आवश्यक देखिए चीनबाट विद्यार्थी फिर्ता ल्याउन सकिन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

'नेपाली विद्यार्थी सुरक्षित छन्'

काठमाडौँ — परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई ‘आवश्यक देखिएको अवस्थामा’ घर फिर्ता गराउन सकिने र यसका लागि बेइजिङस्थित दूतावास निरन्तर सम्पर्कमा रहेको जानकारी दिएका छन् ।

आवश्यक देखिए चीनबाट विद्यार्थी फिर्ता ल्याउन सकिन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

नोवल कोरोना भाइरसको फैलदो संक्रमणकै कारण नेपाली विद्यार्थीले कुनै प्रकारको गम्भीर र असहज स्थिति बेहोर्ने अवस्था नदेखिएको बताउँदै ज्ञवालीले यो संक्रमणभन्दा बढी संक्रमितलाई ‘आइसोलेसन’मा राख्नुपर्ने अवस्था जटील रहेको बताए ।


‘स्थिति जटील नदेखिएकै अवस्थामा विद्यार्थीलाई घरफिर्ती गराएर पनि हुन्न,’ उनले भने, ‘चीन सरकारले पनि सक्दो सेवा सुरक्षाको ख्याल गरेर स्थितिलाई नियन्त्रणमा लिँदै गएको स्थिति देखिन्छ ।’ मन्त्री ज्ञवालीले ‘कर्‍फ्यूकै बेलामा पनि घरबाहिर निस्केर सेल्फी लिन खोज्ने नेपाली स्वभावका कारण’ अहिले चीनमा देखिएको भाइरस संक्रमणको यो घडीमा संवेदनशील भएर संयमपूर्ण व्यवहार देखाउनु जरुरी रहेको बताए ।


बेइजिङस्थित उपनियोग प्रमुख शुशिल लम्सालले पनि बाहिरी सूचनामा आएझैं भारत र श्रीलंकाका विद्यार्थीहरु घरफिर्ती भैनसकेको जनाउ दिँदै यसका लागि चीन सरकारको ‘क्लियरेन्स’ लिने काम भइरहेको बताए । ‘हाम्रा विद्यार्थीहरु सुरक्षाको घेरामा छन्, संक्रमणको संकेत देखिएको छैन,’ लम्सालले कान्तिपुरसँग भने, ‘सेवा–सुरक्षाभन्दा अत्तालिएर घरफिर्तीको हतारो गरिएको अवस्थामा संक्रमण अझ फैलन सक्ने त्रास देखिन्छ, विद्यार्थीहरुसँग हामी निरन्तर सम्पर्कमा छौं ।’


चीनले पनि स्थिति नियन्त्रणमा आउने भन्दै आफ्ना नागरिक/विद्यार्थी फिर्ता लैजान अपिल गरिनसकेको लम्सालले बताए ।


वुहानबाट कान्तिपुरको सम्पर्कमा आएका नेपाली विद्यार्थीहरुले भने आफूहरुको उद्दार गरिदिन आग्रह गरेका छन् ।

प्रकाशित : माघ १६, २०७६ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?