छाउगोठ भत्काउने अभियानमा सांसद विभाजित

विद्या राई

काठमाडौँ — गत शुक्रबार प्रतिनिधिसभा बैठकमा जुम्लाका नेकपा सांसद गजेन्द्रबहादुर महतले कर्णालीका विभिन्न जिल्लामा सरकारले छाउगोठ भत्काएकामा आपत्ति जनाए । संसद्को शून्य समयमा बोल्दै उनले भनेका थिए, ‘हिजो गोर्खाली सेनाका नाममा र आज छाउगोठका नाममा हाम्रा घर भत्काइएको छ ।

ZenTravel

के हेरेर बसेको छ गृह मन्त्रालय ?’ मानिसहरूको गाँस, बास र कपासको न्यूनतम आवश्यकता पूरा नगरी छाउगोठ भत्काएर मात्रै प्रथा अन्त्य नहुने उनको भनाइको अर्थ थियो । ‘विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी गर्ने हो भने छाउगोठमा कोही महिलाले अलग्गिएर बस्नु पर्दैन,’ कान्तिपुरसँग कुरा गर्दै उनले भने, ‘कर्णालीको दुःख त्यहाँका मान्छेलाई थाहा छ, यहाँ बसेर छाउगोठ भत्काउन जाने ? चेतना उकास्नुपर्‍यो, शिक्षा, स्वास्थ्य, रोजगारी देओस् न सरकारले ।’

Meroghar


बझाङकी समानुपातिक सांसद आशाकुमारी विक पनि सरकारको अभियानप्रति सन्तुष्ट छैनन् । गत पुस २२ मा महिला बालबालिका तथा ज्येष्ठ नागरिकको छाउपडीसम्बन्धी अन्तरक्रियामा भनेकी थिइन्, ‘आज छाउगोठ भत्काइन्छ, भोलि त्रिपाल टाँगेर छाउ बार्छन्, त्यसमाथि सात फिट हिउँ झरेको चिसो भुइँमा त्रिपाल टाँगेर बस्दा अरू महिलाले ज्यान गुमाउनु हुँदैन । खुला आकाशमुनि सुतेर कोही महिलाको ज्यान गए कसले जिम्मा लिने ?’

प्रतिनिधिसभाको संसदीय महिला तथा सामाजिक समितिले छाउगोठ भत्काउने अभियानमा सरकार निर्मम बन्नुपर्ने निर्देशन दिँदै आएको छ । सभापति निरुदेवी पालले मंगलबार शून्य समयमा बोल्दै असन्तुष्टि जनाउनेलाई छाउगोठमा बसेर देखाउन चुनौती नै दिइन् । उनले भनिन्, ‘डलरखेती गर्नेहरूबाट टाउको दुखाइ गर्नु स्वाभाविक हो किनभने ती घर देखाएर आयस्रोत बटुल्ने उहाँहरूको प्रयास थियो तर अरूको टाउको दुखाइ हुनुपर्ने कारण मैले बुझ्न सकेकी छैन ।’

कान्तिपुरसितको कुराकानीमा सभापति पालले वर्षौंदेखिको सचेतनाले समाधान नभएपछि मात्रै भौतिक संरचना भत्काउने अभियानमा लाग्नुपरेको बताइन् ।

दैलेखकी सांसद पार्वतीकुमारी विशंखे कुप्रथा हटाउन ‘एक्सन’मा जाँदा असन्तुष्टि आउनु स्वाभाविक भएको बताउँछिन् । ‘नेतृत्व तहले नै असन्तुष्टि जनाउनु जायज होइन, बरु समाजलाई बुझाउनुपर्‍यो,’ उनले भनिन्, ‘कुसंस्कारको अन्त्य गरी हाम्रो देश छाउगोठमय होइन, विश्वका सामु मर्यादित महिनावारी भएको राष्ट्र भन्ने पहिचान बनाउने अभियानमा सबैको ऐक्यबद्धता जरुरी छ ।’ छाउगोठ भत्काउन थालेपछि कर्णाली र सुदूरपश्चिमका महिलाले संवैधानिक व्यवस्थाअनुसार आत्मसम्मानसाथ बाँच्न पाउने आशा पलाएकाले निरन्तरता दिनुपर्ने उनको भनाइ छ । ‘पहिले एकल महिलाले बाटो काट्दा साइत बिग्रिन्छ भन्ने अन्धविश्वास थियो,’ उनले थपिन्, ‘अहिले एकल महिला नै राष्ट्रपति भएको त देशविदेशले स्वीकार गरेको छ नि ।’

७९ सय छाउगोठ भत्काइए
सरकारले डेढ महिनामा सुदूरपश्चिम र कर्णाली प्रदेशका १० जिल्लामा ७ हजार ९ सय १ छाउगोठ भत्काएको छ । महान्यायाधिवक्ताको कार्यालयका अनुसार सबैभन्दा बढी अछाममा ५ हजार ४ सय ६० छाउगोठ भत्काइएका छन् । सुर्खेतमा १ हजार ३ सय ६१, बाजुरामा ३ सय ३५, डोटीमा ३ सय १७, दैलेखमा २ सय ५०, बझाङमा १ सय ३५, कालीकोटमा २०, जाजरकोटमा १४, हुम्लामा ७ र सल्यानमा २ गोठ भत्काइएका छन् ।

अछामको साँफेबगर–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको गत मंसिर १७ मा छाउगोठमा सुतेकै अवस्थामा मृत्यु भएपछि सरकारले छाउगोठ भत्काउने अभियान सुरु गरेको थियो । ‘छाउगोठमा बसेकै कारण ज्यान गइरहेकाले डेन्जर जोनमा रहेकालाई सेफ जोनमा ल्याउन अभियान चलाइएको हो,’ महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले भने । उनले यो वर्ष सुदूरपश्चिम र कर्णालीमा बाँकी रहेका सबै छाउगोठ भत्काइसक्ने बताए ।

मुलुकी अपराध संहिता ०७४ को दफा १६८ (३) मा रजस्वला र सुत्केरी भएकी महिलालाई छाउगोठमा राख्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने भनिएको छ । पार्वतीको छाउगोठमा मृत्यु भएपछि उनका जेठाजु छत्र रावतलाई जिल्ला अदालत अछामले ४५ दिन कैद सजाय फैसला गरेको थियो । ‘यो घटना छाउपडी कसुर लागू गरिएको पहिलो हो,’ महान्यायाधिवक्ता खरेलले भने, ‘छाउपडीविरुद्ध कसैको पनि जाहेरी नपर्ने हुँदा प्रहरी, प्रशासन चुपचाप बस्नुपर्ने स्थिति थियो । अब त्यस्तो हुँदैन । प्रहरी प्रतिवेदनलाई नै प्रमाण मानेर कारबाही अघि बढाइन्छ ।’ मानवअधिकार आयोगले ‘छाउपडी प्रथाले महिलाको जीवनमा पारेको प्रभावबारे ०७५’ को एक अध्ययनमा ०६४ को निर्देशिका जारी भएदेखि ०७४ सम्म १० वर्षको अवधिमा महिनावारी भएका बेला असुरक्षित र अनुपयुक्त छाउगोठमा बस्दा करिब १३ महिलाले ज्यान गुमाउनुपरेको उल्लेख छ ।

महान्यायाधिवक्ताको अध्यक्षतामा बनेको पाँच सदस्यीय केन्द्रीय समन्वय समितिले पार्वतीको मृत्युपछि छाउगोठ भत्काउने अभियान अघि सारेको थियो । समितिमा गृह सचिव, कानुन सचिव, प्रहरी महानिरीक्षक र नायब महान्यायाधिवक्ता छन् । महान्यायाधिवक्ता खरेलले पुस ७ मा गृह सचिव, प्रहरी महानिरीक्षक, छाउपडी प्रभावित जिल्लाका सरकारी वकिल तथा प्रहरी प्रमुखलाई भेला गराएर छाउपडी बस्न बाध्य गराउने र बस्नेलाई कानुनको दायरामा ल्याई कारबाही गर्न निर्देशन दिएका थिए । गृह मन्त्रालयले भोलिपल्टै (पुस ८ मा) प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सरकारी वकिल कार्यालयका प्रमुख र जिल्ला प्रहरी प्रमुखसहितको तीन सदस्यीय संयन्त्र गठन गरी छाउगोठ नष्ट गर्ने ८ बुँदे निर्देशन दिएको थियो । छाउपडी प्रथालाई निरन्तरता दिनेलाई वृद्ध भत्ता, सामाजिक सुरक्षा भत्ता, सहुलियत कर्जामा रोक्का गर्नेसमेत भनिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयहरूमा मुलुकी अपराध संहिताअनुसार कानुनी कारबाहीका लागि कसैको जाहेरी नकुर्न आदेश पनि दिइएको थियो ।

सुदूरपश्चिम र कर्णालीका कञ्चनपुर, कैलाली, जुम्ला, डडेलधुरा, डोल्पा, दार्चुला, बैतडी, मुगु र रुकुम पश्चिम गरी ९ जिल्लामा भने छाउगोठ नभेटिएको महान्यायाधिवक्ता कार्यालयको रिपोर्ट छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले सरोकारवालाको रोहबरमा छाउपडी उन्मूलन गतिविधि अघि बढाइरहेको जनाउँदै यसले समाजमा सकारात्मक जागरण आउने विश्वास गरे । ‘कोही छाउपडी बसेको वा बसाइएको पाइए जुनसुकै बेला गृहले एक्सन लिन्छ,’ उनले भने । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले छाउपडीविरुद्धको केन्द्रीय समन्वय समितिको अभियानलाई सफल पार्न मन्त्रालयले सचेतनाका गतिविधिलाई प्रभावकारी बनाउन कुनै कसरबाँकी नराख्ने बताए ।

प्रकाशित : माघ २३, २०७६ ०८:३३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सत्ताको बाँसुरीमा मग्‍न प्रतिपक्ष

हाम्रो देशको राजनीति पनि गज्जब छ । आजका मितिमा प्रमुख प्रतिपक्षी दलका कारण नेपाल सरकारले कुनै समस्या भोग्‍नु परेको छैन ।
किशोर नेपाल

देश अहिले तमासामय भएको छ । सत्ता पक्षका अनावश्यक विचरणले पनि र प्रतिपक्षको खुम्चिँदो हैसियतले पनि । नेपाल कम्युनिस्ट पार्टीको मूल प्रवाहका तीन नेता अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, वरिष्ठ नेता माधव नेपाल र अर्कार् वरिष्ठ नेता झलनाथ खनाल संगीतमय सन्ध्यामा मस्त देखिएका छन् । यो राम्रो कुरा हो । देशका मुख्य नेताहरू खैंजडी बजाइरहेका छन् भने यसलाई समृद्धिको संकेत मान्नुपर्छ । यति बेला देशमा कुनै समस्या छैन ।

उता, कोरोना भाइरसबाट जोगिन चीनबाट स्वदेश फर्किन चाहने विद्यार्थी वुहानमा पर्खेको पर्ख्यै छन् । यता, विमानका कप्तानहरू चीनतिर उडान भर्ने आदेशको पर्खाइमा छन् । हतार सबैतिर छ । तर, बालुवाटारको उचाइमा बसेर निर्धक्क बाँसुरी बजाउँदै छन्, प्रधानमन्त्री ओली । उनका मित्रहरू सारंगी रेट्दै छन् । यस्तोमा कसले के भन्न सक्छ ?

हामी नेपाली पहाड, पर्वत र हिमालका उचाइमा बाँचेका प्राणी हौं । उचाइ नभई हामी बाँच्नै सक्दैनौं । ऐतिहासिक मानिएको धरहरा काठमाडौं खाल्डोको उचाइ थियो । सहरमा त्योभन्दा अग्ला गगनचुम्बी घरहरू बनिसके पनि पुर्ख्यौली सान थियो धरहरा । एउटा यस्तो प्रतीक, जसको उपयोगिता अतीतका चलनलाई वर्तमानमा सक्रिय राख्नुबाहेक केही थिएन । पुर्ख्यौली शासकहरूको सान, हाम्रो गौरव । धरहराको बार्दलीबाट बिगुल बजेपछि काँठदेखि सहरसम्मका मानिस टुँडिखेलमा हुकुम सुन्न कुद्नैपर्ने बाध्यता । भन्छौं हामी, देश आधुनिक भैसकेको छ । तर, हामी इतिहासमा बाँच्न छाडेका छैनौं । हामी भूतका कथामा बाँच्न अभिशप्त छौं । साँच्चै, लेखक कुमार नगरकोटीको कल्पनामा आएको ‘घाटमान्डु’ मा परिणत हुँदै छौं हामी । खालि पात्रहरूको फेरबदल मात्र भएको छ । बाँकी सबै यथास्थिति छ, अर्थात् उहिलेको स्थिति ।

हाम्रो देशको राजनीति पनि गज्जब छ । आजका मितिमा प्रमुख प्रतिपक्षी दलका कारण नेपाल सरकारले कुनै समस्या भोग्नुपरेको छैन । सरकारलाई प्रतिनिधिसभामा दुईतिहाइको समस्या छ कि छैन, त्यो हेर्नुपरेको छैन । त्यतापट्टि सरकारले ध्यानै दिनुपरेको छैन । ‘लोकतन्त्रका लागि सरकारसँंग सहमतिमा रहेर’ बाँकी कुरामा असहमति देखाउन सक्ने प्रतिपक्ष कहिले पनि विपक्ष हुँदैन । प्रधानमन्त्री ओलीले पटक–पटक नेपाली प्रेसको जुँगा उखेल्ने प्रयत्न गरिसकेका छन् । कसै गर्दा पनि प्रेसले उनको पट्टु नपढेपछि उनले पछिल्लो भनाइमा आफूलाई सुधारेका छन् । भन्छन्— म आफै स्वतन्त्रताका लागि पचपन्न वर्ष लडेको मानिस; मलाई यसको महत्त्वको ज्ञान छ । त्यति ज्ञान त शेरबहादुर देउवा नेतृत्वको कांग्रेसमा पनि बचेको होला । नेपाल कम्युनिस्ट पार्टीले यति बेला समृद्धिको जतिसुकै राम्रो सपना बुने पनि अन्ततः लोकतन्त्रका प्रश्नमा उसको चिन्तन शैली साँंघुरिन्छ । यो स्वाभाविक हो । कांग्रेस नेतृत्वले यो कुरा बुझेको छैन वा बुझ्न चाहेको छैन ।

अहिलेका राजनीतिक तमासाहरूका बीचबाट निस्किएर नेपाली कांग्रेसको अतीत र यसका मार्गदर्शक बीपी कोइरालालाई सम्झिँदा लोकतन्त्रको भविष्यबारे चिन्तन गर्ने कोही पनि भावातिरेकमा डुब्छ । २०३६ सालको जनमत संग्रहलाई बीपी कोइरालाले जति लोकतन्त्रका पक्षमा प्रयोग गर्नुभयो, त्यति कसैले सोचेको थिएन । राजा वीरेन्द्रबाट जनमत संग्रहको घोषणापछि प्रजातन्त्रप्रति जस प्रकारको सकारात्मक वातावरणको निर्माण हुन थाल्यो, त्यो आफैमा अनुपम थियो । ठीक त्यसै बेला जनकपुरमा सम्पन्न भइरहेको नेवि संघको अधिवेशनमा बीपीले विमलेन्द्र निधिलाई अध्यक्षको उम्मेदवार बनाउनुभएको थियो । बीपीको यो निर्णयले त्यति बेलाका धेरै युवा नेतालाई आश्चर्यमा पारेको थियो । बीपीले त्यति बेलै सोच्नुभएको थियो— नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण कांग्रेसको आवश्यकता हो । तर, यो आवश्यकतालाई अहिलेसम्म कसैले बुझेको छैन वा बुझ्न खोजेको छैन । जनमत संग्रह सम्पन्न भएको दुर्ई वर्षपछि, २०३९ सालमा बीपीको निधन नभएको भए कांग्रेस अहिलेको गति र अवस्थामा हुने थिएन होला । बीपीले पार्टीलाई नेपालको नयाँ समाजको राजनीतिक र सामाजिक चाहना अनुरूप चलाउनुपर्ने आवश्यकतालाई बुझ्नुभएको थियो ।

बीपीले किन विमलेन्द्रलाई नै चुन्नुभयो ? त्यति बेला कांग्रेसको शीर्ष नेतृत्वमा बीपी, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई हुनुहुन्थ्यो । तर, बीपीका लागि सम्मानित नेता हुनुहुन्थ्यो— महेन्द्रनारायण निधि । समय–समयमा नेतृत्वको आलोचना गर्ने, गान्धीवादी र सच्चरित्र महेन्द्रनारायण निधिको व्यक्तित्व तत्कालीन प्रजातान्त्रिक राजनीतिमा हावी थियो । तर, बीपीले विमलेन्द्रलाई नेवि संघको अध्यक्षका रूपमा चयन गर्नुको कारण निधिजी मात्र हुनुहुन्नथ्यो । त्यति बेला विमलेन्द्रले दुई दर्जन वर्ष मात्र बिताएका थिए, जीवनको । नयाँ जिम्मेवारी उनका लागि पनि गम्भीर चुनौती थियो । नेपाली कांग्रेसका भ्रातृ संगठनहरूमा नेवि संघ नै सर्वाधिक चलायमान र प्रभावकारी संस्था थियो । बीपीको चाहना थियो— नेवि संघको सक्रियतामार्फत देशबाट राजनीतिक शून्यताको अवस्थालाई समाप्त पार्ने । बीपीले लिनुभएको राष्ट्रिय एकता र मेलमिलाप नीतिलाई नेवि संघमार्फत नै देशभर फैलाउन सकिन्थ्यो ।

अहिले विमलेन्द्र निधि कांग्रेसका सभापति शेरबहादुर देउवा र सभापतिका प्रतिपक्षी रामचन्द्र पौडेलका बीच भागबन्डामा परेको कांग्रेसका उपसभापति छन् । स्पष्ट शब्दमा भन्दा, उनी देउवा पक्षमा छन् । तर, कांग्रेसको आवश्यकतामा आफ्नो उपयोगिता प्रमाणित गर्न उनी चुक्दैनन् । सम्भवतः यही कारण हो, कांग्रेसीहरू बीपीका कान्छा छोरा शशांक, गणेशमान सिंहका कान्छा छोरा प्रकाश र महेन्द्रनारायण निधिका कान्छा छोरा विमलेन्द्र कांग्रेस पार्टीको नेतृत्व सम्हाल्न एक भएर अघि बढून् भन्ने चाहना राख्छन् । तर राजनीति यस्तो खेल हो, जहाँ चाहना राखेर मात्रै केही हुँदैन । विभिन्न क्याम्पमा बाँडिए पनि कांग्रेसभित्र नारायण खड्का, मीनेन्द्र रिजाल, ज्ञानेन्द्र कार्की, पूर्ण खड्का, बालकृष्ण खाँड, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, प्रकाश महत, एनपी साउद, गगन थापा लगायत वर्तमान समयका थुप्रै नेता र नेत्रीहरू नभएका होइनन् । तर, गुट वा क्याम्पको वृत्तबाट बाहिर नआएसम्म कांग्रेस पार्टीले उनीहरूबाट कुनै योगदान पाउन सक्ने देखिँदैन । विमलेन्द्रकै उदाहरणबाट कुरा सुरु गर्दा यति विचार पुर्‍याउनु आवश्यक छ, पार्टी उपसभापतिको जिम्मेवारी बोक्न उनले आफूलाई निकै खारेका छन् । निधि कांग्रेसका वैधानिक उपसभापति हुन् । त्यही कारण उनले सभापति देउवासँंग पटक–पटक मत बझाएका छन् ।

कांग्रेसीहरू चुनावमा बाटो बिराएर पराजित भएका थिएनन् । उनीहरूमा निकै बढी विचलन पनि थिएन । कांग्रेसलाई कमजोर पाएर वामपन्थीहरू खुसी हुनु पनि स्वाभाविक थियो । अहिले वामपन्थी कार्यकर्ताहरू कांग्रेसको पराजयमा खुसी भएका छन् र पनि देखाउनका लागि कांग्रेसप्रति बडो मायालु र भावुक भएका छन् । उनीहरूको कलमबाट कांग्रेसले कहाँ–कहाँ के–के गल्ती गरेको थियो, त्यसबारे विश्लेषणात्मक टिप्पणीहरू अनवरत आइरहेका छन् । अब अर्को चुनाव नआएसम्म यी कुरा दोहोरिएर, तेहरिएर प्रकाशित भैरहनेछन् । किनभने प्रत्येक राजनीतिक चाडपर्वका बेला कांग्रेसका विरुद्ध देशभक्तिका दर्जन गीत नबजाए कांग्रेसलाई हराउनुपर्ने वामपन्थीको कारण नै हराउँछ ।

वामपन्थी विश्लेषकहरूका अनुसार, कांग्रेसले चार–चार पटक सत्तामा पुगेर पनि जनताको विकासका नाममा केही गर्न सकेन । कांग्रेसले २०१५ सालमा पूर्ण बहुमत पाएको थियो । त्यति बेला पनि कांग्रेसले केही गर्न सकेन भन्न वामपन्थीहरूलाई लाज लाग्दैन । उनीहरूले मुखले स्पष्ट नभने पनि राजा महेन्द्रले बीपी कोइरालाको नेतृत्वको सरकारलाई ‘काम गर्न नसकेर हटाएको’ भन्न छाडेका छैनन् । यो नै हो, कम्युनिस्टहरूको प्रचार शैलीे । कम्तीमा पनि २०४६ सालको राष्ट्रिय जनआन्दोलनको सहयात्रीका रूपमा इतिहासलाई विकृत र विक्षिप्त बनाउने काम कसैले गर्नु नपर्ने हो । उनीहरू किन कांग्रेसका विरुद्ध खनिएका हुन् ? कसैले भन्न सक्दैन ।

कांग्रेसमा विश्लेषणात्मक क्षमता चुक्दै गएको छ । यो कुरा सबैले स्वीकार गर्नुपर्छ । सभापति देउवाको नेतृत्वमा नेपाली कांग्रेस हार्दै छ भन्ने इसारा धेरैले पाएका थिए । राजनीतिमा कसैले कसैबाट किन धोका पाउँछ भन्ने सोच्नु नै गलत हो । राजनीतिको खेल धोकाधडीको खेल मात्र होइन, तर धोकाधडीको खेल पनि हो । दुई वर्षअघिको चुनाव परिणामले यही कुरालाई इंगित गरेको छ । देउवाले आफ्नो राजनीतिक अंकुरण कहाँबाट भएको हो, त्यसलाई बुझ्न सके भने कांग्रेस बन्ने सम्भावना अनन्त छ । तर, हातका पाँच औंलामा लगाएका पाँच वटा रत्नजडित औंठी हेरेर गमक्क पर्दै आफू सात पटक प्रधानमन्त्री हुने कल्पनामा डुब्ने देउवाले त्यो अनन्त सम्भावनालाई हेरेर पनि बुझ पचाएका छन् । कांग्रेस त्यति बेलासम्म शक्तिशाली हुँदैन, जबसम्म देउवा र उनका पक्ष–विपक्षमा लागेका समकालीन कांग्रेसी नेताहरू किनारा लाग्दैनन् । समयले गलहत्याउनुभन्दा पहिले उनीहरू बाहिरिए राम्रो हुन्छ ।

प्रकाशित : माघ २३, २०७६ ०८:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×