१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

एक वर्षपछि नेविसंघको तदर्थ समिति, अध्यक्षमा ढुंगाना

मधुसुधन भट्टराई

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा राजीव ढुंगानालाई मनोनीत गरेका छन् । कांग्रेस शीर्ष नेताहरुबीच गत शुक्रबार भएको सहमतिअनुरुप देउवाले ढुंगानालाई अध्यक्ष मनोनीत गरेका हुन् ।

एक वर्षपछि नेविसंघको तदर्थ समिति, अध्यक्षमा ढुंगाना

कांग्रेस केन्द्रीय कार्यालयले २०७५ फागुन १ गतेको बैठकको निर्णयअनुसार, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम सभापति देउवाले नेविसंघ तदर्थ समिति गठन गरेको जनाएको छ । तदर्थ समितिलाई ६ महिनाभित्र नेविसंघको १२ औं महाधिवेशन गरिसक्ने कार्यादेश देउवाले दिएका छन् ।


त्यस्तै देउवाले तदर्थ समितिको महामन्त्रीमा मनोज वैद्य (काठमाडौं) र महेश्वरी कुँवर (पाल्पा) लाई मनोनीत गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।


स्रोतका अनुसार कुँवरलाई देउवा पत्नी आरजु राणाको सिफारिसमा महामन्त्रीमा मनोनयन गरिएको हो । वैद्य महामन्त्री बनाउने सर्तमा पूर्वसंस्थापनबाट संस्थापन पुगेका थिए । वैद्य निवर्तमान नेविसंघ काठमाडौं जिल्ला सभापति पनि हुन् ।


समितिलाई १२ औं अधिवेशनसम्म नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अधिकार देउवाले दिएका छन् । तदर्थ कार्यसमितिमा रहेकाहरु १२ औं महाधिवेशनमा उम्मेदवार बन्न नपाउने विज्ञप्तिमा उल्लेख छ ।


आगामी महाधिवेशनमा नेविसंघ केन्द्रीय कार्य समिति विघटन भएको मिति (२०७५ माघ २९ गते) सम्म ३२ वर्ष उमेर ननाघेकाहरु मात्रै उम्मेदवार बन्न पाउने केन्द्रीय कार्यालयले जनाएको छ । १२७ सदस्यीय कार्यसमिति गठन गर्ने र त्यसमा नौ महामन्त्री तथा ६/६ उपाध्यक्ष र सहमहामन्त्री बनाउने सहमति शुक्रबार सभापति देउवा, नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच भएको थियो ।


पदाधिकारीमा समेत भागबन्डा गर्ने सहमति उनीहरुबीच भएको थियो । सहमतिअनुसार नौ महामन्त्रीमध्ये संस्थापन र पौडेल समूहले ३/३, सिटौला समूहले २ तथा उपसभापति विजयकुमार गच्छदारले १ जना सिफारिस गर्नेछन् । बिहीबार मनोनीत भएका दुवैजना संस्थापनबाट हुन् । उपाध्यक्ष र सहमहामन्त्री संस्थापन, पौडेल र सिटौला समूहले २/२ भागबन्डा गर्ने सहमति बनेको छ ।


११ औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले गत माघ २८ गते राजीनामा दिएपछि नेविसंघ नेतृत्वविहीन थियो ।


ढुंगानालाई नै किन नेविसंघ अध्यक्ष बनाउन चाहन्छन् देउवा ?


हेर्नुहोस्, विज्ञप्तिको पूर्णपाठ


प्रकाशित : माघ १६, २०७६ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?