कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कसले भन्लान् उनी जसरी  ‘सोजाक’ ?

एकमात्र जानकार वृद्धाको निधनपछि कमला कुसुन्डासँग दोहोरो संवाद गर्ने कोही छैनन् । संसारका अरू भाषा परिवारभन्दा पृथक् यो भाषा अब कसरी जोगिएला भन्नेमा भाषासेवी चिन्ता गर्छन् ।
दुर्गालाल केसी

दाङ — सोध्दै खोज्दै कोही घरमा पुग्यो कि ज्ञानीमैयाँ कुसुन्डा दुवै हात जोडेर ‘सोजाक’ (नमस्कार) भनिहाल्थिन् । कुसुन्डा भाषाका शब्दका अर्थ लगाउन थाल्थिन् । भाषा र भविष्यको चिन्ता गर्ने उनी भन्थिन्, ‘मपछि यो भाषा कसरी बाँच्ला ?’ यही चिन्ताका बीच उनी गत माघ ११ मा बितिन् ।

कसले भन्लान् उनी जसरी  ‘सोजाक’ ?

८२ वर्षको उमेरमा उनको लमही–६, कुलमोहरस्थित घरमा निधन भएको हो । उनको अवसानपछि कुसुन्डा भाषाको भविष्यप्रति भाषासेवीहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । अब कुसुन्डा भाषाको ज्ञान भएकी ज्ञानीमैयाँकी काकाकी छोरी ४२ वर्षीया कमला कुसुन्डा मात्रै बाँकी छिन् । लमहीको एक होटलमा काम गरेर जीविका चलाइरहेकी कमला जब ज्ञानीमैयाँलाई भेट्थिन्, दोहोरो कुराकानी कुसुन्डा भाषामै हुन्थ्यो । दुवै मिलेर भाषाको कक्षा पनि चलाएका थिए । अब कमलासँग कुसुन्डा भाषामा दोहोरो संवाद गर्ने अरू कोही छैन ।


‘ज्ञानीमैयाँ आधिकारिक र सबै ज्ञान भएकी पूर्ण वक्ता थिइन् । उनी जति ज्ञान अरूमा थिएन,’ कुसुन्डा भाषाका अध्येता नेपाल संस्कृत विश्वविद्यालय नेपाली विषयका उपप्राध्यापक टीकाराम उदासीले भने, ‘अब आंशिक वक्ता छन्, तर दोहोरो कुरा गर्ने मान्छे नभएपछि भाषा बच्न गाह्रो छ ।’ कुसुन्डा भाषाको आफ्नै लिपि र कुनै लिखित दस्तावेज नभएका कारण मृत भाषा मानिने जोखिम रहेको उनको भनाइ छ । उदासीले गत वैशाखमा भाषा आयोग र विश्वविद्यालयको सहकार्यमा कुसुन्डा भाषाको अध्ययन गरेर इतिहास, शब्द संकलन र वर्ण निर्धारणका काम गरेका थिए । १ हजार ३ सयभन्दा बढी शब्द संकलन गरेको र आयोगले भाषिक इतिहासको पुस्तक नै छापेको उनले बताए । विश्वका भाषा परिवारमध्ये नेपालमा चार परिवारका भाषा प्रयोगमा छन् । तीमध्ये कुसुन्डा कुनै पनि भाषा परिवारमा नपर्ने उदासीले बताए । ‘कुनै परिवारमा नपरेकाले यसलाई भाषाशास्त्रीले एकल परिवारमा राखेका छन्,’ उनले भने, ‘अरू भाषाभन्दा यो नितान्त भिन्न छ । कुनैसँग पनि नमिलेकाले यसको अझ बढी महत्त्व छ ।’


कुसुन्डा भाषाका बारेमा नेपाली र विदेशी अनुसन्धानकर्ताहरूले धेरै पक्षबाट अध्ययन गरेका छन् । उदासीका साथै बाबुराम आचार्य र उदयराज आलेले तयार पारेको ‘कुसुन्डा भाषाको ऐतिहासिक अवस्था’ प्रतिवेदनमा हालसम्म भएका अध्ययनको समीक्षा छ । उक्त प्रतिवेदनअनुसार सर्वप्रथम बेलायती अनुसन्धानकर्ता ब्राइन एच हड्सनले सन् १८१८ मा कुसुन्डा भाषाको अध्ययन गरेको देखिन्छ । उनले १ सय १३ वटा शब्द र १० वटा वाक्य बनाएर सन् १८५७ मा पहिलोपटक सार्वजनिक गरी कुसुन्डा भाषाको परिचय गराएका थिए । त्यसपछि अस्ट्रियन मानवशास्त्री जोहान राइन हार्डले सन् १९६८ मा ‘अ प्रिलिमिनरी लिङ्ग्विस्टिक एनालाइसिस एन्ड भोकाबुलरी अफ द कुसुन्डा ल्याङवेज’ नामको पुस्तक सार्वजनिक गरे । डेभिट वाटर्सले सन् २००५ मा ‘नोट्स अन कुसुन्डा ग्रामर : अ ल्याङवेज आइसोलेटेड अफ नेपाल’ मा कुसुन्डा भाषाको व्याकरणको विश्लेषण गरेका छन् ।


समाजशास्त्री डोरबहादुर विष्टको विसं २०३४ मा प्रकाशित ‘सबै जातको फूलबारी’ पुस्तकमा कुसुन्डा जातिका बारेमा उल्लेख छ । भाषाशास्त्री चूडामणि बन्धुले विसं २०६६ मा गरिमा र २०६९ मा मिर्मिरे पत्रिकामा कुसुन्डा भाषाबारे लेख प्रकाशन गरेका थिए । अस्ट्रेलियन प्राध्यापक मार्क डोनोहुईले पनि नेपाली भाषाशास्त्रीसँग मिलेर सन् २०१३ मा कुसुन्डा भाषाको अध्ययन प्रतिवेदन सार्वजनिक गरेका छन् । बीके रानाले सन् २००२ मा अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा कुसुन्डा भाषासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । दाङका अध्येता उदयराज आलेले तीन वर्षअघि ‘कुसुन्डा जाति र शब्दकोश’ पुस्तक प्रकाशित गरेका छन् ।


‘संसारका भाषा परिवारमध्ये कुसुन्डा सबैसँग फरक छ । यदि यो भाषा हरायो भने एउटा महत्त्वपूर्ण सम्पत्ति हराउँछ,’ भाषाविद् डा. माधवप्रसाद पोखरेल भन्छन्, ‘त्यसकारण बचाउन सरकारको ध्यान जानै पर्छ ।’ आफैं र विभिन्न विदेशी अनुसन्धानकर्ताहरूसँग मिलेर कुसुन्डा भाषाबारे लामो अध्ययन गरेका पोखरेल ज्ञानीमैयाँलाई कुसुन्डा भाषाको अन्तिम वक्ता मान्न भने तयार छैनन् । ‘राजामामाको निधन हुँदा उनी नै कुसुन्डा भाषाको अन्तिम वक्ता भनेर मिडियामा प्रचार गरियो । राजामामाभन्दा पनि उनकी आमासँग धेरै ज्ञान थियो । छोराले केही सिकेका मात्र थिए,’ उनले भने, ‘अहिले पनि ज्ञानीमैयाँलाई अन्तिम वक्ता भनिएको छ । तर ज्ञानीमैयाँ होइन अन्तिम वक्ता, कमला हुन् ।’


कमलाले आमा पुनी ठकुरीसँग रोल्पामा बसेर लामो समयसम्म भाषा बोलेको उनले बताए । २०६७ सालमा आमाको निधन भएपछि मात्रै कमलाले दोहोरो कुरा गर्न छाडेको उनको भनाइ छ । ‘लामो समय आमासँग दोहोरो कुरा भएकाले उनीसँग धेरै ज्ञान छ । अझै पनि उनीबाट भाषा बचाउन सकिन्छ,’ उनले भने, ‘उनका सहायताले भाषाको अभिलेखीकरण गर्न सकिन्छ । आफ्नो मातृभाषा बोल्न नसक्ने कुसुन्डाहरू धेरै छन्, उनीहरूलाई पनि सिकाउन सकिन्छ ।’

कुसुन्डा भाषामै बर्बराउँछिन् उनी

पहिले ज्ञानीमैयाँ र कमला पनि आपसी सम्पर्कमा थिएनन् । कुसुन्डा भाषा बोल्नेहरू पनि छन् भन्ने थाहा पाएर पहिलोपटक जनजाति प्रतिष्ठानले काठमाडौंको कीर्तिपुरमा ज्ञानीमैयाँ, कमला र घोराही अम्बापुरका प्रेमबहादुर शाहीलाई ल्याएर भाषाबारे छलफल गरेको पोखरेलले बताए । ‘तीन महिनासम्म कीर्तिपुरमा राखेपछि उनीहरूको आपसी नाता पनि थाहा भयो । एकले नजानेको भाषा अर्कोलाई सिकाउने काम पनि भयो,’ उनले भने ।


मातृभाषामा दोहोरो कुरा गर्नेहरू र एकीकृत बस्ती पनि नभएका कारण कुसुन्डा भाषा हराउँदै जाने जोखिम बढेको कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डाले बताए । ‘यो भाषाको प्रशिक्षण, कक्षा र लिखित सामग्री नभए अस्तित्व नै हराउन सक्छ,’ उनी भन्छन्, ‘अहिले नयाँ पुस्ताले सिकिरहेको छैन । कुसुन्डाको बसोबास एक ठाउँमा पनि छैन । अनि कसरी भाषा बच्छ ?’


ज्ञानीमैयाँ कुसुन्डा भाषाको प्रखर वक्ता भएकाले अब त्यस्तो मानिसको अभाव खड्किने भाषा आयोगका अध्यक्ष लवदेव अवस्थी बताउँछन् । ‘व्याकरणको पूर्ण रूप र शब्द संग्रह गर्ने योजना छ । नयाँ पुस्तालाई कक्षा दिएर भाषा बचाउन सकिन्छ,’ उनले भने, ‘कमला हुँदासम्म अझै पनि भाषा बचाउन सकिने आशा बाँकी छ ।’


कुसुन्डा विगतमा समूह बनाएर वनमा तरुल खन्ने, धनुकाँड बोकेर सिकार खेल्ने र गाउँबाट भिक्षा संकलन गरेर खाने गर्थे । उनीहरू ‘वनराजा’ र ‘वनकरिया’ भनेर पनि चिनिन्छन् । कुसुन्डाहरूमा राउटेको जस्तै मुखिया प्रथा थियो । मुखियाकै नेतृत्वमा समूह बनाएर जंगल हिँड्थे । सिकार गरेपछि गाउँमा लिएर जान्थे र अनाजसँग साट्थे । जंगलको असुरक्षित बसाइ भएकाले भीर, रूखबाट लडेर, बिरामी भएर धेरैको मृत्यु भएपछि संख्या घट्दै गएको थियो । पछि उनीहरू फिरन्ते जीवनशैली त्यागेर गाउँ पसेर बस्न थालेका हुन् । जनगणना–०६८ अनुसार देशमा ९८ पुरुष र १ सय १५ महिला गरी २ सय १३ जना कुसुन्डा छन् ।

प्रकाशित : माघ २२, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?