कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सभामुख सापकोटाले भने- देशभक्ति र सदाचारमा सम्झौता गर्दिनँ

भीम रावलको आग्रह- एमसीसी इन्डो प्यासिफिककै अंग हो, संसदीय समितिमा छलफल होस्
जयसिंह महरा

काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाले देशभक्ति र सदाचारमा सम्झौता नगर्ने बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले संसदलाई प्रभावकारी बनाउन आफू अहोरात्र खट्ने र त्यसमा सहयोग गर्न सांसदहरूको सहयोग चाहिने पनि उनले बताए ।

सभामुख सापकोटाले भने- देशभक्ति र सदाचारमा सम्झौता गर्दिनँ

यसअघि उक्त समिति सदस्य रहेका सापकोटालाई सभामुखमा निर्वाचित भएपछि आइतबार बधाई तथा शुभकामना दिन बैठक बोलाइएको थियो ।

बैठकमा सापकोटाले भने, 'देशभक्ति र सदाचारमा म सम्झौता गर्ने छैन, कुनै हालतमा । यी दुईवटा कुरा मेरो जिन्दगीका सबैभन्दा मुख्य कुरा हुन् ।'

मुलुकलाई अगाडि बढाउन जनप्रतिनिधिहरूको संस्थाको भूमिका महत्त्वपूर्ण हुने सापकोटाको भनाइ थियो । उनले भने, 'राष्ट्रको कार्यभारको महत्त्वपूर्ण भूमिका जननिर्वाचित संसद पनि हो । लोकतन्त्रको विकास, विस्तार र सुदृढिकरणका लागि यसको भूमिका रहेको छ ।' संसदको प्रभावकारिताले मुलुकमा विकास र समृद्धि आउने उनको भनाइ थियो । 'संसदको विकास, विस्तार र सुदृढिकरण गरेर नै यसको प्रभावकारीता कायम गरिनेछ । लोकतन्त्रको सुदृढिकरण गर्न संसदको प्रभावकारिता बढाउने मेरो धारणा छ,' उनले भने । नेपालको संसदमा कुनै पनि कुराको कमी नभएको र यसलाई मुलुकको समृद्धिमा प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने उनको धारणा थियो ।

सभामुख सापकोटाले संसदमा छलफल गर्नुपर्ने धेरै विषय भएको बताए । 'अहिले सबैभन्दा छलफल गर्नुपर्ने कुरा के हो ? मेरो प्रथम कार्यभार के हो ? भन्ने विषयमा केन्द्रीत भएको छु । मैले अगाडि बढेर भूमिका खेल्न पर्छ,' संसदको सफलता सबैको सफलता हुने भन्दै उनले थपे, 'विधि, पक्रिया र पद्धति लागु गर्नका लागि म भगीरथ प्रयास गर्नेछु । अहोरात्र खट्नेछु ।'

सापकोटा माघ १२ गते सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् ।

सांसदहरूले सभामुखलाई बधाई तथा शुभकामना दिने क्रममा अमेरिका र नेपालबीच भएको एमसीसी सन्धिबारे जिज्ञासा राखेका थिए । उक्त सम्झौताले नेपाललाई अमेरिकी सैनिक रणनीतिमा तान्ने सांसदहरूको बुझाइ थियो । संसदमा पुगेको उक्त सन्धिलाई पास गर्ने वा खारेज गर्ने भन्नेबारेमा अतिवादी सोच आएका पनि सांसदहरूको भनाइ थियो । एमसीसीको विषयलाई लिएर पास हुनैहुन्न भन्ने र जसरी पनि पास गर्नुपर्छ भन्ने सोचभन्दा बाहिर निस्केर बीचको बाटो अपनाउनुपर्ने सांसदहरूको भनाइ थियो ।

सांसद भीम रावलले भने, 'संयुक्त राज्य अमेरिकाले जारी गरेको इन्डो प्यासिफिक स्ट्राटेजी रिपोर्ट नोभेम्बर ४, २०१९ र २०१७ का सिरिजको अध्ययन गरियोस् । त्यसमा कुनै 'इफ','बट', शंकाविहीन रूपमा के लेखिएको छ भने- मिलेनियम च्यालेन्ज कर्पोरेसन भनेको इन्डो प्यासिफिक स्ट्राटेजीको अंग हो । आइपिएस भनेको चीन, रुस र कोरियाविरुद्धमा सैन्य रणनीतिका लागि ल्याइएको हो भनेर निर्विवाद रूपमाका भनिएको छ । यसमा विस्तृत अध्ययन गरियोस् । तथ्य, तथ्यांक अन्तर्राष्ट्रिय सम्बन्ध समितिले केलाओओस् ।' नेपाल कुनै पनि सैन्य रणनीतिमा सहभागी हुन नहुने र एमसीसीबारे व्यापक छलफल हुनुपर्ने उनको माग थियो ।

समिति सभापति पवित्रा निरौला खरेलले एमसीसी पास गर्दा वा खारेज गर्दाको अवस्थामा सबै एकमत हुनुपर्ने धारणा राखिन् । उनले भनिन्, 'एमसीसीका विषयमा गम्भीरता पूर्वक छलफल गर्नुपर्छ । यसलाई पास गर्दा पनि सबै मिलेर एकताबद्ध भएर गर्नुपर्छ, पास नगर्दा पनि एकताबद्ध भएर गर्नुपर्छ । जे गर्दा पनि राष्ट्रभक्तिका साथ गर्नुपर्छ ।' उनले विधेयक निर्माणमा व्यापक छलफल गरिदिन सभामुखलाई आग्रह गरिन् ।

प्रकाशित : माघ १९, २०७६ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?