका प्रमुखसमेत रहेका नेपालले एमसीसीबारे केही प्रश्नहरु उठेपछि पार्टीले अध्ययन कार्यदल बनाएको जानकारी दिएका थिए । उनले बेरीलाई ती प्रश्नहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ भनी हेरिने पनि बताए ।


नेता नेपाल र राजदुत बेरीबीच एमसीसीसहित दुईपक्षीय हित र सम्बन्धबारे कुराकानी भएको नेकपाका विदेश विभागका उपप्रमुख विष्णु रिजालले कान्तिपुरलाई जानकारी दिए ।


माघ १९ मा सम्पन्न नेकपाको केन्द्रीय समिति बैठकले एमसीसीलाई अध्ययन गर्न पूर्व प्रधानमन्त्री तथा सचिवालयका सदस्य झलनाथ खनालको नेतृत्वमा तीन सदस्यीय एक कार्यदल बनाएको छ, जसमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य छन् । कार्यदललाई प्रतिवेदन बुझाउन १० दिनको समय दिइएको छ ।

कार्यदलका सदस्य रावल एमसीसीको कडा आलोचक हुन् । उनले अमेरिकाको एमसीसीबाट प्राप्त हुने सहयोग इन्डो प्यासिफिक रणनीति अन्तर्गत रहेको र त्यो सैन्य रणनीति भित्र पर्ने बताउँदै आएका छन् । रावल नेपालनिकट नेता हुन् ।


नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक करिब ५५ अर्ब नेपाली रूपैंयाको अनुदान सहयोगको रुपमा रहेको एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन हुने बताउँदै आइरहेका छन् । पछिल्लोपटक प्रधानमन्त्री ओलीले गत मंगलबार सम्पादकहरुसँगको कुराकानीमा पनि एमसीसी कम्प्याक्ट संसदको यहि हिउँदे अधिवेशनबाट पारित हुने जानकारी दिएका थिए ।

परराष्ट्र मन्त्री ज्ञवालीले एमसीसी आईपीएस अन्तरगत नरहेको पटक–पटक दोहोर्‍याउँदै आइरहेका छन् । जसलाई नेता रावल र नेकपाकै अर्का स्थायी कमिटीका सदस्य तथा प्रतिनिधि सभाका मुख्य सचेतक देव गुरूङ मान्न तयार छैनन् । तर, अमेरिकी अधिकारीहरूले भने एमसीसी आईपीएस अन्तरगत नै रहेको तर यो कुनै रणनीति अन्तरगत नरहेको बताएका छन् ।

प्रकाशित : माघ २३, २०७६ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?