कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

ठग ‘महाराज’ को राजनीतिक साइनो

उपराष्ट्रपति, राष्ट्रिय सभा अध्यक्ष, नेकपा अध्यक्षलगायत राष्ट्रिय तथा स्थानीय नेतासँग विभिन्न सन्दर्भमा बसेका तस्बिरहरु भजाएर थुप्रै व्यक्तिलाई ठगिसकेका विजय भण्डारीले धार्मिक कार्यमा अमेरिका पठाइदिने भन्दै रकम असुल्दा पनि नेताहरुसँगकै साइनोलाई आधार बनाउने गरेको पाइएको छ ।
जनकराज सापकोटा

काठमाडौँ — महायज्ञ उद्‌घाटन गर्न भन्दै गत शुक्रबार चितवन पुगेका उपराष्ट्रपति नन्दबहादुर पुन मुख्य वाचकको विवादित पृष्ठभूमि थाहा पाएर कार्यक्रममा नगई आइतबार काठमाडौं फर्किए । तर यिनै ‘महाराज’ भनिने विजय भण्डारी मुख्य वाचक रहेको महायज्ञमा यसअघि उपराष्ट्रपति विशेष अतिथिको भूमिकामा सहभागी भइसकेका थिए ।

ठग ‘महाराज’ को राजनीतिक साइनो

गत वैशाख ३–१३ मा फर्पिङको त्रिभुवन आदर्श आवासीय माविले आयोजना गरेको धनधान्याचल महायज्ञमा उपराष्ट्रपति सहभागी भएका हुन् । त्यतिबेला महाराजले बोलाएर नभई विद्यालयले निमन्त्रणा गरेकाले उनी कार्यक्रममा गएको दाबी स्वकीय सचिव मिलन डाँगीले गरे । उपराष्ट्रपतिले महायज्ञको कार्यक्रम समापन गरेर फर्केकै साँझ ‘महाराज’ लाई प्रहरीले पक्राउ गरेको थियो । ठगी मुद्दामा पक्राउ परेका उनी वैशाख १३ देखि १८ दिनसम्म डिल्लीबजार कारागार बसेका थिए । निस्केपछि पनि उनी विभिन्न धार्मिक कार्यमा सहभागी भइरहे । गत भदौ २८ देखि असोज ११ सम्म उनले गुल्मीको रिडीमा महायज्ञ लगाए । शुक्र अस्तको समयमा महायज्ञ लगाउन नहुने भन्दै नेपाल पञ्चांग निर्णायक समितिले गरेको आदेशविपरीत लगाइएको उक्त महायज्ञमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सेनासँगै भण्डारी एउटै मञ्चमा देखिएका थिए ।


धार्मिक कार्यमा अमेरिका पठाइदिने भन्दै रकम ठग्ने बेलामा पनि भण्डारीले राजनीतिक दलका विभिन्न नेतासँग खिचिएका तस्बिर देखाउँदै प्रभावमा पार्ने गरेको देखिन्छ । भक्तपुर झौखेलका अमृत दाहालले महाराजले तत्कालीन राष्ट्रपति रामवरण यादवसँगै बसेको तस्बिर देखाएर आफ्नो पहुँच देखाएको बताए । उनले भने, ‘ठूल्ठूला नेतासँग संगत छ भन्ने देखाएर हामीलाई फसाए ।’ २०६९ माघमा ‘महाराज’ को कलंकीस्थित आश्रम भनिएको घरमा पुग्दा दलका ठूला नेतासँग बसेको तस्बिर उनले भित्ताभरि टाँगेको देखिन्थ्यो ।


महाराजको फेसबुकमा समेत राजनीतिक दलका राष्ट्रिय तथा स्थानीय नेतासँग बसेका तस्बिरहरू राखिएको छ । सप्तरीको कञ्चनरूप नगरपालिकामा आयोजित धान्याचल महायज्ञमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सेनालाई उपहार दिँदै गरेको तस्बिर पोस्ट गरिएको छ । गत मंगलबार चितवनको पत्रकार सम्मेलनमा आयोजक समितिका महासचिव तथा प्रवक्ता दिलीप न्यौपानेले महाराजका प्रत्येक यज्ञमा नेताहरूको उपस्थिति रहने गरेको बताउँदै भनेका थिए, ‘त्यसैले पैसाको कारणले, कमाइ धन्दाका कारणले अर्कोलाई उचाल्ने थेचार्ने कुरा नगर्नुस् ।’


महाराजको शरणमा विद्यालय

भरतपुर–२१ पहाररिलोटारस्थित भानु मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुन्, नेकपाका जिल्लास्तरीय नेता दिलीप न्यौपाने । न्यौपाने हाल नारायणगढको नारायणी नदीकिनारमा यिनै महाराजलाई मुख्य वाचक बनाएर आयोजना गरिएको महायज्ञको महासचिव र प्रवक्ता छन् ।


२०७५ पुस १–११ मा यही स्कुलले गरेको धनधान्याचल महायज्ञमा पनि यिनै ‘महाराज’ मुख्य वाचक थिए । त्यतिबेला विद्यालयसँग ‘महाराज’ कसरी जोडिए ? विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद भट्टका अनुसार महाराज आफैंले विद्यालयमा महायज्ञको प्रस्ताव ल्याएका थिए । एक करोडभन्दा थोरै पैसा उठे एक रुपैयाँ पनि नलिने बताउँदै उनले जोडबल गरेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तयार भएका थिए ।


त्यतिबेला हेलिकप्टर चढेर यज्ञस्थलमा आएका उनले आफू बस्नका लागि भने स्कुलभन्दा केही परको ठाउँ रोजेका थिए । महाराजबाट पीडित धादिङ र रसुवाका केही व्यक्ति फसेको रकम उठाउन भन्दै कार्यक्रमस्थलसम्मै पुगेका थिए । ठगीको कुरा बाहिरिने र विवाद बढ्ने भयले ‘महाराज’ भरतपुर–२१ का वडाध्यक्ष एवं कांग्रेस जिल्ला सदस्य चित्रसेन अधिकारीको घरमा बास बसेका थिए । कान्तिपुरसँग सम्पर्कमा आएका शिक्षकहरूका अनुसार महाराजको विवादित व्यक्तित्वबारे विद्यालयले थाहा पाए पनि यज्ञ विवादित हुने डरले मौनता साधेको थियो ।

'महाराज' को ठगी धन्दाबारे कान्तिपुरमा शृंखलाबद्ध प्रकाशित समाचार -

१. महाराजको आवरणमा ठगी

२. ठग ‘महाराज’ नेतृत्वकाे कार्यक्रममा उपराष्ट्रपति सहभागी नहुने

३. ‘महाराज’ को ठगी धन्दा : यसपल्टको लक्ष्य २५ करोड
४. महाराजको ठगी धन्दा : पुराना फकाउँदै नयाँ ठग्दै

५. ‘महाराज’ विरुद्ध ठगी मुद्दाको चाङ
६. आफ्नै लागि आश्रम बनाउने दाउमा रहेका ‘महाराज’ कहाँ छन् ?

विद्यालयले महाराजकै जोडबलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई कार्यक्रममा बोलायो । स्थानीयका अनुसार यज्ञमा दाहाल आफू मात्रै पुगेनन्, नेकपाका महासचिव विष्णु पौडेललाई पनि लिएर गए । नेताहरूको यही उपस्थिति ‘महाराज’ का निम्ति शक्ति देखाउने आवरण भइदियो । विद्यालय व्यवस्थापन समितिका एक सदस्यले कान्तिपुरसँगको कुराकानीमा विवादास्पद महाराजलाई यज्ञमा मुख्य वाचक बनाएर विद्यालयले त्यसबेला गल्ती गरेको बताए ।

व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेसँगको निकटताका कारण महायज्ञपछि पनि विद्यालयले ‘महाराज’ लाई निरन्तर आफ्ना कार्यक्रममा आमन्त्रण गरेको देखिन्छ । गत पुस ६ गते विद्यालयले ५८ औं वार्षिकोत्सवमा प्रदेश ३ सरकारका सामाजिक विकासमन्त्री युवराज दुलाल र ‘महाराज’ लाई विशेष अतिथिका रूपमा एउटै मञ्च प्रदान गर्‍यो । विद्यालयले ‘महाराज’ लाई कति महत्त्व दिएको छ भने वार्षिकोत्सवका निम्ति छापिएको निमन्त्रणा कार्डमै ‘महाराज’ र मन्त्रीको उपस्थितिलाई गरिमाका रूपमा उल्लेख गरिएको छ ।


प्रधानाध्यापक पूर्णप्रसाद भट्टले ‘महाराज’ विवादित भएको सुन्दा विगतका कामप्रति आफूहरूलाई ग्लानि भएको बताए । ‘महाराज’ को पृष्ठभूमि जान्दाजान्दै पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेले पछिल्लो महायज्ञमा यिनैलाई मुख्य वाचक राख्न जोडबल गरे । स्कुलका एक शिक्षकले भने, ‘विवादित व्यक्तिलाई बोकेर उहाँ किन हिँडिरहनुभएको छ ?

के स्वार्थ छ, हामीले बुझ्नै सकेनौं ।’


प्रधानाध्यापक भट्टका अनुसार महायज्ञमा ४ करोड ३५ लाख बोलकबोल भए पनि नगद भने ८० लाख उठेको थियो, जसमा करिब ६० लाख खर्च भएको थियो भने सुरुमा पैसा नलिने बताएका महाराजले २५ लाख रुपैयाँ पारिश्रमिक बुझेका थिए । उनले भने, ‘महायज्ञ सकिँदा विद्यालयसँग नगद रकम खासै थिएन । पछि बोलकबोल भएको रकम अलि–अलि उठ्यो ।’ उनका अनुसार धान्याचलमा कबोल भएको करिब एक करोड

रुपैयाँ अझै उठ्न बाँकी छ ।


विद्यालय स्रोतका अनुसार व्यवस्थापन समितिका अध्यक्षले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भवन बनाउन दिएको ६८ लाख, महानगरपालिकाले दिएको २५ लाख र वडा कार्यालयले दिएको १० लाख र संसद् विकास कोषबाट दिने भनिएको ५० लाखलाई पनि महायज्ञको चन्दाका रूपमा प्रस्तुत गरेर महायज्ञमा धेरै रकम उठाएको प्रचार गरिएको थियो । स्रोतका अनुसार महानगरपालिका र संसद् कोषबाट दिने भनिएको रकम आइसकेको छैन । वडाले दिने भनेको १० लाखमध्ये २ लाख ५० हजार मात्रै आएको छ ।


महायज्ञ लगाए पनि विद्यालयको आर्थिक अवस्था भने अझै पनि कमजोर छ । विद्यालयको खातामा शिक्षकको तलब भन्दै आएको रकम रकमान्तर गरेर अन्य काममा खर्चिएको छ । जसका कारण पछिल्लो दुई महिनाको तलब शिक्षकहरूले पाएका छैनन् । अहिले वाणिज्य बैंकमा रहेको विद्यालयको खातामा पैसा छैन । गत साउनमा आफू प्रधानाध्यापक भएर आउँदा विद्यालयको ऋण ३८ लाख रहेको भट्टले सुनाए । उनले भने, ‘अहिले पनि गाडी किन्दाको २० लाख र अन्य १८ लाख जति विद्यालयको ऋण छ ।’


कान्तिपुरको सम्पर्कमा आएका विद्यालयका एक शिक्षकले स्कुलको आर्थिक अवस्था क्रमशः जर्जर बन्दै गएको तर व्यवस्थापन समितिका अध्यक्षसँग यस विषयमा कसैले प्रश्न गर्न सक्ने अवस्था नरहेको बताए । ती शिक्षकले भने, ‘अध्यक्षको महाराजसँग अनौठो सम्बन्ध कस्सिएको छ, यता स्कुलको यो गति छ ।’ पूर्वप्रधानाध्यापक एवं हालका शिक्षक दामोदर बरालले विगतमा विवादित महाराज स्कुलमा ल्याउनु आफूहरूको भूल भएको स्विकारे । उनले भने, ‘यस्तो गल्ती अब गर्नुहुन्न ।’

प्रकाशित : माघ १७, २०७६ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?