कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेकपा बैठक : ‘अहिलेकै अवस्थामा एमसीसी अनुमोदन नगरौं, ठूला व्यापारीबाट चन्दा नलिऔं’

बबिता शर्मा

काठमाडौँ — नेकपाको जारी केन्द्रीय समिति बैठकअर्न्तगत बिहीबार भएको समूहगत छलफलमा अहिलेकै अवस्थामा एमसीसी सम्झौता अनुमोदन गर्न नहुने धारणा अधिकांश सदस्यले राखेका छन् ।

नेकपा बैठक : ‘अहिलेकै अवस्थामा एमसीसी अनुमोदन नगरौं, ठूला व्यापारीबाट चन्दा नलिऔं’

बुधबारदेखि जारी बैठकमा अध्यक्षद्वयको तर्फबाट पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदन, महासचिव विष्णु पौडेलले पेस गरेको संगठनात्मक र विधान संशोधन प्रस्तावमाथि समूहगत रुपमा छलफल भएको थियो ।

१५ समूह बनाएर राष्ट्रिय सभागृह, पार्टी मुख्यालय धुम्बाराही र पेरिसडाँडामा छलफल भएको थियो । छलफल सुरु गर्नुअघि प्रत्येक समूहले टोली नेता चयन गरेका थिए । छलफलमा सदस्यहरुले राजनीतिक र संगठनात्मक प्रतिवेदन, विधान संशोधन प्रस्तावबाहेक अन्य विषय पनि उठाएका छन् ।

नेताहरुका अनुसार एमसीसी सम्झौता अहिलेकै अवस्थामा अनुमोदन गर्न नहुने धारणा सबै समूहमा अधिकांश सदस्यले राखेका हुन् ।

‘अहिलेकै अवस्था एमसीसी अनुमोदन गर्नु हुँदैन । यही अवस्थामा अनुमोदन गर्दा राष्ट्रिय हित र राष्ट्रियतामा ठूलो क्षति पार्दैन भन्ने विश्वासिलो जवाफ आउनु पर्‍यो भन्नेकुरा अधिकांश सदस्यहरुले राख्नु भएको छ,’ समूह दशका सदस्य युवराज चौलागाईंले भने, ‘एउटा राजनीतिक र सो सम्बन्धी विज्ञ मान्छेहरुको समिति गठन गर्ने, त्यसले सबै डकुमेन्टहरु हेर्ने अनि जे निश्कर्ष निकाल्छ त्यसलाई पार्टीले अनुमोदन गर्ने सुझाव सदस्यहरुले राख्नु भएको छ ।’

बुधबार उद्घाटन मन्तव्यमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमसीसीमा अनावश्यक विवाद, आशंका नगर्न नेताहरुलाई आग्रह गरेका थिए । ओलीले एमसीसी परियोजना इन्डोप्यासिफिक रणनीतिको अंग नभएको पनि बताएका थिए ।

समूह १४ का नेता राम कार्कीका अनुसार यो समूहमा पनि विशेषज्ञमार्फत् एमसीसी अध्ययन गरेरमात्रै अनुमोदन गर्नुपर्ने धारणा अधिकांश सदस्यहरुले राखेका छन् । यसबाहेक यो समूहमा नेताहरु पारदर्शी हुनुपर्ने, ठूला व्यापारिक घरानाबाट चन्दा लिन नहुने कुरा अधिकांश सदस्यले उठाएका छन् । यस्तै चुनावलाई कम खर्चिलो बनाउनु पर्ने धारणा पनि सदस्यहरुको छ ।


समूह ७ का उपनेता निरज आचार्यका अनुसार यो समूहमा एमसीसीबारे मन्त्रीहरूको फरकफरक धारणा आएकाले समाजलाई विभाजन गरेको कुरा सदस्यहरुले उठाएका छन्। यसको समाधानका लागि विज्ञ र नेताहरू सम्मिलित आयोग बनाइ सुझाव लिएर टुंगो लगाउनुपर्ने धारणा उनीहरुकाे थियो ।

समूह तीनका नेता खिमलाल भट्टराईले भने एमसीसीलाई कार्यान्वयन गर्नुअघि यसको विरोध भइरहेको भन्दै नेतृत्वले जनता र कार्यकर्ता सामू स्पष्ट पार्नुपर्ने बताए ।

सबै कमिटीमा ३३ प्रतिशत महिला हुनुपर्‍यो

यस्तै सबै समूहमा पार्टी कमिटीमा महिला सहभागिताको विषय उठेको नेताहरुले बताएका छन् । समूह दुईका नेता कमला रोकाले पार्टीका प्रत्येक कमिटीमा महिलाको सहभागिता समान रूपमा हुनुपर्ने, अध्यक्ष वा उपाध्यक्षमध्ये एकजना महिला अनिवार्य व्यवस्था गर्नुपर्ने विषय उठेको बताइन् ।

नेकपाको केन्द्रीय समितिमा करिब १७ प्रतिशतमात्रै महिला छन् । ४५ सदस्यीय स्थायी समितिमा २ जना महिला छन् भने केन्द्रीय सचिवालयमा एकजना पनि महिला छैनन् । गत महिना बसेको स्थायी समिति बैठकमा अष्टलक्ष्मी शाक्य र पम्फा भुसालले सचिवालय बढाएर १५ सदस्य बनाउनु पर्ने माग उठाएका थिए । यो विषय अहिले अन्य सदस्यहरुले पनि उठाएका हुन् । समूह ७ का निरज आचार्यका अनुसार यो समूहमा पनि महिला सहभागिताको विषय सदस्यहरुले जोडतोडले उठाएका थिए ।

छलफलमा सदस्यहरुले सरकारका कामकारबाही प्रभावकारी नभएको, पार्टीमा नेतृत्वले गुटबन्दी गरेको विषय पनि उठाएका छन् ।

समूह तीनका नेता खिमलाल भट्टराईका अनुसार पार्टी एकताको काम सबै तत्काल सम्पन्न गर्नुपर्ने, गुटबन्दीका समस्या, नेता र कार्यकर्ताबीचका समस्या समाधान गरेर जानुपर्ने अधिकांश सदस्यहरुले उठाएका छन् । सरकारले राम्रा काम गरेको तर प्रचार हुन नसकेको पनि केही सदस्यहरुले धारणा राखेका छन् । समूह सातमा लिम्पियाधुरासहितको नक्सा छाप्न सरकारलाई केन्द्रीय समितिले निर्देशन दिनुपर्ने कुरा पनि उठेको छ ।

पार्टीलाई विधि विधान अनुरुप चाउनुपर्ने, एक व्यक्ति एक पद लागु गर्नुपर्ने धारणा पनि अधिकांशले समूहगत छलफलमा राखेका छन् । यस्तै केही सदस्यले सचिवालय सदस्य बामदेव गौतमलाई उपाध्यक्ष बनाउनुको औचीत्यमाथि प्रश्न गरेका थिए ।

प्रकाशित : माघ १६, २०७६ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?