ठग महाराज बेपत्ता भएपछि महायज्ञ अन्त्य 

काठमाडौँ, चितवन — नारायणी नदी किनारमा सुरु गरिएको एक महिना लामो महायज्ञ संचालनको एक सातामै अन्त्य गरिएको छ ।

ठग महाराज बेपत्ता भएपछि महायज्ञ अन्त्य 

महायज्ञको मूल वाचकका रुपमा रहेका बाल योगेश्वर महाराज बताउने विजय भण्डारीको ठगीले भरिएको विगतबारे कान्तिपुरले श्रृंखलाबद्ध समाचार प्रकाशित गरेपछि आयोजकले यज्ञ नै अन्त्य गरेको हो । एक समय आफूलाई विष्णु प्रपन्नाचार्य बताउने विजय आर्थिक ठगीको आरोपमा २०७१ पछि १८ महिना र २०७६ मा १९ दिन जेल बसेका थिए । जेलबाट निस्केपछि नाम बदलेर बाल योगेश्वर बनाएका उनीमाथि केही ठगी मुद्दा अदालतमा विचाराधिन छ । महायज्ञको उद्घाटन गर्न भन्दै गत शनिबार चितवन पुगेका उपराष्ट्रपति नन्दबहादुर पुनः मुख्य वाचकको विवादित पृष्ठभूमी थाह पाएपछि फिर्ता भएका थिए ।

महाराजकाे ठगीबारे कान्तिपुरमा प्रकाशित शृंखलावद्ध समाचारहरु


गत मंगलबार महायज्ञ आयोजक समितीले कान्तिपुरमा प्रकाशित समाचारको खण्डन गर्दै महाराजको बचाउ गरेको थियो । समितिका महासचिव एवं प्रवक्ता दिलिप न्यौपानेले ७२ लाख नदिएपछि कान्तिपुरले समाचार लेखेको आरोप लगाउँदै समाचारको खण्डन गर्न केही दिनमा महाराज स्वयं उपस्थित हुने बताएका थिए । उनले कान्तिपुरसँग कुरा गर्दै भनेका थिए, ‘एक दुई दिनमै महाराजको उपस्थितिमा पत्रकार सम्मेलन गरेर सबै कुरा स्पष्ट पारिनेछ ।’ प्रवक्ता न्यौपानले यस्तो दाबी गरेको तीन दिनपछि नै समितीले विज्ञप्ती जारी गर्दै महाराज आयोजक समितीको सर्म्पकमा नरहेको जनाएको हो ।

भरतपुर महानगरपालिका २३ स्थित महायज्ञ आयोजक पशुपतीनाथ मन्दिर व्यवस्थापन समितिले प्रेस विज्ञप्ती जारी गर्दै महायज्ञलाई निरन्तरता दिन नसकिने अवस्था आएको र सबै समिती उपसमिती भंग गरिएको जनाएको छ । समितिका अध्यक्ष मनोज पुडासैनीको हस्ताक्षरमा जारी विज्ञप्तीमा महाराजले विभिन्न आशा भरोसा दिएर पूरा हुन नसक्ने झुटा आश्वासन दिएको र त्यसैका कारण महायज्ञ संचालन गर्न प्राविधिक पक्षबाट असर्मथ भएको उल्लेख छ ।



मन्दिर व्यवस्थापनले यज्ञ संचालनका क्रममा आफूहरुले कुनै पनि आर्थिक सम्झौता नगरेको प्रस्ट पारेको छ । २५ करोड उठाउने लक्ष्य राखेर सुरु गरिएको महायज्ञ बीचमै विथोलिएपछि यज्ञ व्यवस्थापनमा यस अघि नै गरिएको खर्च कसले बेहोर्ने भन्ने प्रश्न उब्जिएको छ । समितीले महायज्ञका क्रममा विभिन्न संस्था तथा व्यक्तीसँग महाराज आफैले आर्थिक सम्झौता गरेको स्पष्ट पारेको छ ।


मुख्य वाचकसँग जोडिएर पत्रपत्रिकामा आएका समाचारहरुबाट आफूहरु स्तब्ध र लज्जित भएको जनाउँदै समितीले भनेको छ, ‘उहाँबाट जुन किसिमका गल्ती भएका हुन् या होईनन ती कुराहरु सम्बन्धित व्यक्तीलाई नै थाहा होला । यदी गल्ती गरेको भए सो को भागिदार स्वयं महाराज नै हुनुहोला ।’ समितिले कानुनी बाटोबाट छानविन गरी दोषी माथि उचित कारबाहीकाे माग पनि गरेको छ।

प्रकाशित : माघ १७, २०७६ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?