१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

पोखरा विमानस्थलमा कोरोना जाँच हेल्पडेस्क

लालप्रसाद शर्मा

पोखरा — चीनमा देखापरेर तीव्र गतिमा फैलिइरहेको कोरोना भाइरसका संक्रमितको जाँच गर्नका लागि पोखरा विमानस्थलमा हेल्पडेस्क स्थापना गरिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय र पोखरा महानगरपालिकाले शुक्रबारदेखि यस्तो व्यवस्था गरेका हुन् ।

चिनियाँलगायत अन्य देशका पर्यटक पनि आउने भएकाले विमानस्थलमा जाँचका लागि दुई स्वास्थ्यकर्मी आवश्यक उपकरणसहित परिचालन गरिएको हो ।


प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत तथा आपतकालीन कार्य संचालन केन्द्रका सूचना अधिकारी (कोरोना फोकल पर्सन) बाबुराम आचार्यका अनुसार पहिलो चरणमा हवाई मार्गबाट आउने पर्यटक र नेपालीका लागि पनि विमानस्थलमा हेल्पडेस्क राखिएको हो । ‘हेल्पडेस्कमा खटिएका दुई स्वास्थ्यकर्मीले रुघाखोकी, ज्वरो आएकाजस्ता शंकास्पद लक्षण देखिएकाको परीक्षण गरी उपचारका लागि अस्पताल पठाउनेछन्,’ उनले भने ।


आचार्यले आइतबारदेखि पोखराको प्रमुख पर्यटकीय केन्द्र लेकसाइडमा पनि हेल्पडेस्क राख्ने तयारी भइरहेको बताए । अहिलेसम्म पोखरामा कोरोना भाइरस संक्रमित भेटिएका छैनन् । विदेशी पर्यटकको आवतजावत बाक्लो हुने सहर भएकाले पहिले नै हेल्पडेस्क स्थापना गरिएको पोखरा महानगरले जनाएको छ।

प्रकाशित : माघ १७, २०७६ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?