‘महाराज’ भागेपछि बिचल्ली

रमेशकुमार पौडेल

(चितवन) — जगतपुरको पशुपति मन्दिरका लागि नारायणगढमा हुँदै गरेको महायज्ञका प्रमुख वाचक ‘बालयोगेश्वर’ भनिने विजय भण्डारी व्यवस्थापनका काममा बढी खटिने गर्थे । महायज्ञका लागि सबैभन्दा खर्चिलो काम टेन्ट व्यवस्थापन र भव्य नौतले हवन कुण्ड बनाउन उनैले सम्झौता गरेका थिए ।

‘महाराज’ भागेपछि बिचल्ली

जगतपुर नयाँ बस्तीमा रहेको पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज पुडासैनीले कात्तिक २८ मा भरतपुर महानगरपालिकासँग नारायणगढस्थित नारायणी नदी किनारको चौर पुस २० देखि उपलब्ध गराउन अनुरोध गरेका थिए । महानगरले ठाउँ दिएपछि कामका लागि विभिन्न निकायसँग सम्झौता गर्न विजय भण्डारी अग्रसर भए । पुस ९ मा मण्डप निर्माण तथा टेन्टको सम्झौता भएको छ । ३५ लाख रुपैयाँमा टेन्ट र हवन कुण्डको नौ तले मण्डप निर्माणको सम्झौता हुँदा पहिलो पक्षका मूल आयोजक समारोह समितिका तर्फबाट संकल्पकर्ता एवं प्रमुख वाचक उल्लेख गर्दै ‘बालयोगेश्वर महाराजश्री’ ले हस्ताक्षर गरेका छन् । नारायणगढको संगम टेन्ट हाउसले यो कामको जिम्मा लिएको थियो । ‘महाराज’ को टिम तीन महिनादेखि चितवनमा सक्रिय थियो । यज्ञ आयोजक मूल समितिको संयोजक लालबहादुर दवाडी हुन् । मण्डपसमेत बनेर सकिएका बेला पुस २२ मा आफू समितिको संयोजक भएको दवाडीले बताएका छन् ।


महायज्ञबाट २५ करोड रुपैयाँ उठाएर पशुपति मन्दिर क्षेत्रलाई पर्यटकीय धाम बनाउने भनिएको छ । मन्दिर परिसरमा लालपुर्जा नबनेको तर फिल्डबुकमा कायम भएको अढाई बिघा र अन्य ऐलानी डेढ बिघा गरेर चार बिघाजति जमिन छ । मन्दिर क्षेत्रमा ‘महाराज’ का लागि आश्रमसमेत बनाउन समिति तयार भएको थियो । विभिन्न ठगी काण्डमा मुछिएको समाचार सार्वजनिक भएपछि अघिल्लो शनिबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने भनिएको ‘महायज्ञ’ विवादमा परेको छ । उपराष्ट्रपति पुन उद्घाटन नगरी फर्किए । सुरुका दुई दिन यज्ञस्थलमा देखिएका भण्डारी त्यसपछि सम्पर्कविहीन छन् ।


आयोजक समितिले नयाँ वाचक ल्याएर प्रवचन सुरु गरेको छ । ‘महाराज’ ले सम्झौता गरेका आधारमा उधारोमा सामान दिएकाहरू भने अहिले आफूहरू डुबेको गुनासो गर्न थालेका छन् । महाराजले टेन्टको प्रबन्धदेखि खाने–बस्ने सबै व्यवस्था उधारोमा गरेका थिए । एक जना व्यवसायीका अनुसार ‘महाराज’ का लागि नारायणगढ बजार क्षेत्रबाट मात्रै सवा करोड रुपैयाँभन्दा बढीको उधारो गएको छ । व्यवसायीका अनुसार ‘महाराज’ ले पूर्वप्रधानमन्त्रीहरू, उपराष्ट्रपतिलगायतसँग आफ्नो सम्पर्क भएको बताउँथे । ‘धर्मका विषयमा धेरै शंका गर्न भएन, ठूलै महायज्ञ लगाउने भएपछि गडबड होला भनेर पहिल्यै के ख्याल राख्नु ? पैसा ढिला आए पनि धार्मिक क्षेत्रमा गरेको काममा हामी डुब्दैनौं भनेर उधारो दिएको हो,’ संगम टेन्ट हाउसका सञ्चालक कुरेस अहमदले भने, ‘यज्ञ लगाएपछि आर्जन होला भन्ने विश्वासले काम गरेका हौं । खर्च कसरी उठाउने हो तनाव भएको छ ।’ महाराजले यज्ञ सुरु हुनभन्दा अघि नै दिएको चेकसमेत बैंकबाट नसाटिएको व्यवसायीहरू बताउँछन् ।


आयोजकले बुधबारदेखि प्रमुख वाचकका रूपमा ईश्वर रेग्मीलाई ल्याएका छन् । बिहीबार दिउँसो यज्ञस्थल पुग्दा मध्याह्न विश्राम चलेको थियो । नौ तले हवन कुण्डको पूर्वी दिशामा बुद्ध सालिक आडमा नौ जना ब्राह्मणहरू गुनासो गर्दै बसेका थिए । भारत वृन्दावनमा संस्कृत पढ्दै गरेका विद्यार्थीलाई महिनाको ३० हजार रुपैयाँ तलब र पाँच हजार रुपैयाँ भाडा दिने भनेर झिकाइएको थियो । त्यहाँबाट ५० जनाजति ब्राह्मणहरू आएका थिए । १०८ हवन कुण्डमा हवन गर्नका लागि १२७ जनाजति ब्राह्मण तयार थिए । तर गुरु विवादमा परेर भक्तहरू आउन छाडेपछि आधाजसो ब्राह्मण फर्किसकेका छन् ।


कुण्डमा होम्ने चरु र समिदासमेत पाउन गाह्रो भएको ब्राह्मणहरूले दुखेसो गरे । हवनका लागि निम्त्याइएका कलिला ब्राह्मणले ती मुढा चिरेर समिदा बनाउने गरेका छन् । २ बजेबाट प्रमुख वाचक ईश्वर रेग्मीले कथा भन्ने भनिए पनि ३ बजेसम्म उनी आएका थिएनन् । यज्ञ स्थलमै भेटिएका पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुडासैनीले नयाँ व्यवस्थापनका साथ यज्ञ अगाडि बढ्ने र कसैको बिचल्ली नहुने दाबी गरे ।

प्रकाशित : माघ १७, २०७६ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?