वुहानबाट फर्किने नेपालीका लागि मंगलबार बेलुकासम्ममा ‘क्‍वारेइन्टाइन’ तोकिने, बुधबार स्वदेश ल्याउने सम्भावना 

सेना, प्रहरी र सशस्त्र पनि क्वारेन्टाइन स्थलको खोजीमा
बुनु थारु

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलि मंगलबारसम्ममा चीनबाट ल्याइने नेपालीलाई  राख्‍ने स्थान (क्‍वारेइन्टाइन) तोकिने जानकारी दिएको छ । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मलेनमा बोल्दै प्रवक्ता महेन्द्र श्रेष्ठले भने, ‘सुरुमा क्‍वारेइन्टाइनमा राख्ने हो, परीक्षण नियमित हुनेछ, केही आशंका लागेमा बिरामीलाई आइसोलेसनमा राखिने छ ।'

वुहानबाट फर्किने नेपालीका लागि मंगलबार बेलुकासम्ममा ‘क्‍वारेइन्टाइन’ तोकिने, बुधबार स्वदेश ल्याउने सम्भावना 

मंगलबारसम्ममा ठाउँको प्रबन्ध मिलेपछि सम्भवत: बुधबार चीनमा रहेका नेपालीलाई स्वदेश फर्काइने छ । उनले अझै पनि ती ठाउँहरुको अवलोकन जारी रहेको बताउँदै भोली नै तय गरिसक्नुपर्ने बाध्यता भएको बताए । उनले एउटा कोठामा २ देखि ३ जनाभन्दा बढी व्यक्तिलाई नराखिने पनि जानकारी दिए ।

सुरक्षा, सुविधा, चिकित्सय टोलीका सम्बन्धमा छलफल भइरहेको मन्त्रायले जानकारी गराएको छ ।


हेल्थ इमरजेन्सी अपरेसन सेन्टरका प्रमुख सागर दहालले नेपालको केसमा आजसम्म जम्मा १४ जना कोरोना भाइरस टेस्टका लागि रिपोर्ट गरेकोमा ३ वटा रिपोर्ट आउन बाँकी रहेको जानकारी गराए ।


बिरामीहरुलाई कोरोना भाइरसको बारेमा जानकारी दिनका लागि स्वास्थय मन्त्रालयले सम्पर्क व्यक्ति पनि तोकेको छ । बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म टेलिफोन सम्पर्कमा रहनका लागि डा. रविकान्त मिश्र, डा. युग प्रसाद सापकोटा, डा. समिरकुमार अधिकारी तोकिएका छन् । उनीहरुले रोगका बारेमा जानकारी दिनुका साथै उपचारका लागि कहाँ जाने विषयमा जानकारी गराउनेछन् ।

प्रवक्ता श्रेष्ठका अनुसार अहिले वृद्धवृद्धाहरुलाई मात्र रोग सर्ने भनिएपनि सबै उमेरका व्यक्तिहरुलाई कोरोना भाइरसको जोखिम हुनसक्ने विश्व स्वास्थय संगठनले जनाएको बताए । त्यसैगरी यसका लागि एन्टिबायोटिक तथा खोपहरु पनि उपलब्ध नभएको बताउँदै विभिन्न सामाजिक सञ्जालमा रहेका अफवाहको पछाडि नलाग्न सर्वसाधारणलाई आग्रह गरे ।

साथै चीनमा रहेको नेपाली दूतावासले नेपालीलाई फर्काउनको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको समेत मन्त्रालयले जानकारी दिएको छ ।


अहिलेका लागि नेपाली सेनाको नवनिर्मित भवन, सशस्त्र प्रहरी क्याम्प, सरकारका केन्द्रीय अस्पतालका हलहरु, इचंगुनारायणमा सुकुम्बासीका लागि बनाइएको आवास भवन, कीर्तिपुरस्थित आयुर्वे्दिक अध्ययन केन्द्र र भक्तपुरको बोडेमा रहेको कृषि तालिम केन्द्रलाई सम्भवित स्थानको रुपमा पहिचान गरिएको छ ।


वुहानबाट सुरु भएको नोवल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६२ पुगेको छ । शनिबार चीनको बेइजिङमा रहेको नेपाली दूतावासले सूचना प्रकाशित गर्दे त्यहाँ रहेका नेपालीहरुको उद्धार गरिने बताएको थियो ।


नेपालले चीनको हुवेइ प्रान्तमा रहेको सबै नेपालीहरुको उद्धार गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण झन् झन् फैलिँदै गएपछि नेपालले हुवेइमा रहेका नेपालीहरुको उद्धार गर्ने भएको हो । हालसम्ममा १८० नेपालीले स्वदेश फर्किनका लागि फारम भरेका छन् ।


यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हुवेइमा रहेका नेपालीलाई फर्काउन जहाज तयारी अवस्थामा रहेको बताएका थिए ।

प्रकाशित : माघ २०, २०७६ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?