ताप्लेजुङ — चीनमा कोरोना भाइरसको संक्रमण बढिरहेको बेला पूर्वको किमाथांका नाकाबाट मंगलबार १२ जना नेपाली फर्काइएको छ । फर्काइएका सबै संखुवासभाको भोटखोला र मकालु गाउँपालिकाका रहेको चीनसँगको सिमावर्ती भोटखोला गाउँपालिका–१ का वडाध्यक्ष तेन्छिरी शेर्पाले टेलिफोनमा बताए ।
शेर्पाका अनुसार मकालुका २ र बाँकी सबै भोटखोलाको १, २ र ३ नम्बर वडा छन् । यसअघि माघ १४ गते ताप्लेजुङ पापुङका २ जना फर्किएकोसमेत उनले बताए । नेपालीलाई फर्काउन जिल्ला प्रशासन कार्यालय संखुवासभाले पहल गरेको थियो । ‘सशस्त्र प्रहरी, स्वास्थ्य चौकी, जनपथ प्रहरी, हामी सबैले गएर सिमानाबाटै जिम्मा लिएर आयौं,’ तेञ्छिरीले भने, ‘तिब्बतमा त यस्तो आएको छैन, तर उताको मान्छेले हिँडडुलसमेत पूरै बन्द गरिदिएको छ ।’ वडाध्यक्ष शेर्पाका अनुसार तिब्बतमा गएका १५०/६० जना यसअघि नै फर्किइसकेका छन् ।
तिब्बतमा कसैलाई पनि बाहिर हिँडडुल गर्न नदिएको, एउटा घरमा चार जनाभन्दा बढीलाई बस्न पनि नदिएको उनले सुनाए । ‘उता त सिमानामा पूरै सेना राखेको छ । मानिसहरुलाई हिँडडुल गर्न दिएको छैन । व्यापार पसलहरु सप्पै ठप्प छ । बिहान बेलुकै स्वास्थ्य जाँच गरिरहेको छ,’ वडाध्यक्षले भने, ‘हाम्रो नेपालीलाई पनि सिमानामा ल्याएर जाँच गरेर जिम्मामा लगायो ।’ फर्किएकाहरुमध्ये कोही काम गर्न र कोही उतै व्यवसाय गरेर बसेकाहरु रहेको उनले सुनाए । नेपाली बस्तीमा अहिले खाद्यान्न संकट होला कि भन्ने चिन्ता भएको वडाध्यक्ष बताउँछन् । नेपालमा भने कोरोनाको चिन्ता अहिलेसम्म नभएको शेर्पाले सुनाए । सिमावर्ती क्षेत्रमाभने खाद्यान्नको चिन्ता सुरु भएको छ ।
मंगलबार गणना गर्दा सेना, प्रहरी, स्थानिय समेतगरी ५ सय ५६ जना भएको वडामा अहिले मौज्दात रहेको खाद्यान्नले पुग्ने अवस्था नभएको शेर्पा बताउँछन् । ‘चाँडै खुल्यो भने त समस्या नहोला तर यस्तै समस्या लामो समयसम्म रहृयो भने हामीलाई समस्या छ,’ उनले थपे, ‘अहिले स्टक रहेकोले कति समय पुग्छ भनेर हिसाबचाहिँ गरेका छैनौं ।’ खाँदबारीको मूल्यमा किन्न पाइयोस् भनेर मंगलबार सर्वपक्षिय भेलाले निर्णय गरेको उनले सुनाए । स्थानियले ढुवानी भाडा सरकारले बेहोरिदियोस् भन्ने अपेक्षा गरेका छन् । किमाथांका नाकाबाट चीनको तिब्बतमा काम गर्न नेपालीहरु जाने गरेका छन् । तर कतिको संख्यामा नेपाली छन् भन्ने तथ्यांकचाहिँ गाउँपालिका वडा र प्रशासनसँग पनि छैन ।
काेराेना प्रकाेप
कोरोनाको संक्रमण देखिएपछि चीनले ओलाङचुङगोला नाका पनि बन्द गरेको छ । तर ५२ सय मिटर उचाईमा रहेको यो नाकामा यतिवेला हिउँपर्ने भएकाले हिउँका कारण पनि बन्द हुने गर्छ । खाद्यान्नका लागि भने स्थानीयले यसअघिनै २/३ महिनासम्मका लागि खाद्यान्न लगायतका सामग्रीको जोहो गरिसकेका हुन्छन् ।
प्रकाशित : माघ २१, २०७६ १९:५३