ओजस्वी आवाजको विश्राम

काठमाडौँ — सिनेकर्मी नीर शाहलाई बुधबार बिहानै करेन्ट लागेजस्तो अनुभव भयो । आफ्ना समकक्षी पत्रकार दुर्गानाथ शर्माको निधन भएको खबर जसै उनका कानमा पर्‍यो, नेपाल टेलिभिजन सुरु गर्दा साथै बिताएका दिन स्मरण भए । 

ओजस्वी आवाजको विश्राम

‘आज म भयंकर शोकमा छु,’ साँझपख उनले भने, ‘देशले एउटा होनहार पत्रकार गुमाएको छ, मैले सबभन्दा आत्मीय मित्र गुमाएको छु ।’ अढाई दशकअघि नै ओपन हार्ट सर्जरी गराएका शर्मा केही दिनयता मुटुकै समस्याले पीडित थिए । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार राति लगिएका उनको ओजस्वी आवाजले बुधबार बिहान सदाका लागि विश्राम लिएको हो ।


यो खबर सुनेपछि नेपाल टेलिभिजनका समाचार निर्देशक राजु सिलवाललाई पनि नरमाइलो लाग्यो । ‘टेलिभिजनको स्मारिकाका लागि अस्ति भर्खरै एउटा लेख चाहियो भनेर मैले फोन गरेको थिएँ,’ ०४२ सालदेखि काम गरेर ०६२ मा अवकाश लिँदासम्म शर्माको नेतृत्वमा रिपोर्टिङ गरेका सिलवाल भन्छन्, ‘उहाँले नाइनास्ती नगरी लेखिपठाउनु पनि भयो । उहाँको कलम अन्तिमपटक टेलिभिजनकै लागि चल्न लेखेको रहेछ ।’ सिलवालसँग शर्मासँग बिताएका अनगिन्ती सम्झना छन् । ‘उहाँ सदैव प्रसन्न रहने, सानालाई सिकाउने र ठूलो पदमा पुगे पनि सरलताका साथ बोल्ने मानिस हुनुहुन्थ्यो,’ उनी भन्छन्, ‘नेपाल टेलिभिजनलाई स्थापित बनाउन उहाँको ठूलो भूमिका छ ।’ शर्माले पत्रकारिताका सबै विधा चहारे र उत्तिकै जमे पनि । इलामको बरबोटेमा ००४ सालमा जन्मेका शर्मा वरिष्ठ साहित्यकार तारानाथ शर्माका भाइ हुन् ।


दाजुको भाषाको विद्वत्ताबाट प्रभावित भएका दुर्गानाथले गोरखापत्रबाट पत्रकारिता सुरु गरेका थिए । दाजुझैं उनको कलममा पनि झर्रोवादी आन्दोलनको पुट पाइन्थ्यो, जसको झल्को गोरखापत्रमा उनका बाइलाइन छापिने समाचार र आलेखहरूमा हुन्थ्यो ।


‘उहाँ ज्यादै उच्च शिल्पका साथ सिनेमाको समीक्षा पनि गर्नॅहुन्थ्यो र मलाई त्यो साह्रै मन पर्थ्यो,’ आफूभन्दा उमेरले तीन वर्षले जेठा दुर्गानाथसँगका प्रारम्भिक दिन सम्झँदै नीर शाह भन्छन्, ‘०३५ सालमा हो क्यार, एक पटक उहाँले भर्खरै बनेको सिनेमा परालको आगोमाथि समीक्षा लेख्नुभयो, जुन पढेपछि मैले उहाँलाई पहिलो पटक भेटेको थिएँ ।’


त्यतिबेलासम्म शर्माले रेडियो नेपालमा समाचारवाचकका रूपमा पनि ख्याति कमाइसकेका थिए । नेपाल चलचित्र संस्थानले बनाउने वृत्तचित्रहरूमा सूत्रबोली प्रायः शर्माकै हुन्थ्यो । त्यसै समय राजा वीरेन्द्रले नेपालमा टेलिभिजनको सुरुवात गर्ने निर्णय गरे । ०४१ माघ १७ मा स्थापना भएको नेपाल टेलिभिजन परियोजनाका प्रमुख नीर शाह थिए ।

‘त्यतिबेला मलाई एक पत्रकारको खाँचो पर्‍यो र झ्वाट्ट दुर्गानाथजीको सम्झना हुन गयो,’ शाह सम्झन्छन्, ‘मैले उहाँलाई आग्रह गरेँ र उहाँ काजमा टेलिभिजन भित्रिनुभयो ।’


देशको पहिलो टेलिभिजनको समाचार शाखाको प्रमुख भएका दुर्गानाथ शर्मा मातहतमा वन्दना राणा, राजु सिलवाल, राजेन्द्रदेव आचार्य र रमा सिंहलगायतका केही रिपोर्टर थिए । ‘हामी सबलाई रिपोर्टिङ गर्ने काम उहाँले नै सिकाउनुभएको हो,’ वन्दना भन्छिन्, ‘मैले करिअरको सुरु नै एक प्रतिभाशाली मान्छेसँग गर्न पाएछु भन्ने कुरो काम थालेको केही पछि नै मलाई लाग्न थालेको थियो ।’


टेलिभिजनको परीक्षण प्रसारण भएका बेला राजा वीरेन्द्रको अस्ट्रेलिया भ्रमण हुँदा त्यसको रिपोर्टिङ गर्न शर्मा साथै गएका थिए । त्यसपछि राजाका प्रत्येक विदेश भ्रमणमा शर्माकै माग हुन थाल्यो । प्रजातन्त्रको पुनःस्थापनापछि भएका प्रत्येक प्रधानमन्त्रीले पनि आफ्नो विदेश भ्रमणमा नेपाल टेलिभिजनबाट दुर्गानाथलाई नै रोजी रोजी लगेको सम्झन्छन् सिलवाल । ‘बिनाकुनै टिपोटको सहारा धाराप्रवाह बोल्न सक्ने उहाँमा अद्भुत क्षमता थियो र जस्तै हालतमा पनि काम गर्न सक्नुहुन्थ्यो,’ सिलवाल भन्छन्, ‘विश्व घटना भन्ने कार्यक्रम साप्ताहिक रूपमा चलाउन थालेपछि त उहाँको प्रसिद्धि निकै बढ्यो ।’


सञ्चार जगतमा एकछत्र राज गरेको नेपाल टेलिभिजनको त्यस युगमा शर्मा कतिसम्म लोकप्रिय थिए भने उनलाई भेट्न र कुराकानी गर्न चाहनेको लामो सूची हुन्थ्यो तर उनी सरलतापूर्वक सबलाई भेट्ने र आत्मीयता प्रदर्शन गर्ने मामिलामा कहिल्यै झिँझो मान्दैनथे । एक पटक राजाले बंगलुरुबाट फर्कंदा प्लेनमा स्याम्पेन खुवाएछन् । खासै नपिउने स्वभावका शर्मा विमानस्थलमा आइपुग्दा केही बेसुरा थिए ।

‘तिनताक बेलुका ८ बजेको समाचार पढ्ने उहाँ र रमा सिंह मात्रै हुनुहुन्थ्यो । सिंह त्यस दिन बिरामी परेर आउन नसक्ने हुँदा अफिसले उहाँलाई बोलाउनुको विकल्प थिएन,’ सिलवाल भन्छन्, ‘त्यस हालतमा पनि उहाँ विमानस्थलबाट सिधै स्टुडियो छिर्नुभयो र समाचार पढेर मात्र घर फिर्नॅभयो ।’


त्यस दिन समाचार पढ्न थालेपछि उनको लरबरिएको चाल स्वतः ठीक भएको देखेपछि मात्रै पत्रकारिताप्रति शर्माको कति धेरै लगाव रहेछ भन्ने बुझ्न सकेको सिलवाल बताउँछन् ।

‘समाजमा पुरुषवादी सोच ज्यादा भएको त्यस समयमा पनि उहाँ महिलाहरूलाई विशेष हौसला दिनुहुन्थ्यो र अघि बढ्न उक्साउनुहुन्थ्यो,’ बन्दना राणा भन्छिन्, ‘सन् १९८७ मा काठमाडौंमा सार्कको उद्घाटन हुँदा नेपाल टेलिभिजनले सात देशमा पहिलो पटक प्रत्यक्ष प्रसारण गर्‍यो, जसमा नेपालीमा उहाँले र उहाँकै आग्रहमा अंग्रेजीमा मैले कमेन्ट्री गरेक थियौं ।’


प्रत्यक्ष प्रसारणको कुनै अनुभव नभएको त्यस समय आफू उमेरमा सानी र अनुभवले कनिष्ठ हुँदाहुँदै पनि शर्माले आडभरोसा दिएको हुनाले काम गर्ने ठूलो आँट पलाएको उनको अनुभव छ । ‘नेपाल टेलिभिजनलाई लोकप्रिय र हेर्न लायक बनाउन उहाँको धेरै ठूलो हात छ,’ उनी भन्छिन्, ‘यस्ता प्रतिभाशाली मान्छेको निधन भयो भनेको सुन्दा म मर्माहत भएकी छु ।’


समाचार शाखाको प्रमुखका रूपमा नेपाल टेलिभिजन प्रवेश गरेका शर्मा पछि विकास गरिएको समाचार महाशाखाको निर्देशक हुँदै ०५७ देखि ५९ मा महाप्रबन्धक पनि भए । त्यसपछि अवकाश पाएका उनी राजाको प्रत्यक्ष शासनका क्रममा ०६० देखि ६२ सम्म पुनः महाप्रबन्धक भएर टेलिभिजन आए ।


टेलिभिजनमा २० वर्ष र पत्रकारितामा ४० वर्षभन्दा बढी बिताएका शर्माले ०७३ मा आफ्ना स्मृतिहरू सँगालेर आत्मकथा ‘छाल’ प्रकाशित गरेका थिए । अवकाशपछिको जीवनमा पनि उनी निजी टेलिभिजनहरूमा कार्यक्रम प्रस्तोताका रूपमा सक्रिय नै रहे । एक श्रीमती र दुई छोराका पिता शर्मा काठमाडौंको एक निजी कलेजमा पछिल्ला वर्षमा पत्रकारिता पढाउने काम पनि गर्दै आएका थिए ।

प्रकाशित : माघ २३, २०७६ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?