नारायणहिटी दरबारमा बनेको गणतन्त्र स्तम्भ हटाउनुपर्छ : नेपाल 

जयसिंह महरा

काठमाडौँ — पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नारायणहिटी दरबार संग्रहालयमा निर्माण गरिएको गणतन्त्र स्मारक हटाउन माग गरेका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा नेपालले नारायणहिटी दरबार क्षेत्रमा त्यो क्षेत्रसँग सम्बन्धित विषयका संरचना मात्रै निर्माण गरिनुपर्ने बताए ।  

ZenTravel

नेपालले भने, 'नारायणहिटी दरबारका संरचना नेपालमा शासन गर्ने सिंगो शाह वंशको, व्यवस्थाको झल्किने हुनुपर्दथ्यो । त्यहाँ लगेर गणतन्त्र स्मारक बनाइयो । गणतन्त्र स्मारक नयाँ ठाउँमा बनाउनुपर्नेमा नारायणहिटीमा बनाइयो, त्यो गलत भएकाले हटाइ दिनुपर्छ ।'

Meroghar

नेता नेपालले गणतन्त्र र पछिल्लो व्यवस्था परिवर्तनको आन्दोलनसँग जोडिएका संरचना झल्किने गरी अर्कै ठाउँमा स्मारक बनाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुझाव दिएका छन् । 'गणतन्त्रको आन्दोलनसँग जोडिएको, संविधानको घोषणा, संघीयतामा प्रवेश गरेको इतिहासको झलक देखाउने अर्को स्मारक बनाउनुपर्छ,' नेपालले भने ।

मुलुकमा भएका आन्दोलनका झलक देखाउने संग्रहालय बनाउनु ठीक भए पनि दरबार संग्रहालयमा लगेर बनाउनु उपयुक्त नभएको नेपालको भनाइ थियो । नेपालमा रहेका सबै जातजातीको इतिहास झल्काउने संग्रहालयहरू मुलुकभर बनाउनुपर्ने उनले बताए ।

नारायणहिटी दरबार संग्रहालयमा व्यापारिक भवन र तारे होटल बनाउने कुरा सुनेको भन्दै नेता नेपालले त्यसो गरिए बर्बाद हुने बताए । मन्त्री योगेश भट्टराईसँग यस सम्बन्धमा चासो राख्दै उनले भने, 'नारायणहिटीमा कमर्सियल कम्प्लेक्स बनाउने र विश्वर स्तरको होटल बनाउने भन्ने सुनेको छु । बर्बाद पार्ने हो ?'

अहिलेजस्तै रहन दिन उनले आग्रह गरे । नेपालले भने, 'अहिलेको जस्तै रहन दिए हुँदैन । त्यस्तो हो भने त्योभन्दा विपत्तीको अवस्था केही पनि हुँदैन ।'
नेपाल भ्रमण वर्ष २०२० घोषणा गर्नु पहिला कति गृहकार्य भएको छ भन्ने विषयमा पनि नेपालले जिज्ञासा राखे । पर्यटक धेरै भित्र्याउने विभिन्न मुलुकका अनुभवको अनुसन्धान र अध्ययन गरेर त्यसको नेपालमा कार्यान्वयन गर्नुपर्ने सुझाव नेपालले दिए । पर्यटन नेपालको दीर्घकालीन आर्थिक स्रोत भएकाले त्यसमा जोड दिनुपर्ने उनको सुझाव थियो । 'नेपालको आम्दानीको महत्त्वपूर्ण माध्यम भनेको पर्यटन हो र यो दीर्घकालीन हुन्छ । नेपालको अर्थतन्त्रको मुख्य माध्यम पर्यटन हुनेछ ।

जलस्रोत भनिहरेका छौं तर त्यसमा सीमा हुन्छ । जलस्रोतले सिँचाइ र विद्युत उत्पादनका निम्ती हो । त्यसबाट माथि जाँदैन । पर्यटन भनेको त बढेको बढ्यै हुन्छ । त्यसैले पर्यटन हाम्रो देशको अर्थतन्त्रको मुख्य मेरुदण्ड र इन्जिनको रूपमा रहेको हुनाले गम्भीर ध्यानाकर्षण हुन जरुरी छ ।'

प्रकाशित : माघ २२, २०७६ १३:४५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

रामापुर माविमा ‘तँ’ भन्‍न नपाइने 

सन्जु पौडेल

रुपन्देही — रुपन्देहीको सैनामैना नगरपालिका ६ कलौनीमा रहेको रामापुर माध्यमिक विद्यालयमा ‘तँ’ भन्‍न नपाइने भएको छ । मंगलबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले ‘तँ’ भन्‍न नपाइने निर्णय गरेको प्रधानाध्यापक कृष्ण प्रसाद पौडेलले बताए ।

नयाँ व्यवस्थापन समितिको पहिलो बैठकले विद्यार्थीप्रति शिक्षकले गर्ने व्यवहार बोलीमै निर्भर हुने भएकाले बोली सुधार्न ‘तँ’ भन्‍न नपाइने अभियान सुरु गर्ने नर्णिय गरेको प्रधानाध्यापक पौडेलले बताए।शिक्षकको अनुशासनले विद्यार्थीमा असर पर्ने भन्दै उनले असल शब्दको प्रयोग गर्न सुरुवात गरिने बताए।

विद्यालयको यो निर्णयको प्रशंसा गर्नुपर्ने अभिभावक गीता पाण्डेले बताइन्। ‘अभिभावकलाई समेत विद्यालयमा बोलाएर घरबाटै ‘तँ’ शब्‍दको प्रयोग हटाउन लगाउनुपर्छ,’ उनले भनिन्, ‘यो अभियानकै रुपमा अघि बढे कार्यान्वयन हुन्छ।’ सामुदायिक विद्यालयमा तपाई‌ भन्‍ने संस्कार बसाल्दा विद्यार्थी र शिक्षकबीचको दूरी घट्‍ने बताइन। उनले घरमै सिकाइने बोली विद्यालयमा देखिने भएकाले छोराछोरीलाई राम्रो बोल्न सिकाउनु अभिभावकको कर्तव्य भएको बताइन्।

प्रयोग गरिरहेको शब्द एक्कासि छोड्‍न अफ्ठ्यारो लागेपनि नियम भएपछि सकिने कक्षा ९ मा अध्ययनरत मुना गौतमले बताइन्। ‘अब शिक्षकसँग पनि साथीसरह घुलमिल हुन पाइने भयो,’ उनले भनिन्, ‘‘तँ’ भनेर सर मेडमले सम्बोधन गर्दा पनि डर लाग्थ्यो, त्यो हट्‍ने भयो।’ उनले तिमी र तपाई‌ंको प्रयोगले सम्मानको व्यवहार र अनुशासन सिकाउने बताइन्।

विद्यालयको व्यवस्थापन समिति मंगलबारमात्रै नयाँ गठन भएको थियो। नयाँ व्यवस्थापन समितिका अध्यक्ष जिवन ज्ञवालीले आफू र समिति निर्णयमा प्रतिबद्ध रहेको बताए। ‘विद्यालयमा सभ्य भाषाको प्रयोग भए समाज परिवर्तन हुन्छ,’ उनले भने, ‘यो अभियानमा म र टिम सफल हुनेगरी लाग्‍नेछौं।’ उनले सामुदायिक विद्यालयप्रतिको हेराइ, भाषा र शब्दले समेत परिचित गराउने हुँदा कार्यान्वयनमा अबिलम्ब लाग्‍ने बताए।

निजी सरह बोलीकै माध्यमबाट पनि विद्यार्थीलाई अनुशासनमा अघि लैजाने उनले बताए। शिक्षकलाई व्यवस्था पनि समितिको निर्णयबारे जानकारी दिन र लागू गराउन विद्यालयले बुधवार शिक्षक र नवगठित समितिबीच छलफल गरेको छ। छलफलपश्‍चात अब शिक्षक र विद्यार्थी दुबैले 'तँ' शब्दको प्रयोग गर्ने छैनन्।

प्रकाशित : माघ २२, २०७६ १३:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×