कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

अजिताको हराएको मोबाइल अन भएपछि पक्राउ परे हत्यारा  

सुवास विडारी

(मकवानपुर) — यौन सम्पर्कपश्चात् पैसाको विषयमा विवाद हुँदा तेस्रो लिंगी अजिता भुजेलको हत्या भएको खुलेको छ । माघ ४ गते बिहान अजिताको शव हेटौंडा–क्याम्पाडाँडास्थित कान्ति लोकपथमा फेला परेको थियो । 

अजिताको हराएको मोबाइल अन भएपछि पक्राउ परे हत्यारा  

प्रहरीले हत्या भएको १८औं दिनमा मंगलबार हत्यामा संलग्न रहेका पाँच जनालाई सार्वजनिक गरेको छ । हत्या अभियोगमा प्रहरीले हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामालाई प्रहरीले सार्वजनिक गरेको हो ।


प्रहरीका अनुसार ना.६ ख ६५२७ नम्बरको ट्रकका सहचालक परियार र सुशील थापा मगरले भुजेलसँग हेटौंडा–११ थानाभर्‍याङमा शारिरीक सम्पर्कका लागि ७ हजार रुपैयाँमा सहमति गरेका थिए । तर पैसा दिने बेलामा विवाद उनीहरुले अजिताको हत्या गरेका थिए ।


सकसमा तेस्रोलिंगी : मृत्युपछि पनि भेदभाव ?

उनीहरूले हत्या गरेर शव ट्रकमै राखेर क्याम्पाडाँडामा फालेका थिए । घटनामा संलग्न २ जना फरार रहेका छन् । ‘यौन सम्पर्कमा संलग्न चारैजनाले एउटै ट्रकको प्रयोग गरिएको अनुसन्धानको क्रममा देखिएको छ । अरु दुई जना अर्कै ट्रकका रहेको र तिनीहरुको पहिचान अझै खुलेको छैन,’ मकवानपुरका एसपी सुशीलसिंह राठौरले भने ।

सिमोन परियारले ल्याएको ट्रकको क्याबिनमा चारै जनाले यौन सम्पर्क गरेको र पैसामा कुरा नमिलेपछि चारै जना मिलेर ट्रकभित्रै अजिताको हत्या गरेको प्रहरीले बताएको छ । अजिताले सहमतिअनुसार पैसा मागेपछि विवाद भएको र उनीहरुले ट्रकभित्रै बिजुलीको तारले घाँटी अठ्याएर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । अजिताको मृत्यु भएपछि त्यही ट्रकमा राखेर क्याम्पाडाँडामा लगेर फालिएको थियो । माघ ४ गते बिहान अजिताको शव हेटौंडा–५, क्याम्पाडाँडास्थित कान्तिलोकपथमा फेला परेको थियो ।

अजिताको हराएको मोबाइल बुद्ध लामाले साथी आशिषलाई दिएका थिए । आशिषले आफ्नी पत्नी एलिसालाई दिएका थिए । सोही मोबाइल अन भएपछि प्रहरीले सबैलाई पक्राउ गरेको हो । ‘अजिताको हराएको मोबाइल एलिसाले आफ्नो सिम हालेर प्रयोगमा ल्याएपछि हामी घटनामा संलग्नहरुलाई पक्राउ गर्न सफल भएका हौं,’ एसपी राठौरले भने । प्रहरीका अनुसार एलिसाले माघ २० गते सोमबार मोबाइल प्रयोगमा ल्याएकी थिइन् । मोबाइल प्रयोगमा आएपछि मकवानपुर प्रहरी र महानगरीय प्रहरी महाशाखा टेकुबाट आएको टोलीले अनुसन्धानलाई तीव्र पारेका थिए । घटनापश्चात् करिब दुई सय ५० जनासँग सोधपुछ प्रहरी उपरीक्षक राठौरले बताए ।

घटनामा संलग्न मुख्य अभियुक्त तथा ट्रकका सहचालक सिमोन परियारले बयानको क्रममा आफूलाई दिउँसैबाट साहुले दुःख दिएको झोंकमा ट्रक पल्टाउन हिँडेको बताएका छन् ।

‘कुनै स्थानमा लगेर ट्रक पल्टाउने मनसायले सहचालक हिँडेको देखिन्छ । उक्त क्रममा चिया खान हेटौंडा–१०, बसपार्कमा आएपछि साथी सुशीलसँग भेटभएपछि यौन सम्पर्क गर्ने योजनाको साथ घटनास्थलमा पुगेको देखिन्छ,’ एसपी राठौरले बताए ।

सहचालक परियार साहुलाई नसोधी राति दश बजे ट्रक लिएर बसपार्क आएका थिए । ट्रक पल्टाउने स्थान नभेट्दा चिया खानका लागि बसपार्क आएका थिए । एसपी राठौरका अनुसार सुशील चोरी मुद्धामा तीन वर्ष जेल बसेर भर्खरै निस्किएका हुन् ।

प्रहरीका अनुसार घटनास्थलमा पुगेर मृतक भुजेलसँग पैसाको विषयमा सहमतिपश्चात् अर्को सवारीका दुईजना समेत गरी चारजनाले पालैपालो यौन सम्पर्क गरेका थिए । यौन सम्पर्कपश्चात् विवाद भएपछि उनको हत्या गरिएको थियो । हत्यामा संलग्न अर्को सवारीको नम्बर र चालक तथा सहचालकको अझै नाम खुल्न सकेको छैन । ‘प्रहरीले शंका लागेको केही व्यक्तिमाथि निगरानी राखिरहेको छ,’ एसपी राठौरले भने ।

प्रकाशित : माघ २१, २०७६ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?