कोरोना भाइरसको प्रभाव नेपाल भ्रमण वर्षमा, चिनियाँ पर्यटकको विकल्प खोजिँदै

जयसिंह महरा

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री योगेशकुमार भट्टराईले चीनमा कोरोना भाइरसको प्रकोप फैलिएपछि नेपाल भ्रमण वर्ष २०२० मा प्रभाव पर्ने बताएका छन् । उनले चीनबाट पर्यटक कम आउने भएकाले मन्त्रालयले पर्यटन मार्केटको खोजी सुरु भएको बताए ।

कोरोना भाइरसको प्रभाव नेपाल भ्रमण वर्षमा, चिनियाँ पर्यटकको विकल्प खोजिँदै

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा मन्त्री भट्टराईले चीनमा कोरोना भाइरसको प्रकोप फैलिनु पहिले त्यहाँबाट नेपालमा ५ लाख पर्यटक आउने अपेक्षा गरिएको र अहिले त्यसमा कमी हुने आँकलन भएको बताए ।'कोरोना भाइरसको वैकल्पिक मार्केटहरूको खोजी भइरहेको छ । यसबारेमा सम्बन्धित सरोकारवाला निकायहरूसँग बस्यौँ । चीनबाट हामीले नेपाल भ्रमण वर्ष २०२० मा ५ लाख पर्यटक आउने अनुमान गरेका थियौँ । गएको वर्ष झन्डै २ लाख आएका थिए,' मन्त्री भट्टराईले भने, 'त्यसमा बढाएर ५ लाख पुर्‍याउने लक्ष्य थियो र विभिन्न चिनियाँ एजेन्सीहरूले साथ दिइराख्नुभएको थियो । त्यो ठूलो मार्केट थियो । कोरोना भाइरसलाई ध्यान दिँदै नेपाल भ्रमण वर्षलाई घाटा भयो भने परिपूर्ति कहाँबाट गर्ने भनेर अन्य मार्केट खोजी गर्नको निम्ती मन्त्रालयले फोकल पर्सन तोकेको छ ।'

चीनको विकल्पमा कहाँबाट पर्यटक ल्याउन सकिन्छ भनेर संस्कृति पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, नेपाल पर्यटन बोर्डका सीईओ र पर्यटन विभागको महानिर्देशकलाई फोकल पर्सन तोकिएको मन्त्री भट्टराईले जानकारी दिए ।

चीनले कोरोना भाइरस नियन्त्रणका लागि प्रयास गरिरहेको र नेपालस्थित चिनियाँ दूतावासले भ्रमण वर्षको सहयोग गर्न सहकार्य गरिरहेको भट्टराईले बताए ।

नेपाल भ्रमण वर्षको तयारी नपुगेको हो कि भनेर सांसदहरूले चिन्ता व्यक्त गरेका थिए । जवाफमा मन्त्री भट्टराईले मुलुकभित्र र बाहिर रहेका निकायसँग छलफल जारी रहेको बताए । उनले भ्रमण वर्ष २०२० मात्रै होइन २०३० सम्मको लागि कार्ययोजना बनाउने तयारी भइरहेको बताए ।

नेपालमा कोरोना भाइरसका संक्रमित नभएको र एयरपोर्टदेखि सबै ठाउँमा उच्च सतर्कता अपनाइएको भट्टराईले जानकारी दिए । उनले नेपालमा कोरोना भाइरस नभएको भन्ने कुराको प्रचारप्रसार गर्न पनि सांसदहरूलाई आग्रह गरेका थिए ।

भ्रमण वर्षको लागि सरकारले साधनस्रोत र जनशक्ति बढाउने तयारी गरिरहेको बताए । भौतिक पूर्वाधार निर्माण, विमानस्थलको सुधार र सरसफाइमा पर्याप्त ध्यान दिइएको उनले बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयभन्दा पहिल्यै निर्माण सम्पन्न हुने गरी काम भइरेको उनले बताए । तराईको राजविराज बाहेकका विमानस्थल रात्रिकालिन उडानका लागि तयार रहेको बताए ।

नेताको प्रभावमा काम लिने तर काम नगर्नेको सम्झौता रद्द गर्ने

नेतालाई प्रभावमा पारेर काम लिने तर सेवा नदिनेको सम्झौता रद्द गर्ने मन्त्री भट्टराईले जानकारी दिए । अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी सञ्चालनको ठेक्का लिएको तर प्रभावकारी रूपमा सेवा नदिएको भन्ने सांसदहरूको असन्तुष्टिमा मन्त्री भट्टराईले भने, 'हिजो पार्टी नेतालाई अनावश्यक प्रभावमा पारेर फाइदा लिने काम भए । अब त्यस्तो हुन्न । उनीहरूलाई काम गर्ने भए गर्नुस् नभए सम्झौता रद्द गर्छु भनेको छु ।

यसअघि नेपाल वायुसेवा निगमका प्रमुख मदन खरेललाई हटाइएको सन्दर्भमा मन्त्री भट्टराईले यस्तो बताएका हुन् । उनले मन्त्रालय मातहतका निकायमा कुनै नेताको प्रभावमा आएर जागिर खानेभन्दा पनि सेवा दिन आउनेलाई प्राथमिकता दिइने बताएका हुन् ।

खरेल प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रभावमा पारेर वायुसेवा निगमको प्रमुख भएका थिए । उनले काम गर्न नसकेपछि राजीनामा दिएर अष्ट्रेलिया गएका छन् ।

प्रकाशित : माघ २२, २०७६ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?