३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

नेविसंघ महामन्त्रीमा असन्तुष्टले क-कसलाई पठाउँदैछन् ?

मधुसुधन भट्टराई

काठमाडौँ — नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ समितिमा आफूले पाएका भागमा नाम सिफारिस गर्न कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको बैठक बसिरहेको छ । दुवै पक्षले महामन्त्रीमा पाएको भागबण्डा अनुरुपका नाम मध्यान्हसम्ममा पठाउने तयारी गरेका छन् ।

नेविसंघ महामन्त्रीमा असन्तुष्टले क-कसलाई पठाउँदैछन् ?

तर, आकांक्षी धेरै भएकाले नेताहरु निर्क्यौलमा पुग्न सकेका छैनन् । नेविसंघमा उमेर हद लागु नगरिएको भन्दै असन्तुष्ट दुवै पक्षले भागबण्डामा सहमति भएपछि नाम पठाउन लागेका हुन् ।

कांग्रेस शीर्ष नेताहरुबीच माघ १० गते बसेको बैठकमा नेविसंघको पदाधिकारीसहित १ सय २७ सदस्यीय तदर्थ समितिको बनाउने सहमति बनेको थियो । तदर्थ समितिमा नौ महामन्त्री, ६/६ जना उपाध्यक्ष र सहमहामन्त्री बनाउने सहमति नेताहरुबीच बनेको थियो ।

सहमतिमा अध्यक्षसहित तीन महामन्त्री तथा उपाध्यक्ष र सहमहामन्त्री २/२ जना संस्थापनबाट, ३ महामन्त्री तथा उपाध्यक्ष र सहमहामन्त्री २/२ जना पौडेल समूहबाट तथा महामन्त्री, उपाध्यक्ष र सहमहामन्त्री २/२ जना सिटौला समूहबाट बनाउने उल्लेख थियो । उपसभापति विजयकुमार गच्छदारलाई १ महामन्त्री दिने सहमति पनि नेताहरुबीच बनेको थियो ।

सहमतिअनुरुप सभापति शेरबहादुर देउवाले तदर्थ समितिको अध्यक्षमा राजीव ढुंगानालाई बिहीबार मनोनित गरेको छ । अध्यक्षसँगै मनोज वैद्य काठमाडौं र महेश्वरी कुँवरलाई महामन्त्रीमा मनोनित गरेका छन् ।

पौडेल समूहको पौडेल निवास बोहोराटारमा र सिटौला समूहको सिटौला निवास विशालनगरमा महामन्त्री छान्ने विषयमा पटकपटक बैठक बसिरहेका छन् । पौडेल समूहले आफ्नो भागमा परेका ३ महामन्त्रीलाई तीन भाग लगाएको छ । समूहभित्रको भागबण्डामा पौडेललाई १, पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई १ र महामन्त्री शशांक कोइरालालाई १ भागबण्डा लगाइएको छ ।

स्रोतका अनुसार पौडेलले आफ्नो भागबाट दिपक भट्टराई र प्रकाश रानामध्य एकजनालाई सिफारिस गर्ने तयारी गरेका छन् । भट्टराई ११ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए भने । राना प्रदेश उपाध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै महामन्त्री कोइराला उर्मिला थपलिया, सागर परियार र निलकण्ठ रिजालमध्य एकजनालाई महामन्त्री सिफारिस गर्ने बताइएको छ । यी तीनैजना ११ औं महाधिवेशनबाट आएको कार्यसमितिमा उपाध्यक्ष थिए ।


पूर्वमहामन्त्री सिंहले भने हिमालदत्त श्रेष्ठ र युपी लामिछानेमध्य एकलाई महामन्त्री पठाउने तयारी गरिरहेका छन् । श्रेष्ठ ११ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । लामिछाने रञ्जित कर्ण नेतृत्वको तदर्थ समितिमा प्रवक्ता थिए ।

सिटौला समूहबाट बलदेव तिमिल्सिना, युवराज पाण्डे र मुक्तिराज पौडेलमध्य दुईजना सिफारिस गर्ने तयारी भइरहेको निकटस्थ स्रोतले बतायो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अहिले पूर्ण पदाधिकारी र कार्यसमिति नआउने तर महामन्त्रीसम्मको सानो समिति बनाउने तयारीमा आफूहरु रहेको बताए । ‘नेताहरुले सभापतिलाई नाम दिनुभयो भने आजै तदर्थ समिति बिस्तार हुने सम्भावना हुन्छ,’ शर्माले भने ।


प्रकाशित : माघ १९, २०७६ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?