रामापुर माविमा ‘तँ’ भन्न नपाइने
रुपन्देही — रुपन्देहीको सैनामैना नगरपालिका ६ कलौनीमा रहेको रामापुर माध्यमिक विद्यालयमा ‘तँ’ भन्न नपाइने भएको छ । मंगलबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले ‘तँ’ भन्न नपाइने निर्णय गरेको प्रधानाध्यापक कृष्ण प्रसाद पौडेलले बताए ।
नयाँ व्यवस्थापन समितिको पहिलो बैठकले विद्यार्थीप्रति शिक्षकले गर्ने व्यवहार बोलीमै निर्भर हुने भएकाले बोली सुधार्न ‘तँ’ भन्न नपाइने अभियान सुरु गर्ने नर्णिय गरेको प्रधानाध्यापक पौडेलले बताए । शिक्षकको अनुशासनले विद्यार्थीमा असर पर्ने भन्दै उनले असल शब्दको प्रयोग गर्न सुरुवात गरिने बताए ।
विद्यालयको यो निर्णयको प्रशंसा गर्नुपर्ने अभिभावक गीता पाण्डेले बताइन् । ‘अभिभावकलाई समेत विद्यालयमा बोलाएर घरबाटै ‘तँ’ शब्दको प्रयोग हटाउन लगाउनुपर्छ,’ उनले भनिन्, ‘यो अभियानकै रुपमा अघि बढे कार्यान्वयन हुन्छ ।’ सामुदायिक विद्यालयमा तपाई भन्ने संस्कार बसाल्दा विद्यार्थी र शिक्षकबीचको दूरी घट्ने बताइन । उनले घरमै सिकाइने बोली विद्यालयमा देखिने भएकाले छोराछोरीलाई राम्रो बोल्न सिकाउनु अभिभावकको कर्तव्य भएको बताइन् ।
प्रयोग गरिरहेको शब्द एक्कासि छोड्न अफ्ठ्यारो लागेपनि नियम भएपछि सकिने कक्षा ९ मा अध्ययनरत मुना गौतमले बताइन् । ‘अब शिक्षकसँग पनि साथीसरह घुलमिल हुन पाइने भयो,’ उनले भनिन्, ‘‘तँ’ भनेर सर मेडमले सम्बोधन गर्दा पनि डर लाग्थ्यो, त्यो हट्ने भयो ।’ उनले तिमी र तपाईंको प्रयोगले सम्मानको व्यवहार र अनुशासन सिकाउने बताइन् ।
विद्यालयको व्यवस्थापन समिति मंगलबारमात्रै नयाँ गठन भएको थियो । नयाँ व्यवस्थापन समितिका अध्यक्ष जिवन ज्ञवालीले आफू र समिति निर्णयमा प्रतिबद्ध रहेको बताए । ‘विद्यालयमा सभ्य भाषाको प्रयोग भए समाज परिवर्तन हुन्छ,’ उनले भने, ‘यो अभियानमा म र टिम सफल हुनेगरी लाग्नेछौं ।’ उनले सामुदायिक विद्यालयप्रतिको हेराइ, भाषा र शब्दले समेत परिचित गराउने हुँदा कार्यान्वयनमा अबिलम्ब लाग्ने बताए ।
निजी सरह बोलीकै माध्यमबाट पनि विद्यार्थीलाई अनुशासनमा अघि लैजाने उनले बताए । शिक्षकलाई व्यवस्था पनि समितिको निर्णयबारे जानकारी दिन र लागू गराउन विद्यालयले बुधवार शिक्षक र नवगठित समितिबीच छलफल गरेको छ । छलफलपश्चात अब शिक्षक र विद्यार्थी दुबैले 'तँ' शब्दको प्रयोग गर्ने छैनन् ।
प्रकाशित : माघ २२, २०७६ १३:२८