१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेविसंघको तदर्थ समितिमा ५ महामन्त्री र २ उपसभापति थपिए

मधुसुधन भट्टराई

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको तदर्थ समिति विस्तार गरेका छन् । बिहीबार राजीव ढुंगानाको अध्यक्षतामा बनाएको तदर्थ समितिमा देउवाले आइतबार २ उपसभापति र ५ महामन्त्री थपेका छन् । योसंगै तदर्थ समिति १० सदस्यीय भएको छ । 

नेविसंघको तदर्थ समितिमा ५ महामन्त्री र २ उपसभापति थपिए

देउवाले उपसभापतिमा तुलसा पन्त झापा र मुक्तिराज पौडेल रुपन्देहीलाई मनोनित गरेका छन् । त्यस्तै महामन्त्रीमा दीपक भट्टराई तनहुँ, उर्मिला थपलिया धादिङ, प्रभातकुमार दाहाल मकवानपुर, बलदेव तिमल्सीना सिन्धुपाल्चोक र युवराज पाण्डे स्याङ्जालाई मनोनित गरेका हुन् ।

नेता कृष्णप्रसाद सिटौला समूहको सिफारिसमा उपसभापतिमा पन्त र पौडेल तथा महामन्त्रीमा तिमल्सीना र पाण्डेलाई देउवाले मनोनित गरेका हुन् । उपसभापतिमा मनोनित पन्त रञ्जित कर्ण नेतृत्वको तदर्थ समितिमा केन्द्रीय सदस्य थिइन् भने पौडेल ११ औं महाधिवेशनमा उपसभापतिमै पराजित भएका थिए । तिमल्सीना पूर्वसहमहामन्त्री हुन् भने पाण्डे पूर्वकेन्द्रीय सदस्य हुन् ।

त्यस्तै नेता रामचन्द्र पौडेल समूहको सिफारिसमा देउवाले भट्टराई, थपलिया र दाहाललाई महामन्त्रीमा मनोनित गरेका हुन् । महामन्त्रीमा मनोनित भट्टराई ११ औं महाधिवेशनमा महामन्त्रीमै पराजित भएका थिए भने थपलिया उपसभापति थिइन् । दाहाल भने कांग्रेसको १३ औं महाधिवेशनमा मकवानपुर जिल्ला सभापतिमा पराजित भएका थिए । पौडेल समूहभित्र थपलिया महामन्त्री शशांक कोइराला, दाहाल पूर्वमहामन्त्री प्रकाशमान सिंह र भट्टराई नेता पौडेलको सिफरिसमा महामन्त्री बनाएका हुन् ।

अध्यक्षमा ढुंगानालाई मनोनित गर्दा देउवाले मनोज वैद्य काठमाडौं र महेश्वरी कुँवर पाल्पालाई महामन्त्री बनाएका थिए । दुवै महामन्त्रीलाई देउवाले आफ्‍नो काेटाबाट मनाेनित गरेका हुन् ।

१० माघमा कांग्रेस शीर्ष नेताहरुबीच नेविसंघको तदर्थ समिति पदाधिकारीसहित १२७ सदस्यीय बनाउने सहमति बनेको थियो । समितिमा ९ महामन्त्री, ६/६ सहमहामन्त्री बनाउने सहमति गर्दै नेताहरुले भागबण्डा गरेका थिए । सभापति देउवा समूहले अध्यक्षसहित ३ महामन्त्री तथा २/२ उपसभापति र सहमहामन्त्री लिने, पौडेल समूहले ३ महामन्त्री र २/२ सहमहामन्त्री लिने, सिटौला समूहले महामन्त्री, उपसभापति र सहमहामन्त्री २/२ जना लिने सहमति भएको थियो । उपसभापति विजयकुमार गच्छदारलाई १ महामन्त्री दिने सहमति नेताहरुले गरेका थिए ।

त्यही सहमति अनुरुप पौडेल र सिटौला समूहको सिफारिसमा देउवाले तदर्थ समिति विस्तार गरेका हुन् ।


सम्बन्धित समाचार

नेविसंघ महामन्त्रीमा असन्तुष्टले क-कसलाई पठाउँदैछन् ?

एक वर्षपछि नेविसंघको तदर्थ समिति, अध्यक्षमा ढुंगाना

ढुंगानालाई नै किन नेविसंघ अध्यक्ष बनाउन चाहन्छन् देउवा ?

प्रकाशित : माघ १९, २०७६ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?