कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

फेसबुक, युट्युबमा विज्ञापन बैंकबाटै भुक्तानी नगरे कारबाही

विजय तिमल्सिना

काठमाडौँ — सामाजिक सञ्जालमा विज्ञापनका लागि अनौपचारिक माध्यमबाट रकम भुक्तान गरे विदेशी मुद्रा अपचलनअन्तर्गत कारबाही गर्ने चेतावनी राष्ट्र बैंकले दिएको छ । उसले बैंकिङ प्रणालीभन्दा बाहिरबाट हुने यस्तो भुक्तानी गैरकानुनी भनेको छ । 

फेसबुक, युट्युबमा विज्ञापन बैंकबाटै भुक्तानी नगरे कारबाही

‘फेसबुक, ट्‍वीटर, युट्युबजस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापनबापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानुनी हो,’ राष्ट्र बैंकले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ, ‘यस्ता कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकाले कसैले त्यसरी कारोबार गरेको पाइए विदेशी विनिमय ऐन र प्रचलित कानुनबमोजिम कारबाही हुनेछ ।’ विदेशी विनिमय ऐनमा सरकारी निकायको अनुमति नलिई गरेको विनिमयको कारोबार जफत गर्न सक्ने र बिगोको तीन गुणासम्म जरिवाना गर्न सक्ने प्रावधान छ । यस्तै बिगो नखुल्ने कारोबार भए कसुरको मात्रा हेरी दुई लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था ऐनमा छ ।


सामाजिक सञ्जालमा रकम भुक्तानी गर्न व्यवस्थित ‘पेमेन्ट गेटवे’ नभएकाले अधिकांश विज्ञापनदाताले अनौपचारिक माध्यमबाट भुक्तानी गर्दै आएका छन् । उनीहरूले विदेशमा बस्ने आफन्त वा विदेशी कम्पनीका तर्फबाट सामाजिक सञ्जालमा हुने विज्ञापनको रकम भुक्तानी गर्न लगाई त्यस्ता व्यक्तिलाई पैसा पठाउने गरेको राष्ट्र बैंकको अनुमान छ । राष्ट्र बैंकको सूचनासँगै युट्युबजस्ता सामाजिक सञ्जालमा भिडियो बनाएर आम्दानी गर्दै आएका नेपालीले पनि बैंकिङ प्रणालीमार्फत रकम लिनुपर्नेछ । त्यस्ता भिडियोमा विज्ञापन राखेबापत युट्युबले निश्चित प्रतिशत भिडियो निर्मातालाई उपलब्ध गराउँदै आएको छ । उक्त रकम प्रायःले विदेशमा रहेका आफन्त तथा साथीभाइको खातामा जम्मा गर्ने र अनौपचारिक माध्यमबाट नेपाल भित्र्याउने गरेको गुनासो आएकाले सूचना जारी गरिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । ‘कति रकम बाहिरिन्छ भन्ने तथ्यांक नभए पनि ठूलो रकम बाहिरिएको गुनासो छ,’ उनले भने, ‘सामाजिक सञ्जालको विज्ञापनका लागि हुने अनौपचारिक भुक्तानी डिजिटल हुन्डीजस्तो भएको रहेछ ।’


सामाजिक सञ्जालमा विज्ञापन गर्न चाहनेलाई औपचारिक माध्यमबाट भुक्तानी गर्ने प्रणाली पनि भएको उनले बताए । ‘तीन हजारसम्मको भुक्तानीका लागि बैंकबाटै तिर्न सकिन्छ,’ उनले भने, ‘तीनदेखि १० हजार रुपैयाँसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा बैंकबाट भुक्तानी गर्न सकिन्छ ।’ उनका अनुसार १० हजारभन्दा माथिको भुक्तानीका लागि राष्ट्र बैंकको सिफारिस आवश्यक पर्छ । यो प्रक्रिया पूरा नगरे कारबाही गर्ने चेतावनी राष्ट्र बैंकले दिएको हो ।


औपचारिक माध्यमबाट यसरी सिफारिस लिएर सामाजिक सञ्जालमा विज्ञापनबापतको रकम भुक्तानी गर्नेको संख्या नगण्य भएको उनले बताए । राष्ट्र बैंकले सार्वजनिक गरेको यो वर्षको मौद्रिक नीतिमा पनि सामाजिक सञ्जालमा हुने भुक्तानीलाई व्यवस्थित गर्ने उल्लेख छ । नेपाल विज्ञापन संघले सामाजिक सञ्जालमा विज्ञापन नियमन गर्नुपर्ने माग गरिरहेको अध्यक्ष शशि रिजालको भनाइ छ । ‘नयाँ सरकार आएदेखि हामीले पटकपटक सामाजिक सञ्जालमा हुने विज्ञापन नियमन गर्नुपर्ने माग गर्दै आएका थियौं,’ उनले भने, ‘राष्ट्र बैंकले गरेको निर्णय कसरी कार्यान्वयन हुन्छ, हेर्न बाँकी छ ।’


संघले सामाजिक सञ्जालमा हुने विज्ञापनबाट सरकारलाई पनि राजस्व आओस् भनेर नेपालमै दर्ता हुनुपर्ने माग गर्दै आएको उनले बताए । ‘राष्ट्र बैंकले अनौपचारिक माध्यमबाट विज्ञापनका लागि भुक्तानी गर्ने प्रक्रिया बन्द गर्नुअघि विज्ञसँग छलफल गरेको भए राम्रो हुन्थ्यो,’ उनी भन्छन्, ‘सूचना जारी भएकै दिनदेखि बन्द गर्नेभन्दा पनि केही समय दिएर नियमन गरेको भए हुन्थ्यो ।’


सामाजिक सञ्जालमा विज्ञापनबापत अनौपचारिक माध्यमबाट कति रकम बाहिरिन्छ भन्ने तथ्यांक कुनै पनि सरकारी निकायसँग छैन । विज्ञापन संघका अध्यक्ष रिजाल भने वार्षिक करिब ५ अर्ब रुपैयाँ सामाजिक सञ्जालमा विज्ञापनबापत बाहिरिने अनुमान गर्छन् । ‘नेपालमा उत्पादन बिक्री गर्ने बहुराष्ट्रिय कम्पनी र ब्रान्डले सामाजिक सञ्जालमा विज्ञापन गरेको हेर्दा यस्तो अनुमान गरिएको हो,’ उनी भन्छन्, ‘तर आधिकारिक तथ्यांक हामीसँग पनि छैन ।’ नेपालको कुल विज्ञापन बजार करिब १२ अर्ब रुपैयाँ हाराहारीमा भए पनि गत वर्ष बजार खुम्चिएर १० अर्बमा झरेको उनले बताए ।

प्रकाशित : माघ १७, २०७६ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?