निसासिएर ३ वर्षमा ३१ जनाले ज्यान गुमाए
काठमाडौँ — मालिका गाउँपालिका–४ म्याग्दीका ४२ वर्षीय हस्तकुमार थापा र ३४ वर्षीया पत्नी नेत्र पुनको ललितपुर महानगरपालिका–१४ विशालचोकस्थित ‘फिट एन्ड फाइन हेल्थ क्लब’ मा साउनापछि नुहाउने क्रममा बुधबार साँझ निसासिएर मृत्यु भएको छ । थापा तत्कालीन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापामगरका स्वकीय सचिव हुन् । प्रहरीका अनुसार थापा क्लबका नियमित ग्राहक थिए ।
माघ ७ गते दामनको पानोरमा रिसोर्टमा ग्यास हिटर बालेर सुतेका ८ जना भारतीय नागरिकको मृत्यु भयो । अनुसन्धानका क्रममा उनीहरूको मृत्यु अक्सिजनको कमीबाट भएको खुलेको थियो । पुस २० गते वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडाका हरिबहादुर कामी र उनकी पत्नी चन्दा कोइला बालेर सुतेका थिए । भोलिपल्ट बिहान चन्दा मृत र हरिबहादुर बेहोस अवस्थामा फेला परे ।
कसमस कलेजमा कक्षा १२ मा अध्ययनरत छात्रा १९ वर्षीया जेनेथ चौहानको पुस १९ गते ललितपुरको सातदोबाटोस्थित सुरिवा गर्ल्स होस्टेलको शौचालयमा निसासिएर ज्यान गयो ।
मंसिर २९ गते राति कोठा तताउन कोइला बालेर सुतेका कीर्तिपुर नगरपालिका–८ पाँगा बसपार्कका शर्मिला रञ्जितकार र २ वर्षीय छोराको पनि निसासिएर मृत्यु भयो । गोंगबुमा डेरा गरी बस्ने धादिङकी २२ वर्षीया संगीता रानामगरको २०७५ मंसिर ६ गते मृत्यु भयो । उनका श्रीमान् राम दर्लामी र ४ महिने छोरीलाई बेहोस अवस्थामा अस्पताल लगिएको थियो ।
२०७५ मंसिर १५ गते राति साँफेबगर नगरपालिका–३ की २१ वर्षीया पार्वती बुढाको छाउगोठमा आगो बालेर सुतेकै अवस्थामा निसासिएर मृत्यु भयो । महिनावारी भएका बेला छाउगोठमा बसेकी पार्वतीलाई न्यानो बनाउन आगो बालिएको थियो । २०७४ पुस २५ गते धरानमा दाउरा र भुसको आगो बालेर सुतेका एकै परिवारका ४ जना बेहोस भए । ३५ वर्षीय आलम मियाँ, उनकी पत्नी फोसिला खातुन, ७ वर्षीया आलिया खातुन र दुई वर्षीय आयात खातुन बेहोस अवस्थामा भेटिएकामा दुई जना बच्चाको ज्यान गुम्यो ।
जाडोयाममा निसासिएर ज्यान गुमाउनेको संख्या बर्सेनि बढ्दै गएको छ । चिसो छल्न राति ग्यास तथा विद्युतीय हिटर, गोबरका गुइँठा र दाउरा बालेर निदाउँदा अक्सिजन अभावले अधिकांशको मृत्यु हुने गरेको हो । बन्द कोठामा हिटर तथा आगो बाल्दा बाहिर हावा पास नहुने तथा अक्सिजनको कमीका कारण मानिसहरू सुतेकै अवस्थामा बेहोस हुने गरेका चिकित्सकहरूको भनाइ छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो ३ वर्षमा मात्रै ३१ जनाले सुतेकै ठाउँ र साउना लिने क्रममा ज्यान गुमाएका छन् ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी शैलेश थापाका अनुसार गत साउनयताका ८ घटनामा निसासिएर १४ जनाले ज्यान गुमाएका छन् । ५ जनालाई बेहोस अवस्थामा अस्पताल लगिएको थियो । आर्थिक वर्ष २०७५/०७६ का ६ वटा घटनामा १० जनाको मृत्यु र ६ जना बेहोस भएका थिए । त्यसैगरी, ०७४/०७५ का ६ वटा घटनामा ७ जनाको मृत्यु र ४ जना बेहोस अवस्थामा भेटिए ।
चिकित्सकहरूका अनुसार जाडोयाममा न्यानो बनाउँदा उत्पन्न तापसँगै निस्कने कार्बन मोनोअक्साइड (सीओ) को विषाक्त ग्यास बाहिर पास हुनुपर्छ । तर त्यस्तो ग्यास पास नहुँदा निदाएका मानिसलाई श्वासप्रश्वासमा समस्या हुन्छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जको फरेन्सिक मेडिसिन विभागका चिकित्सक डा. गोपालकुमार चौधरीका अनुसार शव परीक्षणका क्रममा कार्बनमनोअक्साइड विशाक्तताले मृत्यु भएका व्यक्तिको संख्या ३ दर्जन नाघिसकेको छ ।
गत वर्ष मात्रै यस्तो विषाक्तताले मृत्यु भएपछि अस्पताल ल्याइएकाको संख्या १७ रहेको विभागको तथ्यांकमा छ । तर प्रहरीसँग गत वर्ष १० जनाको यस्ता घटनामा मृत्यु भएको तथ्यांक छ । युनाइटेड स्टेट्स इन्भारोमेन्टल प्रोटेक्सन एजेन्सी (यूएस ईपीए) का अनुसार ग्यास, तेल, कोइला, पेट्रोल वा दाउराजस्ता कार्बनयुक्त इन्धन पर्याप्त हावाको कमीका कारणले पूर्ण रूपमा डढ्न नसक्दा सीओ ग्यास उत्पन्न हुन्छ । अर्थात् कुनै पनि इन्धन, प्राकृतिक ग्यास, प्रोपेन, पेट्रोल, तेल, मट्टीतेल, काठ वा कोइलालाई डढाउँदा कार्बनमोनोअक्साइड ग्यास उत्सर्जन हुन्छ ।
बन्द वा सुत्ने कोठामा हिटर तथा गिजरजस्ता उपकरण गलत तरिकाले जडान गर्दा पनि यस्ता घटना हुने गरेका चिकित्सकको भनाइ छ । कोठामा चिम्नी, हावा ओहोरदोहोर हुने झ्याल वा भेन्टिलेटर नहुँदा पनि मानिसहरू बेहोस हुने गरेका छन् ।
‘कार्बनमोनोअक्साइडको विषाक्त प्रभावबाट बच्न उपकरण उपयोगको समय घरभित्र भेन्टिलेसन कायम राख्नुपर्छ,’ त्रिवि शिक्षण अस्पताल, आकस्मिक मेडिसिन विभागका डा. प्रतापनारायणप्रसाद भन्छन्, ‘कोठाको भेन्टिलेसन सही नहुँदा हिटर, गिजरबाट निस्किने ग्यासले स्वास्थ्यलाई प्रभावित गर्छ ।’
प्रकाशित : माघ १७, २०७६ ०७:४५