१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

द्विविधामा नेकपा : एकतातिर भावनात्मक एकता, अर्कोतिर गुटगत शक्ति संघर्ष

पार्टी एकताको बीस महिनासम्म नेकपामा किन भएन भावनात्मक एकता ?
बबिता शर्मा

काठमाडौँ — तत्कालीन एमाले र माओवादीबीच २०७५ जेठ ३ मा पार्टी एकता हुँदादेखि उठेको भावनात्मक एकताको विषय अझ कायमै छ । बुधबारबाट शुरु भएको पार्टीको दोस्रो केन्द्रीय समितिको बैठकमा पेस भएको राजनीतिक र संगठनात्मक प्रतिवेदनमा समेत भावनात्मक एकता हुन बाँकी रहेको स्वीकारोक्ति छ ।

द्विविधामा नेकपा : एकतातिर भावनात्मक एकता, अर्कोतिर गुटगत शक्ति संघर्ष

दुवै अध्यक्षका तर्फबाट पुष्पकमल दाहालले पेस गरेको ३३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले पेस गरेको २० पेज लामो संगठनात्मक प्रतिवेदनमा भावनात्मक एकता नभएको भन्दै यसका लागि गर्नुपर्ने कामहरु प्रस्ताव गरिएको छ । अर्थात् पार्टीको संगठनात्मक एकता भएपनि भावनात्मक एकता बाँकी छ भन्ने शीर्ष नेतृत्वको बुझाई छ ।


नेकपामा भावनात्मक एकताको प्रसंग यो पहिलोपटक उठेको होइन । पार्टी एकताका लागि बनाइएको राजनीतिक प्रतिवेदन होस् वा त्यसपछिका पार्टीका महत्वपूर्ण बैठक नै किन नहुन्, हरेकपटक भावनात्मक एकताको विषय उठ्दै आएको छ ।


तर, संगठनात्मक एकता गर्दा हुने लेनदेन, प्रधानमन्त्रीको कार्यशैली, पार्टी अध्यक्षको कार्यशैली र विभिन्न तहका सरकारको कामलाई लिएर नेकपाभित्र मत विभाजित छ । जसले शीर्ष नेताले भनेजस्तै भावनात्मक एकता हुन सकेको छैन । नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादी समूहकै नाममा अहिले पनि भागबन्डा हुने गरेको छ ।


प्रधानमन्त्रीले बुधबार केन्द्रीय समिति बैठकमा व्यक्त गरेको अभिव्यक्तिमा पनि नेताहरुमा समेत पुरानो मानसिकता अझै हटिसकेको छैन भन्ने संकेत गर्छ, जुन भावनात्मक एकताका लागि बाधकका रुपमा देखिन्छ ।


‘कहिले–कहिले बोल्दा मैले नेकपा नभनेर एमाले भनिरहेको हुन्छु । यो पृष्ठभूमिले तानेको । बोल्ने बानी परेको, बोल्दै जाँदा फ्याट्ट एमाले भनिन्छ, अनि सम्झिँदा ए हामी त नेकपा भइसकियो भन्ने हुन्छ,’ बैठकमा ओलीले भनेका थिए । बोलीमा मात्रै नभएर कहिलेकाही काममा समेत एमालेपन देखिने गरेको भन्दै ओलीले अब त्यसलाई बिर्सेर फारकिलो भावनाका साथ एकताबद्ध भएर अगाडि जानुपर्ने बताएका थिए ।

केन्द्रीय समितिको बैठकमा पेस भएको राजनीतिक प्रतिवेदनमासमेत पार्टीभित्र गुट–उपगुट रहेको र अनुशासनको स्तर दयनीय रहेको उल्लेख छ, यो पनि भावनात्मक एकताका लागि बाधक रहेको नेकपा नेतृत्वको बुझाई छ । पार्टीमा गुटगत समस्या देखापर्‍यो भनेर प्रतिवेदनमा लेखे पनि त्यसको जिम्मेवार शीर्ष नेताहरु नै छन् । ९ सदस्यीय सचिवालयमा अधिकांश नेताले गुट उपगुट बनाएका छन् । सांगठनिक एकीकरणका काम टुङ्ग्याउँदा पनि गुट उपगुटको भागबन्डामा टुङ्ग्याएका थिए ।


तर पनि अध्यक्षद्वयको तर्फबाट पेस भएको प्रतिवेदनमा गुटबारे लेखिएको छ, ‘पार्टी संस्थागत छैन, विभिन्न प्रकारका गुटहरू सक्रिय छन् । पार्टीभित्र घात, अन्तर्घात र अराजकताका प्रवृतिहरू कायम छन् । पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा छ । पार्टी अनुशासनको स्थान गुट अनुशासनले लिने हो कि भन्ने खतरा दिनप्रतिदिन बढ्दै गएको छ । आलोचना, आत्मालोचना, राम्रो काम गर्नेलाई प्रोत्साहन गल्ति गर्नेलाई प्रोत्साहन गर्ने जस्ता सजिव र गतिशील कम्युनिष्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालनाको स्तर निकै कमजोर अवस्थामा छ ।’

भावनात्मक एकताको सन्देश दिने गरी बृहत् कार्यकर्ता भेला, आमसभाजस्ता कार्यक्रमहरू गर्ने नेकपाको योजना पूरा भएको छैन । सबै प्रदेश र जिल्लाहरूमा भावनात्मक एकताको सन्देश दिन भेला र सभा गर्ने एक वर्षअघि देखिको कार्ययोजना अधुरै छ । अहिले पेस भएको प्रतिवेदनमा पनि यस्ता भेला गर्ने कार्यसूची छ ।


भावनात्मक एकताबारे जारी बैठकमा पेश भएका प्रतिवेदनमा के छ ?

उपनिर्वाचनको समीक्षाको सम्बन्धमा राजनीतिक प्रतिवेदनमा केही ‘कमजोरीहरु आमरुपमै देखा परको उल्लेख छ । जसमा पार्टीमा भावनात्मक एकता हासिल गर्न अझै धेरै काम गर्न बाँकी रहनुलाई एक मानिएको छ । यसैमा चुनावी अनुभव र शिक्षामा भनिएको छ, ‘आमरुपमा पार्टीमा भावनात्मक एकता बलियो बन्दै गएको भए पनि अझै कतिपय ठाउँमा त्यसका असरहरु छन्, जसको अभिव्यक्ति जिम्मेवारी प्रदान गर्ने कुरामा, उम्मेदवार चयन गर्ने कुरामा, कमिटीमा सङ्गठित गर्ने र कार्यविभाजन लगायत प्रक्रियामा देखा पर्ने गरेका छन् ।’


‘पार्टीको आगामि कार्यक्रमको रुपरेखा’ शीर्षकमा पार्टी एकता सदृढीकरण र जन–सम्बन्ध विस्तार विशेष अभियान छ । र, अभियानको उदेश्यमा एउटा–पार्टीका नेता, कार्यकर्ता र सदस्यहरुका बीचमा वैचारिक, संगठनात्मक एवं भावनात्मक एकताको विकास गर्ने भन्ने पनि छ । ‘समृद्ध नेपाल, सुखी नेपालीको आधार– सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार’ भन्ने मुख्य नारा रहेको अभियानमा पार्टीमा पारदर्शी, सादा एवं जवाफदेही जीवनशैली, श्रमप्रतिको सम्मान र सहभागिताको विकास गर्ने, जनशैली र कमरेड्ली भावनाको विकास गर्ने, नेता, कार्यकर्ता र सदस्यहरुमा पार्टी, आन्दोलन तथा नेतृत्वप्रतिको भरोसा र विश्वास विकसित गर्ने उदेश्य छ ।


यसबाहेक अभियानबाट अपेक्षित परिणामहरुमा ‘पार्टी एकताको सकारात्मक सन्देश प्रवाह हुनेछ । पार्टीका नेता, कार्यकर्ता, सदस्य र जनसमुदायका बीचमा भावनात्मक एकताको बलियो आधार तयार हुनेछ’ भन्ने छ ।


महासचिव विष्णु पौडेलले पेश गरेका संगठनात्मक प्रतिवेदनमा पनि भावनात्मक पक्षबारे उल्लेख छ । ‘पार्टी एकताको बाँकी काम सम्पन्न गर्नु, सिङ्गो पार्टीलाई विचारधारात्मक, संगठनात्मक र भावनात्मक एकतामा आबद्ध गर्नु, निर्धारित उद्देश्यतर्फ गतिशील ढंगले परिचालित गर्नु र एकपछि अर्को उपलब्धिपूर्ण परिणाम प्रकाशित गर्दै अघि बढ्नु आजको आवश्कता हो,’ महासचिव पौडेलको प्रतिवेदनमा छ ।

स्थायी समिति बैठकमासमेत नेताहरुले भावनात्मक एकता हुन नसकेको कुरा उठाएका थिए । प्रदेश ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य शंकर पोखरेलले महाधिवेशनअघि पार्टी पंक्तिको व्यापक परिचालनबाट भावनात्मक एकताको आधार तयार गर्नुपर्ने लिखित धारणा राखेका थिए । प्रदेश, जिल्ला र स्थानीय तहसम्म अझै भावनात्मक एकता भइसकेपछि मात्रै महाधिवेशन गर्नुपर्ने केही स्थायी समितिका सदस्यहरुको धारणा थियो ।

प्रकाशित : माघ १६, २०७६ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?