कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रधानमन्त्रीको रक्षात्मक अवतार

‘तपाईंहरु (मिडिया) ले बलिङ गरेको गर्‍यै गरेपछि हामीले कहिलेकाहीं ब्याटिङ गर्नैपर्‍‍यो । यसो हामी पनि ब्याटिङ गरौं न त भन्यो सरकार प्रेसको शत्रु भयो भन्नुहुन्छ ।’
सुधीर शर्मा

काठमाडौँ — दोस्रो पटक सरकारको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीबारे एउटा भनाइ चर्चित छ– उनी सुन्ने कम, बोल्ने बढी गर्छन् । एकोहोरो बोलेरै उनले मन्त्रिपरिषद्का लामा–लामा बैठकहरू सक्ने गरेका दृष्टान्त यसबीचमा थुप्रै सुनिएका छन् । मंगलबार अपराह्न बालुवाटार निवासमा दुई दर्जन सम्पादक–पत्रकारसँग भने उनी फरक शैलीमा प्रस्तुत भए । पहिले दुई घण्टा हाम्रा प्रश्न र धारणा सुन्न चाहे, त्यसपछि एक घण्टा आफ्ना कुरा राखे । 

प्रधानमन्त्रीको रक्षात्मक अवतार

सरकारका सकारात्मक पक्षबारे नलेखेको आरोप लगाउँदै नेपाली सम्पादकहरूको मन र मुटु छैन भन्दै यसअघि गुनासो गरेका प्रधानमन्त्री ओलीले लामो अन्तरालमा प्रेससँग प्रत्यक्ष अन्तर्क्रिया गरेका हुन् । यस क्रममा उनले सरकारको कार्यशैलीदेखि एमसीसी, केन्द्रीय समिति बैठक, मिर्गौला प्रत्यारोपण, यति प्रकरण, ललिता निवासदेखि पुष्पकमल दाहालसम्म अनेक प्रसंगबारे बोले, तर निकै नरम शैलीमा । विगतमा जस्तो कटाक्ष भरिएका आक्रामक शब्दावली सायद सोचेरै प्रयोग गरिएन । प्रधानमन्त्री ओलीको यस्तो रक्षात्मक अवतार विरलै देखिने गर्छ ।


सरकारले विभिन्न नियम–कानुन ल्याएर आमसञ्चार, सामाजिक सञ्जाल र नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयत्न किन गरेको भन्ने धेरैजनाको प्रश्नमा प्रधानमन्त्रीको प्रस्टीकरण थियो, ‘प्रेस स्वतन्त्रतालाई सीमित गर्ने वा आम स्वतन्त्रताको हक कुण्ठित गर्ने काम कुनै हालतमा हुँदैन । कहींकतै गल्ती वा त्रुटि भएको छ भने त्यसलाई सच्याइनेछ ।’


प्रधानमन्त्री ओलीले स्वतन्त्रताका लागि आफैं ५५ वर्ष लडेको दृष्टान्त प्रस्तुत गर्दै सरकारले प्रेस स्वतन्त्रताको हक संकुचित नपार्ने बताए । ‘मानवअधिकार र स्वतन्त्रताको अभाव कस्तो हुन्छ साथीहरूले अलि बढी देख्नुभएको छ, थोरै भोग्नुभएको छ तर मैले धेरै भोगेको छु,’ उनले भने ।


यद्यपि प्रधानमन्त्रीले अभिव्यक्ति स्वतन्त्रताको एउटा सीमा तोकिनुपर्ने र आफूले बनाउन चाहेको ‘शालीन र सभ्य समाज’का लागि त्यो अपरिहार्य रहेको तर्क भने गरिरहे । ‘मैले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा अर्को व्यक्तिको स्वतन्त्रता हनन हुनुभएन, त्यसमा हाम्रो सजगता आवश्यक छ,’ उनले थपे ।

‘अरूलाई चाहिँ सुन्नुपर्छ, सुन्न सक्नुपर्छ भन्ने, मैलेचाहिँ तपाईंहरूको राम्रो कुराको प्रशंसा गर्ने मुटु छैन भन्दा उत्पात मच्चाउने ? किन त्यस्तो असहिष्णुता ?’ उनले हस्यौली पारामा सोधे । सञ्चारमाध्यमले लेख्दा, छाप्दा र कार्टुन बनाइरहँदा ‘यो त अति नै भयो’ भनेर आफूले प्रतिक्रिया मात्रै दिएको ओलीको प्रस्टीकरण थियो । ‘तपाईंहरूले बलिङ गरेको गर्‍यै गरेपछि हामीले कहिलेकाहीं ब्याटिङ त गर्नैपर्‍यो,’ ओलीको गुनासो थियो, ‘यसो हामी पनि ब्याटिङ गरौं न त भन्यो सरकार प्रेसको शत्रु भयो भन्नुहुन्छ ।’


नेपाललाई समृद्ध मात्रै नभएर सभ्य र पारस्परिक

सद्भावनायुक्त बनाउन खोजेको तर्क गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म देशको नाम लिन्नँ । दुइटा विकसित देशमध्ये एउटा विकास र सभ्यतामा गर्व गर्छ, अर्को विकासमा मात्रै गर्व गर्छ । हामीले विकसित र सभ्य देश बनाउन खोजेका हौं ।’



बालुवाटारमा मंगलबार सम्पादकहरूसँग संवाद गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

सरकार र पार्टीबीचको सम्बन्ध, र अर्का अध्यक्ष दाहालबारे भने प्रधानमन्त्रीका अभिव्यक्ति तौलिएर बोलेजस्ता लाग्थे । सत्तारूढ नेकपाको भीमकाय केन्द्रीय समितिको दोस्रो बैठक तुलनात्मक रूपले व्यवस्थित ढंगबाट हालै सम्पन्न भएको छ । तर त्यो बैठक प्रधानमन्त्री ओलीका हकमा खासै अनुकूल भएन । बैठकले अमेरिकी परियोजना ‘एमसीसी’लाई संसद्बाट जस्ताको त्यस्तै पारित नगर्ने संकेत दिँदै तीन सदस्यीय अध्ययन कार्यदल बनाएको छ, जसमा एमसीसीको आलोचना गरिरहेका दुई नेता झलनाथ खनाल र भीम रावल रहेकाले अर्का सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अल्पमतमा पर्न सक्ने देखिन्छ ।


यद्यपि प्रधानमन्त्री ओलीले कार्यदलको प्रतिवेदन ‘सकारात्मक’ आउने संकेत गर्दै संसद्को यही बैठकले एमसीसीलाई ‘चाँडै’ अनुमोदन गर्ने दाबी गरे । केहीअघि नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग ‘रणनीतिक साझेदारी’ गरेका ओली आफू कुनै मुलुक विशेषतर्फ ढल्किएको देखिन चाहँदैनन् । चीनपछि अमेरिकासँग घनिष्ठ साझेदारीको नमुना सहकार्यका रूपमा उनले एमसीसीलाई लिएको देखिन्छ । उनकै पार्टीका कतिपय वरिष्ठ नेताले भने यसलाई चीनलक्षित अमेरिकी इन्डो–प्यासिफिक रणनीति (आईपीएस) को हिस्साका रूपमा अर्थ्याएको र सरकारविरुद्ध राजनीतिक प्रहार गर्न यसैलाई अस्त्र बनाएको कारण प्रधानमन्त्री ओली अहिले चेपुवामा परेको भान हुन्छ ।


उनले सम्झौता गर्नुअघि मतलब नगर्ने, सम्झौतामा हस्ताक्षरपछि छलफल गर्न थाल्ने गलत परम्परा हामीकहाँ रहेको औंल्याए । ‘हामी सम्झौता सबै सिध्याउँछौं र अन्तिममा अनुमोदन गर्ने बेलामा बहस सुरु गर्छौं, अध्ययन थाल्छौं,’ ओलीले भने, ‘सबै सम्झौता आम नागरिकले पढेर कण्ठ पार्नॅपर्छ भन्ने दुनियाँमा कतै पनि हुँदैन ।’

अहिले आएर एमसीसीलाई आईपीएसअन्तर्गत हो भनेर विरोध गर्नु उचित नहुने उनको तर्क थियो । ‘अमेरिकाको आफ्नो ग्लोबल स्ट्राटेजी होला, क्षेत्रीय रणनीति पनि होला, त्यसलाई हेरेर हामी हिँड्ने कि हामीले उनीहरूसँग गरेको सम्झौतालाई आधार बनाउने ?,’ ओलीले भने, ‘साथीहरूमा अलि कन्फ्युजन देखियो । त्यही भएर अध्ययन कार्यदल बनाएको हो । अब सात दिनभित्रमा त्यसले रिपोर्ट दिन्छ, अनि अहिलेको सबै कन्फ्युजनको अन्त्य हुन्छ ।’


एमसीसीअघि सभामुख चयन प्रकरणमा पनि प्रधानमन्त्री ओलीले प्रतिकूलता व्यहोर्नुपरेको थियो । आफ्नो अनिच्छाका बाबजुद पूर्वमाओवादी पक्षका अग्निप्रसाद सापकोटालाई सभामुखमा स्वीकार्न उनी पार्टी सचिवालयमा बदलिएको समीकरणले गर्दा बाध्य भएका थिए । सचिवालयका नौ सदस्यमध्ये छजना विपक्षी धारमा उभिएपछि प्रधानमन्त्रीले सभामुख पदमात्र नभई आफ्नै सरकारको भविष्यसमेत दाउमा पर्न सक्ने देखे । पछिल्लो रक्षात्मक अवतार सम्भवतः त्यहींबाट सुरु भएको हो ।

यद्यपि प्रधानमन्त्री ओलीले पार्टीभित्र पार्टीभित्र रस्साकसी चल्नुलाई स्वाभाविक परिघटनाका रूपमा अर्थ्याए । ‘हाम्रो पार्टीमा मभन्दा पहिले प्रधानमन्त्री भएका, पार्टी प्रमुख भइसकेका नेताहरू थुप्रै हुनुहुन्छ । त्यत्रा व्यक्तित्वहरूबीच व्यक्तित्वको टकराव हुनु के अनौठो भयो र !’, उनले बताए ।


प्रधानमन्त्री ओलीले पार्टीभित्रको एकता भने मजबुत रहेको दाबी गरे । ‘यो एकता यताउता गोटी सारेर, खेल खेलेर गरेको होइन,’ उनले भने, ‘अहिले पार्टी एकजुट छ, कन्फ्युजनमा नरहनुस् ।’

प्रधानमन्त्री ओलीले धेरै सोचविचार र छलफल गरेरै पार्टी एकता भएको उल्लेख गर्दै आफूहरूलाई कसो गर्दा पार्टी कमजोर र कसो गर्दा बलियो हुन्छ भन्ने राम्रैसँग थाहा भएको बताए । ‘साथीहरू भैंसेपाटीमा एकपटक जम्मा हुनुभएछ तर नेपालको राजनीति नै त्यस्तै हो जस्तो गरियो,’ उनले भने, ‘खुमलटार, कोटेश्वर, डल्लु, सिंहदरबार या अन्त पनि बैठक हुन्छन् नि !’


अर्का अध्यक्ष दाहालप्रति ओलीको टिप्पणी अस्वाभाविक रूपमा सकारात्मक सुनिन्थ्यो । पहिले दाहालसँग आलोपालो सरकार चलाउने सहमति भएको र पछि दाहालकै प्रस्तावमा आफू पूर्णकालीन प्रधानमन्त्री हुन लागेको उनले उल्लेख गरे । ‘प्रचण्डजीलाई मैले आलोपालो गरौंला भनेको थिएँ, उहाँले अलि अस्थिरता देखिन्छ, त्यस्तो नगरौं भन्नुभयो,’ ओलीले भने, ‘पचासौं वर्ष राजनीति गरेका नेता हौं, एउटाले भनेको अर्कोले आदेश मान्ने सम्पादक र सहसम्पादक जस्तो पनि होइन, सबै सम्पादकजस्ता माथि–माथिका छौं ।’


प्रधानमन्त्री ओलीले अब बाँकी तीन वर्षसम्म आफैंले सरकार चलाउने र छिट्टै मिर्गौला प्रत्यारोपण गर्ने जानकारी दिए । ‘तीन वर्षपछि चुनाव हुन्छ । त्यसपछि म प्रधानमन्त्री रहने होइन,’ उनले भने, ‘म चाँडै किड्नी ट्रान्सप्लान्ट गर्छॅ । एउटा किड्नी ल्याएर थप राख्छु । यो ठूलो कुरा नै होइन । चिन्ता नगर्नॅस् ।’ उनले अहिलेभन्दा सजिलोसँग ‘बेस्सरी काम गर्न सकियोस्’ भनेर मिर्गौला प्रत्यारोपण गर्न लागेको बताए ।

सरकारले अत्यन्त सफलता र सन्तुलित तरिकाले आफ्नो नीति अगाडि बढाएको प्रधानमन्त्री ओलीको जिकिर थियो । ‘तर चौकामा चढेर व्रतबन्ध गर्नेबित्तिकै व्यक्तिको स्ट्याटस परिवर्तन भएजस्तो देशलाई चौकामा चढाएर फेर्न सकिँदैन,’ उनले भने, ‘हामीले काम गरेका छौं, परिवर्तन देखिन थालेको पनि छ । लोकतन्त्रको प्रतिफल आउन अलिकति समय त लाग्छ ।’


बालुवाटारमा पुनर्निर्माण भइरहेको आफ्नो पुरानो निवासबाट केही पर मुख्य सचिवका निम्ति बनाइएको आवासमा अस्थायी रूपले सरेका प्रधानमन्त्री ओलीले क्याबिनेट बैठक गर्ने कक्षमा सम्पादकहरूसित अन्तर्क्रिया गरेका थिए । त्यहीं साँध जोडिएको ललिता निवासको सरकारी जग्गामा भएको भ्रष्टाचार अहिले सार्वजनिक चासोको विषय बनेको छ ।


प्रधानमन्त्री ओलीले ललिता निवासको सरकारी जग्गा किनबेच प्रकरणमा यो सरकारको कुनै हात नरहेको बताए । बरु अहिलेको सरकारले विगतमा किनबेच भएको जग्गा छानबिन गरेको उनको भनाइ थियो । यो विषयमा मिडियाले आफ्नो सरकारप्रति अन्याय गरेको उनले बताए ।


बालुवाटारमा मंगलबार सम्पादकहरूसँग संवाद गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

‘तपाईंहरूले इन्साफ गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘ललिता निवास मेरो सरकार बनेपछि बेचिएको हो र ? एकातिर सीआईबी र अर्कातिर अख्तियारलाई छानबिन गर्न लगाएको छु, ठूला–ठूला मान्छे कारबाहीको दायरामा आएका छन् ।’ ओलीले जग्गाको धनीपुर्जा हेरेर किन्दा कतिपय मानिस बालुवाटारको जग्गामा ठगिएको बताए । ‘धन्न म भाग्यमानी रहेछु, घडेरी खोज्दै हिँडेको थिएँ, बालुवाटार परेनछ,’ उनले भने, ‘तपाईंहरूले पनि जग्गा किन्नुभएको छ होला, हेर्ने त तपाईंले पनि धनीपुर्जा हो ।’ उनले आफूले किनेको बालकोटको जग्गा सार्वजनिक नपरेको भन्दै सन्तोषसमेत व्यक्त गरे ।

प्रधानमन्त्रीले यति समूहलाई सस्तोमा सरकारी जग्गा र सम्पत्ति लिजमा दिइएको निर्णयको भने प्रतिरक्षा गरे । नेकपानिकट उक्त व्यापारिक घरानालाई गोकर्ण, दरबारमार्ग, ताहाचल, सोलुखुम्बु, ताप्लेजुङलगायत थुप्रै ठाउँका सरकारी जग्गा एवं सम्पत्ति विवादास्पद ढंगबाट दिइएको सम्बन्धमा ललिता निवासमा झैं छानबिन गर्ने चाहना सरकारमा देखिएको छैन । गोकर्ण रिसोर्टको लिज अवधि थप्ने सरकारको निर्णय कानुनसम्मत नै भएको प्रधानमन्त्रीको दाबी छ । ‘मैले घोटाला या भ्रष्टाचार गर्छु भन्ने कमसेकम साथीहरूले ठान्नुहुन्न भन्ने विश्वास छ,’ प्रधानमन्त्रीले बिट मार्दै भने, ‘मैले बोलेका कुनै कुरा तपाईंहरुलाई बिझाएको छ भने क्षमाप्रार्थी छु ।’ बाहिर बालुवाटारमा अँध्यारो छाइसकेको थियो ।


हामीलाई ललिता निवासछेउकै बाटोबाट अलि पर अर्को भवनमा लगियो, जहाँको ठूलो हलमा रात्रिभोज र ‘सारंगी साँझ’ रहेछ । नेकपाका ठूला–साना नेता, मन्त्री र सत्तावृत्तका अनेक अनुहार त्यहाँ देखिए । प्रधानमन्त्रीको प्रवेशपछि हलमा चर्को संगीत गुन्जिन थाल्यो, हामी भने बिदा माग्दै समाचार कक्षतर्फ फर्कियौं ।


प्रकाशित : माघ २२, २०७६ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?