कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नोवल कोरोना भाइरस प्रकोप : चीनतिरै लगिए मास्क

नुमा थाम्सुहाङ

काठमाडौँ — चीनको वुहान सहरबाट फैलिएको नोवल कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाली बजारमा समेत ‘एयर–फिल्टर मास्क’ को माग अत्यधिक बढेको छ । काठमाडौंका मेडिकल तथा सर्जिकल स्टोरमा मास्क किन्ने चिनियाँ नागरिकको भीड बढ्दो छ । सबैभन्दा सुरक्षित ‘एन–९५ मास्क’ को भने अभाव देखिएको छ । 

नोवल कोरोना भाइरस प्रकोप : चीनतिरै लगिए मास्क

नेपालमा चीनबाट आयात हुने मास्क अहिले भाइरस संक्रमणबाट बच्न चिनियाँ नागरिकले नै किनेर आफ्नो देश लगिरहेका छन् । यसको फाइदा प्रत्यक्ष बिक्रेताभन्दा बढी एजेन्टहरूले लिइरहेको ठमेलका रेस्टुराँ व्यवसायी बुद्धसिंह गुरुङले बताए । ‘एजेन्टले हाम्रो बजारमा स्टक नै सकिने गरी मास्क उठाइरहेका छन्,’ उनले भने, ‘केहीले भने स्थानीय फार्मेसीका लागि मास्क लुकाएर राखेका छन् ।’ उनले दुई सातायता बजारमा मास्कको माग अचाक्ली बढेको बताए ।


चिनियाँहरूले एन–९५ मास्क खोज्ने गरेका छन् । बिक्रेताहरूका अनुसार एन–९५ मास्क खोज्दै आउने चिनियाँहरूले साधारण पेपर मास्क मात्र छ भन्दा लाँदैनन् । कतिपय चिनियाँले भने साधारण मास्क पनि किन्ने गरेका छन् । त्रिपुरेश्वर, न्यु हिमालयन सर्जिकल हाउसका सञ्चालक युवराज बेलबासेले एन–९५ मास्कको सबै स्टक सकिएको बताए । ‘१० दिनमा २० कार्टुन नर्मल मास्क बेचेँ,’ उनले भने ।


बेलबासेको सर्जिकल हाउसमा दिनमा सयदेखि डेढ सय हाराहारी चिनियाँ नागरिक मास्क सोध्दै आउने गरेका रहेछन् । उनले आफूसँग १० हजार पिस साधारण मास्क स्टकमा रहे पनि बिक्री गर्न नचाहेको बताए । ‘यहाँकै फार्मेसीका लागि यति स्टक चाहिन्छ,’ उनले भने, ‘अहिले फार्मेसीमा पनि उत्तिकै माग बढेको छ ।’ यसरी मास्कको हाहाकार स्थिति आउला भन्ने अनुमान कसैले गरेको थिएन ।


‘चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि हाम्रो बजारमा पनि अचानक मास्कको संकट देखिएको छ,’ ठमेलकै पर्यटन व्यवसायी राम सिलवाल भन्छन्, ‘भएकै साधारण मास्कको समेत मूल्य बढाएर बेच्न थालिएको छ ।’

न्यु हिमालयनका बेलबासेले नेपालमा चीनमा जस्तै कुनै प्रकारको संक्रमण फैलिए बच्न के गर्ने भन्नेबारे सामान्य सोचाइसमेत कुनै तहबाट नराखिएको टिप्पणी गरे । ‘व्यापारीले तस्करीको शैलीमा मास्क बिक्री गरिरहेका छन् । यसलाई नियन्त्रण गर्न भन्सारबाट समेत रोक्नुपर्ने देखिएको छ,’ उनले भने ।


नेपालमा चीन, सिंगापुर र ताइवानबाट एन–९५ मास्क आयात गरिन्छ । चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि आयातमा प्रतिबन्ध छ । केमिकल एन्ड मेडिकल एसोसिएसन नेपालका अध्यक्ष सुरेश घिमिरेका अनुसार पछिल्ला १३ दिनमा एन–९५ मास्क एक लाख पिस हाराहारी बिक्री भएको छ । साधारण मास्क भने ५० लाख पिस बजारबाट उठिसकेको छ । ‘पहिले महिनामा एन–९५ मास्क १० हजार र साधारण मास्क दुई लाखदेखि अढाई लाख पिस बिक्री हुन्थ्यो,’ उनले भने । नेपालमा ८ सय हाराहारी सर्जिकल व्यवसायी छन् । होलसेलमा एन–९५ मास्कको मूल्य गुणस्तरअनुसार २ सयदेखि ८ सय रुपैयाँ पर्छ । साधारण मास्कको भने १ रुपैयाँ ८० पैसा पर्छ ।


बाहिरका फार्मेसीले भने यही नर्मल मास्कलाई प्रतिपिस १० रुपैयाँसम्म बिक्री गरिरहेका छन् । भक्तपुर, लोकन्थलीस्थित जीएच मेडिहेल्थ कन्सर्नका सञ्चालक होमप्रसाद गौतमले पछिल्ला १३ दिनमा नर्मल मास्क १ लाख ५० हजार पिस र एन–९५ मास्क ८ सय ५० पिस बेचिसकेको जानकारी दिए । ‘एन–९५ मास्क टीबीको अन्तिम अवस्थाका तथा भाइरसबाट संक्रमित बिरामी र संवेदनशील ल्याबमा मात्र प्रयोग हुन्छ । त्यसैले नेपालमा थोरै परिमाणमा मात्र एन–९५ मास्क आयात हुन्छ,’ उनले भने । उनका अनुसार कोरोना भाइरसको जोखिम बढेपछि यहाँका अस्पतालले पनि धेरै परिमाणमा एन–९५ मास्क माग गरिरहेका छन् । ‘तर उपलब्ध गराउन सकिँदैन,’ गौतमले भने । उनले गौतमले एन–९५ मास्क अहिले कुनै पनि सर्जिकल स्टोरमा नपाइने बताए । ‘भोलि यहाँ संक्रमण फैलियो भने बच्न मास्क छैन,’ उनले भने, ‘३ वटा स्वदेशी उद्योगले दिनमा ४ हजार पिससम्म नर्मल मास्क उत्पादन गरिरहेका छन् ।’


चिनियाँ नागरिकले बजारमा जति भेटिन्छ, त्यति नै नर्मल मास्क भए पनि उठाइरहेको गौतमको भनाइ छ । त्रिपुरेश्वरस्थित बीआर सर्जिकलका पुष्कर पनेरुले ३ दिनमा ५० कार्टुन नर्मल मास्क बेचेको सुनाए । एक कार्टुनमा २ हजार पिस हुन्छ । व्यापारको कुरा भएकाले किन आउनेलाई बेच्नै पर्ने पनेरुले बताए । ‘अब सरकारले नै यसमा व्यवस्थापन गर्नुपर्छ,’ उनले भने, ‘आफूलाई जति चाहिन्छ, त्यति राखेर बाहिर बिक्री गर्नुपर्छ ।’


चीन नै निर्यात भएर नेपालमा मास्क अभाव हुने अवस्था आएको एसोसिएसन अध्यक्ष घिमिरे बताउँछन् । भारतले नेपालमा मास्क निर्यात प्रतिबन्ध गरेको छ । ‘मास्कको माग अचानक वृद्धि भएको हो । संघका सबैलाई बिक्री नगर्न सचेत गराएका छौं,’ उनले भने, ‘अब बाहिर गइसकेको फिर्ता आउँदैन ।’ एन–९५ मास्क सरकारी अस्पतालमा चाहिने भएकाले तयारी अवस्थामा बस्न स्वास्थ्य मन्त्रालयलाई सुझाव दिइसकेको घिमिरेले बताए । भन्सार विभागका सूचना अधिकारी शिशिर ढुंगानाले भने मास्कका विषयमा केही जानकारी नभएको बताए । ‘मास्क निकासी गर्न मिल्दैन भनेर लेखी आएको छैन,’ उनले भने, ‘विभागलाई कुनै निर्देशन पनि छैन ।’

प्रकाशित : माघ १९, २०७६ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?