कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पुर्खौली थलोमा एकसाथ शशांक र शेखर

राजकुमार कार्की

दुम्जा(सिन्धुली) — बीपी राजमार्ग भएर राजधानी काठमाडौंबाट सिन्धुलीको नेपालथोक नजिक आँपघारीबाट दाहिनेतर्फ नयाँ ट्याक सडकहुँदै लस्कर लागेर उकालो लागेका सवारीसाधन हेर्नका लागि स्थानीयको ताँती लागेको थियो । घुमाउरो करिब सात किलोमीटर लामो उकालो सडक पार गर्दै शुक्रबार पुर्खौली थलोमा पुगेका थिए, कोइराला परिवारका नाती पुस्ताका दुई दाजुभाइ । 

पुर्खौली थलोमा एकसाथ शशांक र शेखर

हजुरबुवा कृष्णप्रसाद कोइरालाको थातथलो सुनकोशी गाउँपालिका १ को धरणीडाँडामा गएर ती दाजुभाइ निकैबेर टहलिए । बीपी पुत्र नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला र केशव पुत्र केन्द्रिय सदस्य डा. शेखर कोइराला एकसाथ पहिलोपटक धरणीडाँडाको पुर्खौली थलोमा पुगेका थिए ।


भग्नावषेश मात्र रहेको हजुरबुवा कृष्णप्रसाद कोइरालाको घर वरिपरि दाजुभाइ कोइराला केही समय हेरे, घुमे र भावुक बनेको स्थानीयले बताएका छन् । नजिकै रहेको सुख्खा पोखरी र बारीको कान्लाहरुमा झर्दै, उक्लदै समेत गरेका थिए । स्थानीय धरणीडाँडाकै गंगा कोइरालाका अनुसार पुर्खौलीथलोमा आइपुग्दा दुवै दाजुभाइले आनन्दको अनुभुती गरेका थिए ।


‘दाजु शेखर र भाइ शशांक कोइराला दुवैको मुहार चहकिलो बनेको थियो,’ उनले भने, ‘पुर्खौली थलोमा आएर उहाँहरुले आनन्द लिँदा हामी छिमेकीहरु समेत खुसी भएका थियौं ।’


पुर्खौली थलोको भग्नावषेश मात्र रहेको घर र बारीमा फोटो, खिच्ने हेर्ने काम भएपछि सिन्धुली, रामेछाप र काभ्रे संगम दुम्जाको डाँडामा रहेको धरणीडाँडालाइ पर्यटकीय स्थलकारुपमा विकास गर्न दुवै दाजुभाइलाई सँगै रहेका कांग्रेस सिन्धुलीका सभापति उज्ज्वल बरालले सुझाएका थिए ।


धरणीडाँडाबाट देखिने सुनकोसी, त्यहाँको फाँट, बीपी राजमार्ग, रामेछापका डाँडावस्ती, काभ्रेका डाँडाहरु कोइराला दाजुभाइले एकसाथ नियालेका थिए ।


‘ज्यादै राम्रो देखिने रहेछ, यहाँबाट हेर्दा,’ डा. शशांकको भनाइ उद्धृतगर्दै सभापति बरालले भने, ‘मेरो मन प्रफुल्लित भएको छ । अब कांग्रेसलाई एकजुट बनाउन र पुर्खौली थलोको विकास गर्न उर्जा प्राप्त भएको महशुस भएको छ ।’


यसअघि एकपटक एक्लै आइसकेका शेखरको प्रतिक्रिया पनि उस्तै थियो । करिब आधा घण्टा कोइराला दाजुभाइले पर्खौली थलोमा बिताएका थिए । बीपी राजमार्ग प्रयोग गरेर पूर्वी नेपालसम्म पुगेका डा. शशांक भने धरणीडाँडामा उक्लिएका थिएनन् ।


धरणीडाँडामा वीपी प्रतिष्ठानको नाममा यतिखेर करिब डेढसय रोपनी बारी रहेको स्थानीय गंगा कोइरालाले जानकारी दिए । छिमेकी समेत रहेका उनको धरणीडाँडासम्म कालोपत्रे सडक र बीपी स्मृती पार्क निर्माण हुनुपर्ने माग रहेको छ ।


कोइराला परिवारको थातथलोका छिमेकी रिषी अधिकारीले बेलाबेलामा आराम गर्न आउनका लागि नाती पुस्ताले बाबुपस्ताले विराटनगरलाइ बनाएको जस्तै गर्न अनुरोध गरेका थिए । यी दाजुभाइलाई एकसाथ पुर्खौली थलोमा पुर्‍याउने मेसो रामेछाप बीपी प्रतिष्ठानले मिलाएको थियो । सुनकाशी गाउँपालिका कांग्रेसले तयार गरेको सामुहीक खाना एकसाथ कोइराला दाजुभाइले लिएका थिए ।


प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा कांग्रेस महामन्त्री शशांकले अबको निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने आफ्नो लक्ष्य रहेको बताए । ‘यही पुर्खौली थलोबाट पार्टी एक ढिक्का बनाउने साहस पैदा भयो,’ उनले भने, ‘अब कसैले हराउन सक्दैन । एमाले, माओवादी मिलेर केही फरक पर्दैन ।’


शेखर कोइरालाले कांग्रेस अहिले बोल्न सक्ने अवस्थामा नरहेको चर्चा गर्दै, बीपीले जन्माएको कांग्रेस कहिल्यै पनि अन्यायको पक्षमा नरहेको बताए । उनले स्वार्थीपन कांग्रेसमा हावी भएको उल्लेख गरे ।


प्रकाशित : माघ १९, २०७६ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?